काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रबिक्रम चन्द नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी मिलेर भाेलि समाजवादी माेर्चा घोषणा गर्ने भएका छन् । घाेषणा अघि समाजवादी मोर्चाकाे साझा मुद्दा र लक्ष्य दलहरूले टुंगो लगाएका छन् ।
आइतबार बसेको चार दलको बैठकले सोमबार घोषणा हुने समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकता सहितको १५ बुँदे प्रतिबद्धता तय गरेको छ ।
दलहरुले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरुप हुने सहमति गरेका छन् । ‘मोर्चाको नेतृत्व ती दलका शीर्ष नेताहरूले आलोपालो गर्ने छन् । मोर्चाको निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यता अनुरूप हुने सहमतिपत्रमा उल्लेख गरिएको छ ।
मोर्चामा सहभागी हुने सदस्य दलका अध्यक्षसहितको एउटा संयोजन समिति रहने छ, यसले आवश्यकता अनुसार उपसमितिहरू बनाएर अन्य दलहरूलाई पनि सहभागी गराउने निर्णय भएको नेताहरूले बताएका छन् । मोर्चामा सहभागी हुने चारवटा दलहरूको बैठकले तयार पारेको समाजवादी मोर्चाको प्रतिबद्धतामा पनि उक्त विषय उल्लेख छ ।
समितिले समान उद्देश्य, नीति, कार्यक्रम बोकेका र मोर्चाका अवधारणालाई समर्थन गर्ने राजनीतिक दलहरूसँग वार्ता गरी यस मोर्चामा सामेल गर्नसक्ने बताइएकाे छ । मोर्चाले तय गरेको नीति, योजना र कार्यक्रमहरूको कार्यान्वयन र अनुगमनका साथै दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय बनाइने छ । त्यसमा सदस्य दलहरूबाट तोकिए बमोजिमका प्रतिनिधिहरू रहनेछन् ।
मोर्चामा सहभागी दलहरूले मोर्चाको नीति, कार्यक्रम र उद्देश्य विपरीत गतिविधि नगर्ने तर आफ्नो अलग कार्यक्रममा पार्टी नीतिअनुरुप काम गर्न स्वतन्त्र हुने छन् ।
‘यस्तै मोर्चाले आफ्नो साझा नीति तथा कार्यक्रम, आचारसंहिता र आवश्यकताअनुसार कार्यविधिहरू बनाउने र समयसापेक्ष परिमार्जन गर्ने सहमति पनि दलहरूबीच भएको छ ।