सुन्दरबजार, भदौ १२ गते । लमजुङको प्रमुख ब्यापारिक केन्द्र सुन्दरबजारमा स्थानीय उत्पादनको प्रबर्द्धन र उपभोक्ताहरुको हितका लागि यही भदौ १५ गतेदेखि हरेक साताको शनिबार कृषि हाटबजार सञ्चालन गर्ने तयारी भएको छ ।
सुन्दरबजारमा रहेको एभरेष्ट साकोसको पहल, सुन्दरबजार नगरपालिका,सुन्दरबजार नगरपालिका वडा नम्बर ७, एभरेष्ट साकोस, वर्ल्ड भिजन/आरसिडिसि लमजुङको सहयोग र लमजुङ कृषि क्याम्पस, कृषि बिकास शाखा सुन्दरबजार, सुन्दर बजार चेम्बर अफ कमर्स र लमजुङ उद्योग बाणिज्य संघ, सुन्दरबजार इकाईको समन्वयमा सुन्दरबजारको वडा नं. ७ मा कृषि हाटबजार सञ्चालन हुन लागेको हो ।
कृषि क्षेत्रमा विचौलियाको प्रभावका कारण किसानले उत्पादन गरेको उपजको उपयुक्त मूल्य नपाई मर्कामा पर्ने र उपभोक्ताहरु महंगो मूल्यमा खरिद गर्नुपर्ने बाध्यताको अन्त्यका लागि कृषि हाटबजार सञ्चालनमा ल्याउन लागिएको हो ।
हाटबजारमा उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष खरिद विक्री हुने छ । सुन्दरबजारमा एक दशक अघि पनि साप्ताहिक कृषि हाटबजार सञ्चालन हुने गरेको थियो । हाल वडा नं ६ को कार्यालय रहेको स्थानमा सञ्चालित हाटबजारबाट सुन्दरबजारका उपभोक्ता र सो क्षेत्रका किसान लाभान्वित समेत हुने गरेका भए पनि हाटबजार रहेकाे स्थानमा सुन्दरबजार नगरपालिकाकाे कार्यालय बसेपछि हाटबजार सञ्चालन हुन सकेकाे थिएन ।
स्थानीय कृषि उपजको उचित बजारीकरण, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने वाताबरण बनाउन, बिषादिरहित र बाताबरण मैत्री कृषि उत्पादनमा जोड दिने, किसानहरुलाई बचत गर्न उत्प्रेरित गर्ने र हाट बजारको माध्यमबाट स्थानीय स्तरमा कृषि उत्पादनमा वृद्धि गरि कृषि संकलन केन्द्र, कृषि हाटबजार, कृषि शीत भण्डार र कृषि उधोगको स्थापानाको आधारशीला खडा गर्ने उद्देश्यले हाट बजार स्थापना गर्न पहल गरिएको हाटबजार ब्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।
उत्पादक र उपभोक्ता बिच प्रत्यक्ष खरिद बिक्री गराई दुवै पक्षको हितका लागि पुनः हाटबजार सञ्चालन गर्न लागिएको र भाद्र १५ देखि प्रत्येक शनिबार सुन्दर बजारमा हाट बजार सन्चालन गरिने हाटबजार ब्यबस्थापन समितिका सदस्य पोष राज खनियाले जानकारी दिए ।
हाट बजारमा स्थानीय प्राङरिक कृषि उत्पादनलाई महत्व दिइने छ । किसानले उचित मुल्य र किसानबाट उत्पादित कृषि बस्तु सजिलै सङ उपभोक्ताले खरिद गरि उपभोग गर्न पाउने र यसबाट किसानको जीवन स्तर सुधार हुने भएकोले हाटबजार सञ्चालन गर्न वडाले समेत प्राथमिकता दिई आवश्यक सहयोग उपलब्ध गराउने सुन्दर बजार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जयराम रेग्मीले बताए ।
कृषि उपजको स्थानीय उत्पादनलाई ब्यबस्थित, सरल र गुणस्तरीय बनाई कृषि उत्पादित बस्तुलाई बिना बिचौलिया सिधा उपभोक्तालाई बिक्री वितरण गरि कृषि ब्यबसायलाई प्रबर्द्धन गर्नका लागि एभरेस्ट साकोसले हाटबजार सन्चालनको लागि बिशेष पहल र सहयोग गरेको एभरेस्ट साकोसका अध्यक्ष रामबाबु श्रेष्ठले बताए ।
सुन्दर बजार क्षेत्रमा नै कृषि हाटबजार सन्चालनले बर्तमान अवस्थामा केही हद सम्म भए पनि अर्थतन्त्र चलायमान हुने र उपभोक्ताले गुणस्तरीय स्वच्छ र शुद्ध कृषि उपज उपभोग गर्न पाउने बिश्वास लिइएको लमजुङ उद्योग बाणिज्य संघ सुन्दर बजार इकाइका अध्यक्ष आनन्दराज श्रेष्ठले बताए ।
खबरकुञ्ज