एमालेले शनिबार बेसीशहरमा शक्ति प्रदर्शन गर्ने

खबरकुञ्ज

बेसीशहर, कार्तिक २८ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी लमजुङले शनिबार बेसीशहरमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

जेनजी आन्दोलनपछि थला परेका पुराना राजनीतिक दलहरु बामे सर्ने क्रम चलिरहँदा नेकपा एमालेले पनि लमजुङमा शक्ति प्रदर्शन गर्न लागेको हो । एमाले लमजुङले शुक्रबार पत्रकार सम्मेलन गरी शनिबार बेसीशहरमा शक्ति प्रदर्शनसंगै जनसभा समेत गर्न लागिएको जानकारी दिएको छ ।  

एमालले जनप्रदर्शन र जनसभाको तयारीको सन्दर्भमा पार्टी कार्यालय बेंसीसहरमा दिनहुँजसो छलफल, भेला र बैठकहरु चलिरहेका जानकारी दिँदै जनप्रदर्शनमा जिल्लादेखि वडा तहसम्मै तयारी भइरहेको जनाएको छ । जिल्ला कमिटीका अध्यक्ष राजकुमार विष्टले शनिबारको जनप्रदर्शन र जनसभामा जिल्लाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक सवै सहभागी हुने दावी गरे ।

अध्यक्ष विष्टले कार्तिक २४ गते जिल्ला कमिटीको सचिवलाय बैठक सम्पन्न भएको र कार्तिक २२ गते लमजुङका ७५ वटै वडामा भेला सम्पन्न गरिएका जानकारी दिए । उनका अनुसार कार्तिक २५ गते एमालले सबै पालिका केन्द्रमा शक्ति प्रदर्शन गरेको थियो ।

अध्यक्ष विष्टले कार्तिक २९ गतेको जनप्रदर्शन र जनसभाको तयारी तीब्र पुरा भएको बताए । शनिबारको प्रदर्शनमा पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लमजुङ आउने छन्, यद्यपी पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको छैन ।

पत्रकार सम्मेलनमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं लमजुङ जिल्ला इन्चार्ज जमीन्द्रमान घलेले सदेशको सार्वभौमसत्ता र राष्टिय स्वाधिनता खल्बलिन नदिने र राज्यको अभिभारा पूरा गर्ने संकल्पका साथ नेकपा एमाले अघि बढेको दावी गरे । उनले नेपालको संवैधानिक व्यवस्था अन्त्य गर्ने, देशमा अराजकता सिर्जना गर्ने, नेपालको अस्मितालाई सिध्याउन खोज्नेका विरुद्ध एमालेले जनप्रदर्शन र जनसभा आयोजना गर्न लागेको उनले बताए ।

नेता घलेले जेनजी आन्दोलनको नाममा घुसपैठियाहरुले राज्यका विभिन्न भौतिक संरचना नष्ट पारेका र अराजक तत्वहरुको घुसपैठले देशले ठूलो क्षति ब्यहोरेकोे भन्दै यसबारे सत्य र तथ्य जानकारी जनतालाई गराउन जनप्रदर्शन र जनसभा आयोजना गरिएको बताए । 

प्रतिक्रिया