लमजुङ अस्पतालकाे बार्षिकाेत्सव, पहिले विरामीकाे उपचार त्यसपछि शुल्ककाे कुरा गराैंः मन्त्री सिम्खडा

बेसीशहर, माघ २६ । लमजुङ अस्पताल लमजुङले स्थापनाको पहिलो बार्षिकोत्सव मनाएको छ । अस्पतालले यस अवसरमा अस्पतालले विविध कार्यक्रमको आयोजना गरी बिहीबार बार्षिकाेत्सव मनाएको हो ।

२०५८ सालदेखि मानव विकास तथा सामुदायिक सेवा (एचडिसिएस)ले ब्यवस्थापन गरेको यो अस्पताल गत बर्षबाट गण्डकी प्रदेश सरकारको निणर्य अनुसार प्रदेश स्वास्थ्य निर्देशनालय मातहत सञ्चालन हुँदै आएको छ ।

बार्षिकोत्सवका अवसरमा अस्पतालले गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिम्खडाको प्रमुख आतिथ्यमा बार्षिकोत्सवको औपचारिक कार्यक्रम गरेको हो ।

बार्षिकोत्सवका अवसरमा बोल्दै मन्त्री सिम्खडाले प्रदेश सरकार जनताको स्वास्थ्यप्रति सम्बेदनशील रहेको र जिल्ला अस्पतालहरुको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कटिबद्ध रहेको बताइन् ।


उनले सरकारी अस्पतालहरुले विरामीको  उपचारमा भेदभाव गर्न नहुने भन्दै अस्पतालमा आउने विरामीहरुले पहिले सेवा पाउनु पर्नेमा जोड दिइन् । उनले उपचार अघि नै यति लाग्छ, उति लाग्छ भनि विरामीलाई तर्साउन नहुने भन्दै भनिन्-“उपचारमा विभेद गर्न हुँदैन, विरामीलाई पहिला उपचार गर्नुपर्छ, विरामीको रोग निदान गरेपछि मात्र उपचार खर्चको विषयमा कुरा गर्ने हो ।”

मन्त्री सिम्खडाले अस्पतालमा सेवा र सेवाको गुणस्तर बृद्धि हुँदै गएकोमा सन्तोष ब्यक्त गर्दै अस्पताललाई थप सुविधा सम्पन्न गर्न र अस्पतालको नयाँ भवन निर्माणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाईन ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेल, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, प्रदेश तालिम केन्द्रका महानिर्देशक रमेश अधिकारी, प्रदेश जनस्वास्थ्य प्रयोगशालाको महानिर्देशक मनमोहन मिश्रा, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, बेसीशहर वडा नंं ८ का अध्यक्ष पवित्रा थापा राना, विभिन्‍न कार्यालयका कार्यालय प्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।

लमजुङ अस्पतालका अध्यक्ष हरिजंग तामाङको अध्यक्षतामा भएको बार्षिकोत्सव कार्यक्रममा अस्पतालका मे.सु. डा. विशाल तिवारीले अस्पतालको प्रगति प्रतिवेदन र गतिविधिहरुबारे जानकारी गराएका थिए । 

कार्यक्रममा उत्कृष्ट कर्मचारीको रुपमा अस्पतालको शल्यक्रिया विभागमा कार्यरत नर्स शोभा श्रेष्ठ र कार्यालय सहयोगी राम अधिकारीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया