नदी किनार र मन्दिरछेउमा ल्याण्डफिल साइटः विकल्प नखाेजिए आन्दोलनकाे चेतावनी

बेसीशहर नगरपालिकाले पवित्र मर्स्याङदी नदी किनार र धार्मिक आस्थाको कर्पुरेश्वर महादेव मन्दिर नजिकै नगरभित्रको फोहोर ब्यवस्थापन गर्न थालेको बर्षौसम्म पनि ल्याण्डफिल साइटको विकल्प खोजी नगरेपछि स्थानीयले अब नदी किनारमा फोहर फाल्न नदिने चेतावनी दिएका छन् ।

बेसीशहर नगरपालिकालाई नगरको फोहोर ब्यवस्थापनका लागि वैकल्पिक ठाउँ खोज्न स्थानीयले पटक पटक गरेकाे अनुराेधकाे सुनुवाइ नभएकाे भन्दै स्थानीयले यस्ताे चेतावनी दिएका हुन् ।

मर्स्याङदी नदी र कर्पुरेश्वर मन्दिर बेसीशहरबासीको आस्थाको प्रतिक भएकाले नागरिकहरुको धार्मिक आस्थामाथि ठेस पुग्ने गरी नगरपालिकाले भद्दा मजाक गरेको भन्दै आवश्यक परे आन्दोलनको चेतावनी समेत उनीहरूले दिएका छन् ।

२०७२ सालमा नगरपालिका घोषणपछि अर्को ब्यवस्था नहुन्जेलसम्मका लागि भनेर हालको नगरको वडा नंं ८ स्थित मस्र्यङदी नदी र झिंगेखोलाको किनारमा फोहोर विसर्जन गर्न थालिएकोमा ८ बर्षसम्म पनि विकल्प नखोजिएपछि स्थानीय बासीन्दा आक्रोसित भएका छन् । नगरपालिकाले स्थानीयसंग २ बर्षपछि अन्यत्रै फाेहाेर बिसर्जन गर्ने भनि लिखित सहमति गरे पनि अहिलेसम्म उक्त सहमति अनुसार ल्याण्डफिल साइटकाे विकल्प खाेजेकाे छैन ।

बेसीशहरमा तीन दशक अघि नै तत्कालीन बेसीशहर गाविसको वडा नं. १ र हालको वडा न. ८ मा पर्नेे गौंथलीडाँडाबाट मर्स्याङदी नदी र झिंगेखोलाको बायाँ दोभानमा फोहोर पाल्ने गरिएकोमा फोहोरले वस्तीमा दुर्गन्ध फैलिन थालेपछि २०७२ सालतिर स्थानीयले त्यहाँबाट फोहर फाल्न अबरोध गरेपछि नगरपालिकाले झिंगेखोलाको दायाँ किनारामा फोहोर विसर्जन गर्न थालेको हो ।


स्थानीय रणबहादुर रानाको जग्गा भाडामा लिएर नगरपालिकाले फोहर विसर्जन गरे पनि उक्त जग्गा मर्स्याङदी नदी र झिंगेखोलाको दोभानमा भएकाले फोहरले नदी र आसपासका वस्तीसम्म प्रदूषण फैलिएको छ ।

प्रदुषणले विशेषगरी बेसीशहरको वडा नंं ८ दनाईफाँट र गौंथलीडाँडाका बासीन्दा प्रत्यक्ष प्रभावित भए पनि बेसीशहर बजारभरी यसको अप्रत्यक्ष प्रभाव परिरहेको छ ।

फोहोरमैलाको ब्यवस्थापन वस्तीको छेउछाउ वा नदीको किनारामा गर्न कानुनतः पाइँदैन । कुनै पनि ठाउँमा त्यस्तो कार्य गर्नु परेमा वातावरणीय प्रभाव मूल्याङ्कन गरेर मात्र गर्न पाइन्छ । बेसीशहरको हकमा त्यस्तो समेत भएको छैन ।

अर्कोतर्फ बेसीशहर नगरपालिकाले फोहोर विसर्जन गर्ने ठाउँभन्दा करीब डेढसय मिटरको दुरीमा पवित्र कर्पुरेश्वर महादेवको मन्दिर छ । १६औं शताब्दीदेखिको यो मन्दिर यहाँका स्थानीयको धार्मिक आस्थाको केन्द्र पनि हो । मन्दिरमा पूजा अर्चनाका लागि जानेहरु उक्त ल्याण्डफिल साइटको दुर्गन्धले आजित भएका छन् ।


