बेसीशहर, चैत १३ गते । ऐतिहासिक, धार्मिक, प्राकृतिक, पुरातात्विक र सांस्कृतिक गन्तब्य लमजुङको गाउँशहरमा यही आउँदो चैतेदशैंमा चैतेदशैं सांस्कृतिक महोत्सवको आयोजना हुने भएको छ ।
गाउँशहरको ऐतिहासिक, धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदा र पुरातात्विक महत्वलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन महोत्सव आयोजना गरिएको हो । शाहवंशीय राजाहरूको उद्गमस्थल मानिने लमजुुङको गाउँशहरमा हरेक बर्ष चैत्राष्टमीमा ठूलो धार्मिक मेला लाग्ने गर्दछ । गाउँशहरको लमजुङ दरबारसंगै रहेकी कालिका भगवती शाहबंशकी कूलदेवीको रुपमा प्रसिद्ध छन् । मनोकामना पुरा गर्ने देवीको रुपमा हजारौं भक्तजनले यस मन्दिरमा आई पूजा आराधना गर्नुका साथै पञ्चबली दिने गर्छन् ।

कालिका मन्दिरसंगै रहेका धार्मिक एवं पुरातात्विक महत्वका शिवालय मन्दिर, गोरखनाथ मन्दिर, भीमसेन मन्दिर र काउलेपानी देवीको मन्दिर, राजा यशोब्रह्म शाहको शालिक, कुसुण्डे ओडार, पुरानोकोट गढी, शान्ति स्तूपा, चण्डीदेवी मन्दिर, र दलीत शिल्पी संग्राहलय गाउँशहरका अन्य आकर्षक गन्तब्यहरु हुन् । यिनै यहाँका धार्मिक, सांस्कृतिक र ऐतिहासिक धरोहरहरुसंग साइनो गाँस्न लमजुङ कालिका युथ क्लव गाउँशहरले महोत्सवको चाँजोपाँजो मिलाउन लागेको हो ।
महोत्सव अन्तर्गत चैत २८ देखि सेवेन ए साइड फुटबल प्रतियोगिता शुरु हुने छ । प्रतियोगितामा पहलिो र दोस्रो हुने टीमका लागि क्रमशः नगद ५० हजार र ३० हजार पुरस्कार राखिएको छ ।
बैशाख ४ गते चैतेदशैं मेला अन्तर्गत सांस्कृतिक झाँकी, छेलो प्रतियोगिता, लोक स्वर सम्राट राजु परियार, माया गुरुङ, उमा गुरुङ, मञ्जु वि.क लगायत ख्यातिप्राप्त कलाकाहरुको सांगितीक कार्यक्रम तय गरिनुका साथै राती ठाडो भाकाको कार्यक्रम राखिएको गाउँशहरका युवा समाजसेवी कृष्ण देउजाले जानकारी दिए ।
२०७० सालमा पहिलो पटक तीन दिनसम्म गाउँशहर महोत्सवको आयोजना गरी यस क्षेत्रलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न खोजिएको थियो । तर यसले मूर्त रुप लिन सकेन । अहिले गाउँशहर र अहिलेको बेसीशहर नगरपालिकाको वडा नं. ३ का उत्साही युवाहरुको पहलमा महोत्सव आयोजना गरिएको हो ।
महोत्सवका लागि बेसीशहर नगरपालिका र वडा नं. ३ को कार्यालयले सहयोग गर्ने भएका छन् । नगरभित्रको उत्कृष्ट पर्यटकीय गन्तब्य रहे पनि ओझेलमा परेको यस क्षेत्रको समुचित विकासका लागि नगरपालिकालाई घच्घच्याउन पनि महोत्सव गरिएको स्थानीयले बताए ।

गाउँशहर प्रकृतिक सुन्दरताले भरिपूणर् ठाउँसमेत हो । यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, मनासुलु, पिक उनन्तीस, डा. हर्क पिक, हिमालचुली, बौद्ध हिमाल लगायत दर्जनौं हिमश्रृंखला आँखै अगाडि देखिन्छन् । गाउँशहरबाट नागबेली हुँदै सुसाउँदै बगेको मर्स्याङदी नदी र यसको किनारामा लमतन्न सुतेको लमजुङ सदरमुकाम बेसीशहरको चित्ताकर्षक दृष्यावलोकन गर्न सकिन्छ ।

ब्राह्मण, क्षेत्री, नेवार, गुरुङ, मगर, भुजेल, सार्की, दमै, कामी जातिको मिश्रित बसोबास रहेको गाउँशहर सांस्कृतिक रुपमा उतिकै महत्वपूर्ण स्थान हो ।
नेपालकै उत्कृष्ट होमस्टेको उपमा पाएको काउलेपानी होमस्टे गाउँशहरमै पर्छ । लमजुङकै जेठो विद्यालय लमजुङ माध्यमिक विद्यालयसमेत यही ठाउँमा पर्दछ । यस बर्ष सोही पर्वको अवसर पारेर महोत्सवको आयोजना गरिएको हो ।
गाउँशहर बाईसी, चौबिसी र शाहवंशीय राज्य व्यवस्थाको इतिहाससँग जोडिएको ठाउँ हो । यसै स्थानबाट नेपाल एकीकरणको प्रादुर्भाव भएको मानिन्छ । तत्कालीन लमजुङका राजकुमार द्रब्य शाहले लिगलिग हुँदै गोरखा राज्यमा विजय पाएपछि नै उनका बंशज पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको खाका कोर्न सजिलो भएको थियो ।
भिडियाे पनि हेर्नुहाेस्
१६ औं सताब्दीमा चौविसे राज्य अन्तर्गत पर्ने लमजुङ राज्यका दरबारका भग्नाबशेष र जीर्ण अवस्थामा रहेको कोट अझै पनि गाउँशहरको सिरानामा पर्ने गढी (पुरानोकोट)मा देख्न सकिन्छ । गाउँशहरको ऐतिहासिकता, धार्मिक महत्व, प्राकृतिक एवं सास्कृतिक विविधतालाई प्रचार प्रसार गर्न महोत्सव कोशेढुंगा हुने अपेक्षा गरिएको छ ।
मिलन शर्मा दनाई