मर्स्याङदी बेसी जलविद्युत आयोजनाको बिरोधमा बेसीशहरमा बिशाल प्रदर्शन

खबरकुञ्ज

बेसीशहर, मंसिर ४ गते । लमजुङको बेसीशहर नगरपालिकाका प्रभावित हुने गरी बन्न लागेको ५० मेगावाटको मर्स्याङदी बेसी जलविद्युत आयोजनाको बिरोधमा बिहीबार बेसीशहरमा बिशाल प्रदर्शन भएको छ ।

आयोजना बन्न हुँदैन भन्दै बेसीशहरमा गठन भएको मर्स्याङदी  बचाऔं संघर्ष समितिको आह्वानमा बेसीशहरमा बिरोध प्रदर्शन भएको हो । बेसीशहरको मनाङे चौतारबाट निस्किएको बिरोध जुलुस बैंकचोक, भीमसनेस्थान, नारायणस्थान चोक, प्रशासन चोक, दनाईफाँट शेराबजार हुँदै पुनः भीमसेन स्थानमा पुगी कोण सभामा परिणत भएको थियो ।

जुलुसमा प्रकृति बचाऔं, हाइड्रो हटाऔं, मर्स्याङदी  बाँच्यो भने प्रकृति बाँच्छ, नदी हाम्रो जीवन, संरक्षण हाम्रो जिम्मेवारी, नदी सुकाउने विकास चाहिदैन, प्रकृति विनाश गर्न पाइँदैन, मर्स्याङदी  हाम्रो सभ्यता, यही हाम्रो सम्पदा, मर्स्याङदी  हाम्रो जीवन हो, सुरुङमा पठाउन स्वीकार्य छैन, बिनास ल्याउने आयोजना चाहिदैन, हामीलाई यहीँ बाँच्नुछ, भावी पुस्तालाई प्रकृति साँच्नु छ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर सयौं स्थानीय सहभागी भएका थिए ।


विरोध जुलुसमा सर्वसाधारणदेखि समाजसेवी, शिक्षक, विद्यार्थी, ब्यापारी, युवा क्लव, आमा समूह सहभागी थिए ।

बिरोध जुलुस पछि भीमसेनस्थानमा आयोजित कोणसभामा संघर्ष समितिका संयोजक राम थापाले आयोजना बन्द हुनुपर्ने एक सुत्रीय माग लिएर संघर्ष समिति अघि बढेको र बेसीशहर र यहाँका बासीन्दालाई नकरात्मक प्रभाव पार्ने आयोजना पूर्ण रुपमा बन्द नहुँदा सम्म आन्दोलन नरोकिने बताए । उनले आन्दोलनमा स्थानीयको ऐक्यबद्धता र सहभागिताले आफूहरुलाई उर्जा प्राप्त भएको भन्दै कुनै लोभ लालचमा नफसी आन्दोलनलाई निष्कर्षमै पुर्याएर छोड्ने प्रतिबद्धता जाहरे गरे ।


बेसीशहर जस्तो घना वस्ती र जनघनत्व भएको क्षेत्रमा जलविद्युत आयोजना बन्दा बेसीशहर र वरपरको प्राकृतिक, धार्मिक, सामाजिक, संस्कृतिक र आर्थिक क्षेत्रमा नकरात्मक प्रभाव पार्ने भएकाले यस्तो आयोजना निर्माण हुन नहुने एक सुत्रीय माग राख्दै मर्स्याङदी  बचाऔं संघर्ष समिति गठन भएको छ । यही समितिको आह्वानमा बेसीशहरमा लगातार बिरोधका बिभिन्न कार्यक्रम भइरहेका छन् । संघर्ष समितिले आयोजना निर्माण कार्य पूर्ण रुपमा बन्द नभएसम्म आन्दोलन नरोक्ने बताएको छ ।



प्रतिक्रिया