लमजुङबाट नवौं पटक उमेदवार बन्दै पृथ्वीसुब्बा गुरूङ

खबरकुञ्ज

बेसीशहर, माघ ५ गते । लमजुङका सदाबहार उमेदवारको उपमा पाएका पृथ्वीसुब्बा गुरुङ फेरी लमजुङबाट उमेदवार बन्ने भएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले उनलाई पुनः लमजुङबाट उमेदवार बनाउन लागेको हो । 

अघिल्लो निर्वाचनमा लमजुङबाटै ३४ हजार ९ सय ६९ मत ल्याएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका  गुरुङ नवौं पटक उमेदवार बन्न लागेका हुन् । २०४३ सालमा तत्कालीन मालेबाट राष्ट्रिय पञ्चायत सदस्यको उमेदवार बनेका उनी त्यस यताका प्रत्येक संसदीय निर्वाचनमा उमेदवार बनेका छन् । २०४३ को राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा लेखनाथ अधिकारीसंग पराजित भएका उनी २०४८ र २०५१ को आम निर्वाचनमा लमजुङ क्षेत्र नंं २ बाट उमेदवार रहेकामा दुवैपटक नेपाली कांग्रेसका रामबहादुर गुरुङसंग पराजित भए ।

२०५६ को आम निर्वाचनमा पुन उमेदवार बनेका गुरुङ पुनः कांग्रेसकै हरिभक्त अधिकारीसंग पराजित भए । २०६२÷०६३ को जनआन्दोलनपछि बनेको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बनेका बेला २०६४ को संविधान सभा निर्वाचनमा पहिलो पटक लमजुङ क्षेत्र नं. २ बाट निर्वाचित भए । संविधान सभामा आदिवासी जनजाति सभासदहरुको संगठन (ककस)को नेतृत्व गर्दा ब्राहमण क्षेत्री समुदायका विरुद्ध बोलेपछि दोस्रो संविधान सभा निर्वाचन २०७० मा पुनः कांग्रेसका चन्द्रबहादुर कुँवरसंग उनी फेरि पराजित भए ।

२०७४ को आम निर्वाचनमा उनी गण्डकी प्रदेश सभा सदस्यका लागि लमजुङ ख बाट उमेदवार बने । नेपाली कांग्रेसका कृष्ण कोइरालालाई फराकिलो मतान्तरले हराउँदै उनी फेरि गण्डकी प्रदेश सभा सदस्यमा निर्वाचित भइ प्रदेशकै पहिलो मुख्यमन्त्री बन्न सफल भए । 

नेकपा एमालेको उपमहासचिवका रुपमा २०७९ को आम निर्वाचनमा उनी पुनः प्रतिनिधि सभा निर्वाचनमा होमिए र नेकपा मओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई पराजित गर्दै उनी पुनः संसदमा छिरे र कांग्रेस एमाले गठबन्धन सरकारमा सञ्चार तथा सूचना प्रविधि मन्त्री बन्न सफल भए । 

गत भदौ २३ र २४ को जेनजी विद्रोहले उनी सञ्चारमन्त्री रहेको केपी शर्मा ओलीको सरकार ढल्यो । जेनजी आन्दोलनको तत्कालीन कारणको रुपमा देखिएको सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र त्यसमा उनको भूमिकाका बारेमा नकरात्मक टीका टिप्पणी हुने गरेका छन् ।

लमजुङको गिलुङ टक्सारमा ६८ बर्ष अघि जन्मेका उनले शिक्षण पेशा हुँदै राजनीति शुरु गरेका हुन् । नेकपा एमाले लमजुङको सचिव, गण्डकी अञ्चल सदस्य हुँदै सचिव, नेकपा एमालेको बैकल्पिक केन्द्रीय सदस्य, केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य, स्थायी कमिटी सदस्य हुँदै उपमहासचिव र हालैको महाविधेशनबाट उपाध्यक्ष विजयी भएका उनी यसपटक नवौं पटक संसदको उमेदवार बनेका छन् । 

विपक्षीहरुबिरुद्ध खरो र आलोचनात्मक टिप्पणी बढी गर्ने उनलाई यसपटकको निर्वाचन जित्न सहज भने छैन । ४० बर्षसम्म लमजुङको संसदीय निर्वाचनमा एकै पार्टीबाट लगातार उमेदवार बनिरहेका पृथ्वीसुब्बा यस पटक पनि उमेदवार बनेपछि उनकै पार्टी एमालेकै नेता कार्यकर्ता खुशी छैनन् । पार्टीको शक्तिशाली ठाउँमा रहेर आफैमात्र उमेदवार बन्ने तर अरूलाई पालो नदिएको भन्दै उनको आलोचनामा उनकै पार्टीका कार्यकर्ता लागेका छन् । जेनजी आन्दोलन हुनुमा उनको भूमिका रहेको भनेर पनि उनको आलोचना हुने  गरेको छ । 


प्रतिक्रिया