बेसीशहर, माघ ६ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज उमेदवारहरुको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय लमजुङले आगामी निर्वाचनमा भाग लिने विभिन्न राजनीतिक दल र स्वतन्त्र उमेदवारहरुलाई उमेदवारी दर्ता गर्नका लागि समय निर्धारण गरेको छ । जस अनुसार राजनीतिक दल र स्वतन्त्र उमेदवारहरुले आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म आफ्नो उमेदवारी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेश गर्नुपर्ने छ ।
कार्यालयले स्वतन्त्र उमेदवारहरुको हकमा उमेदवारी दर्ता गर्ने समय तोकेको छैन । तर मुख्य राजनीतिक दलहरुका उमेदवारहरुका लागि भने कार्यालयले उमेदवारी दर्ताका लागि समय निर्धारण गरिदिएको छ ।
राजनीतिक दलका उमेदवारहरु नारा जुलुसका साथ उमेदवारी दर्ता गर्न आउने र एकसाथ उमेदवारी दर्ता गर्न आउँदा हुन सक्ने सम्भावित अप्रिय घटनालाई मध्यनजर गर्दै दलहरुका लागि समय निर्धारण गरिएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै भन्दा पहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई उमेदवारी दर्ताका लागि समय दिएको छ । कार्यालयले रास्वपालाई दिउसो १ बजे उमेदवारी दर्ताका लागि समय तोकेको छ । त्यसैगरि राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिउसो २ बजे, नेपाली कम्युनिष्ट पार्टीलाई दिउसो २.३० बजे, नेकपा एमालेलाई दिउसो ३ बजे र नेपाली कांग्रेसलाई दिउसो ४ बजे उमेदवारी दर्ताका लागि समय निर्धारण गरेको छ ।
आगामी निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले धर्म के.सी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केविन्द्रजंग गुरुङ, नेपाली कम्युनिष्ट पार्टीले हरिजंग तामाङ, नेकपा एमालेले पृथ्वीसुब्बा गुरुङ र नेपाली कांग्रेसले गमप्रसाद गुरुङलाई उमेदवार घोषणा गरेका छन् ।
उमेदवारी दर्ता कार्यक्रममा सहभागी हुन सबै राजनीतिक दलहरुले आफ्ना कार्यकर्ता, समर्थक र सुभेच्छुुकहरुलाई आह्वान गरेका छन् ।
खबरकुञ्ज