काठमाडौं, भदौ २३ । काठमाडौं लगायत देशका प्रमुख शहरहरुमा सोमबार जेनजीहरूको प्रदर्शनका क्रममा भएकाे प्रहरी दमनमा परी मृत्यु हुनेको संख्या बढेर १९ पुगेको छ ।
राजधानी काठमाडौंसहित देशका विभिन्न भागमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागि अस्पताल भर्ना भएका मध्ये काठमाडौंको ट्रमा सेन्टरमा ८ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी अस्पतालमा २ जना, शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
राजधानीबाहिर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको छ । इटहरीको प्रदर्शनमा प्रहरीको गोली लागी घाइते भएका तीन जनामध्ये दुईजनाको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका युवा विद्यार्थीमाथि प्रहरीले गोली चलाएको थियो । मृतकहरुको पहिचान खुलेको छैन ।
जेनजीको प्रदर्शनका क्रममा देशभर गरी झण्डै ४ सय घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा, भरतपुर, बिराटनगर, ईटहरी, बुटवल, धनगढी, सुर्खेतलगायतका प्रमुख शहरहरुमा अहिले साँझ सम्म पनि तनाबग्रस्त छन् । राजधानी काठमाडौंसहित कतिपय शहरका विभिन्न भागमा स्थानीय प्रशासनले कफ्र्यु लगाएको छ ।
जेनेरेसन जेड अर्थात् ‘जेनजी’ पुस्ताले देशको विग्रदो राजनीति, भ्रष्टाचार, कुशासनका विरुद्ध र सामाजिक न्याय, सुशासन र विधिको शासन कायम हुनुपर्ने मुख्य माग राख्दै आन्दोलन गरेको हो ।
पछिल्लो समय सामाजिक सञ्जालमाथि राज्यले गरेको नियन्त्रणले यो पुस्ता थप आक्रोसित भएको छ । देशमा ब्यप्त भ्रष्टाचार र निराशजनक राजनीतिप्रति वाक्क–दिक्क यो पुस्ताले त्यही दिक्कलाग्दो अवस्थालाई बदल्ने भावनाका सोमबार देशव्यापी प्रदर्शन भएको थियो । सोमबारको आन्दोलनमा सरकारले निर्ममतापूर्वक दमन गर्दा ठूलो जनधनको क्षति भएको छ ।
जेनजीको आन्दोलनमा सरकारले ब्यापक दमन गरेको मानवअधिकारआयोगले टिप्पणी गरेको छ । सोमबार साँझ विज्ञप्ति जारी गरी आयोगले लोकतान्त्रिक सरकारले नागरिकको उचित आवाजलाई समयमै पहिचान गर्नुपर्ने औंल्याउँदै प्रदर्शनमा सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नुलाई दुःखद् भनेको छ ।
जेनजीको प्रदर्शनमा भएको सरकारी दमन र थुप्रै युवाहरुको ज्यान गएको बिषयमा विभिन्न राजनीतिक दलहरुले विरोध गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेस एमाले सरकारको बर्खास्तीको माग गर्दै ताजा जनादेश (अर्ली इलेक्सन) को माग गरेको छ ।
रास्वपाले विज्ञप्ती जारी गर्दै देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित प्रदर्शनमा सरकारले गरेको बर्बर दमन गरेको भन्दै त्यसको भत्र्सना गरेको छ ।
रास्वपाले निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको निन्दा गर्दै का आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले नसहने र यो आततायी शासनको जनप्रतिवाद हुने चेतावनी दिएको छ ।
आजको प्रदर्शनपछि मन्त्रीपरिषदको वैठक अहिले बसिरहेको छ । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी वैठक पनि अहिले बसिरहेको छ । आजको वैठक पछि कांग्रेसका कतिपय नेताहरुले सरकार छोड्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग पनि गरेका छन् ।
मिलन शर्मा दनाई