बेसीशहर, मंसिर ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय प्रवक्ता मनिष झाले जेनजी आन्दोलनबाट बनेको सरकार पनि पुरानै शैलीमा चलेकाले जनतामा वितृष्ण जाग्न थालेको बताएका छन् ।
रास्वपा लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता झाले जेनजी आन्दोलन पछि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै जेनजी र समग्र जनतामा वर्तमान सरकारप्रति पनि वितृष्ण जाग्न थालेको बताएका हुन् ।
जेनजी आन्दोलनको म्याण्डेट र जेनजीकै प्रतिनिधित्व गर्ने गरी अहिलेको सरकार बने पनि सरकार आन्दोलन र जनताको भरोसाप्रति खरो उत्रन नसकेको बताएका हुन् । जेनजी आन्दोलनमार्फत अभिब्यक्त भएको सुशासन, भ्रष्टाचार र सुन्दर नेपालको सपना पुरा गर्नेतर्फ अहिलेको सरकार चुकेको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता झाले सर्वोच्च अदालतमाप्रतिनिधि सभा बिघटनका विरुद्ध रिट दायर भएर प्रतिनिधि सभा पुनस्र्थापना भए पनि रास्वपाका सांसदहरु संसदमा नजाने बताए । उनले निश्चित समयका लागि संविधान संशोधन लगायत देशका ठूला र नगरी नहुने समस्या हल गर्नका लागि रास्वपाका सांसदको अपरिहार्यता देखिएको अबस्थामा बाहेक प्रतिनिधि सभा पुनस्र्थापना भए पनि रास्वपा संसदमा नजाने बताए । जेनजी आन्दोलन चलिरहँदा अर्ली ईलेक्सनको माग रास्वपाले नै पहिलोपटक उठाएको र सांसदहरुले राजीनामा समेत दिएको स्मरण गराउँदै उनले अब पुरानो संसद ब्युँताउनुको अर्थ नहुने बताए ।
नेता झाले आगामी निर्वचनमा बिचार मिल्ने सिमित राजनीतिक दलसंग सहकार्य हुनसक्ने पनि बताए । उनले एक्लै चुनावमा लड्दा बहुमत आउन नसक्ने र पुरानै दलले जित्ने अबस्थामा जनताका चाहेको परिवर्तन ल्याउन वैकल्पिक शक्तिहरुबीच आगामी निर्वाचनमा सहकार्य हुन सक्ने संकेत गरे ।
प्रवक्ता झाले रास्वपाले ब्यवस्थाको नभई जनताको अबस्था परिवर्तनको लागि लडेको बताए । उनले मधेस प्रदेशमा अहिले देखिएको राजनीतिक समस्यातर्फ इंगित गर्दै रास्वपाले र जनताले यस्तो संघीयता खोजेको होइन भने ।
नेता झाले राजनीति गर्नेहरुमा राजनितिक ईमान्दारिता आवश्यक रहेको भन्दै परिवार, गुटको लागि हैन देश र जनताको लागि राजनिति गर्न सके देशमा परिवर्तन हुने बताए । देशको बिकास भनेको सडक खन्ने मात्र हैन, पब्लिक सर्भिस डेलिभरी प्रमुख कुरा हो ।
प्रवक्ता झाले देशनै उलटपुलट हुने गरी जेनजी आन्दोलन भई पुरानो सत्ता ढले पनि जेनजीभित्रै एकता नभएकोमा दुःख प्रकट गरे । जेनजीभित्रै एक अर्काको अस्तित्व स्वीकार्न नसक्ने, जेनजीकै अभिमतमा बनेको सरकार पनि पुरानै शैलीमा चल्ने हुँदा जनतामा निराशा छाएको उनको भनाइ थियो ।
नेता झाले जेनजी आन्दोलनका क्रममा पार्टी सभापति रवि लामिछाने जेलबाहिर आएको बिषयलाई पनि मिडिया ट्रोल गरिएको बताए । उनले प्रहरी र कारागार प्रशासनले नै सुरक्षाका कारण रवि लामिछानेलाई बाहिर निकालेको स्पष्ट पार्दै पक्राउ गर्न जाने प्रहरीले नै उनलाई घरसम्म छोड्नु पर्ने हो, रास्वपाका नेताहरु लिन जानु राजनीतिक भूल भएको महशुस भएको बताए ।
खबरकुञ्ज