स्थानीय काशीनाथ अधिकारी भन्छन्– “यो ठाउँमा नगरपालिकाले फोहोर फाल्नाले नेपालकै पहिचानको रुपमा रहेको कपुरेश्वर मन्दिर र पवित्र मर्स्याङदी नदीमा ल्याण्डफिल साइट बनाउनु गलत हो ।” धार्मिक क्षेत्रको महत्व बढाउने, नदी र वातावरणको संरक्षण गर्नुपर्नेमा नगरपालिकाले उल्टो काम गरेको भन्दै उनले नगरपालिकाले यसबारे सोच्न ढिला भइसकेको बताए । 

बेसीशहरको वडा नं. ८ दनाईफाँट बस्ने कल्पना सेढाईले नदी किनार र मन्दिरको नजिकै नगरपालिकाले फोहोर फाल्नु निन्दनीय भएको बताइन् । उनले अर्को विकल्प नभइन्जेल २ बर्षका लागि मात्रै भनेर स्थानीयलाई फकाएर ल्याण्डफिल साइटको रुपमा प्रयोग गरिए पनि हालसम्म पनि विकल्प नखोजिएकोमा अचम्म मानिन् । उनले भनिन्– “नगरपालिका कानमा तेल हालेर बसेको छ । अब पनि डम्पिङ साइटको विकल्प नखोज्ने हो भने आन्दोलनको विकल्प छैन ।”

मर्स्याङदी नदी पवित्र हिमनदी हो । सदियौंदेखि यस नदीमा नुहाएर पवित्र भई नदीको जललाई कर्पुरेश्वर महादेवको ज्योतिर्लिंगमा अर्पण गर्ने परम्परा छ । महाशिवरात्री, हरिबोधनी एकादशी, मातातीर्थ औंसी, बाला चतुर्दशी, श्रीकृष्ण जन्माष्टमी जस्ता धार्मिक पर्वहरुमा मर्स्याङदी नदीमा नुहाएर यस मन्दिरमा पूजा अर्चना गर्न सयौं भक्तजनहरु आउँछन् । तर उनीहरु मन्दिरमा नपुग्दै टाढैबाट फोहोरको दुर्गन्धले नाक खुम्च्याउन बाध्य छन् । नदीछेउका फोहोरको डंगुरले भक्तजन नदीमा गएर नुहाउन र नदीको जल ल्याएर मन्दिरमा चढाउन समेत धक मान्ने गर्दछन् ।

स्थानीय सीता खडका भन्छिन्– “यो त साह्रै भयो । बेसीशहर भरिको फोहोर ल्याएर नदीको किनार र मन्दिरको छेउमा राखिएको छ । त्यही फोहोर हुँदै बगेको नदीबाट ल्याएर शुद्ध जल भनेर भगवानलाई कसरी चढाउने ? आफूले खान पनि कसरी खाने के ?”

कर्पुरेश्वर मन्दिर वरिपरि मर्स्याङदी नदीको किनार बेसीशहरको वडा नं. ३, ८ र ९ का स्थानीयको अन्तिम संस्कार गर्ने थलो पनि हो । यी वडामा कसैको मृत्यु भएमा यही घाटमा ल्याएर अन्तिम संस्कार गर्ने गरिन्छ । अन्तिम संस्कारमा जाने मलामीहरुसमेत उक्त ल्याण्डफिल साइटका कारण नदीमा ननुहाइ फर्कने गरेका छन् ।

बेसीशहरको मलामी चौरमा अहिले करोडौं रकम खर्चेर पार्क बनाइएको छ । उक्त पार्कमा समेत ल्याण्डफिल साइटको दुर्गन्धले सताउने गरेको पार्कमा घुम्न जानेहरु बताउँछन् । पार्कबाट मात्रै होइन, पार्कको केही माथि रेष्टुरेण्ट ब्यवसाय गर्ने राजेश दनाई पार्कको दर्गन्धले आजित भएको बताउँछन् ।

बेसीशहरको फोहोरमैला ब्यवस्थापनका लागि नगरपालिकाले अरु नै उपयुक्त स्थानको खोजी गर्नुपर्ने बेसीशहरका समाजसेवी भुपालबहादुर दनाईले बताए । उनी भन्छन्–“मर्स्याङदी नदी र कर्पुरेश्वर मन्दिर हाम्रो आस्थाको केन्द्र हो, यहाँ फोहोर विसर्जन गरिनु गलत हो, विकल्प खोज्नुपर्छ ।”

शहरी विकास मन्त्रालयका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर सुरेश कुमार वाग्ले भन्छन्– “नदी किनार वा मन्दिरको छेउछाउ फोहोर विसर्जन गर्नु कानुनतः गलत हो । वातावरण संरक्षण नियमावली २०७७ मा यस सम्बन्धी स्पष्ट ब्यवस्था गरिएको छ ।”

भिडियाे हेर्नुहाेस् ।


प्रतिक्रिया