आचारसंहितालाई पूर्ण रुपमा कार्यान्वयन गर्न सके मिडिया मर्यादित र विश्वसनीय हुने

बेसीशहर, फागुन १ । पत्रकारितालाई मर्यादित बनाउनका लागि पत्रकारहरुले स्वनियमको पालना गर्ने र पत्रकार आचारसंहितालाई पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्नेमा लमजुङमा आयोजित एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।

प्रेस काउन्सील नेपालले नेपाल पत्रकार महासंघ लमजुङको सहयोगमा मंगलबार बेसीशहरमा आयोजना गरेको मिडिया साक्षरता कार्यक्रमका सहभागीले सञ्चार माध्यमलाई मर्यादित बनाउन मिडिया साक्षरतामा ध्यान दिइनुपर्नेमा जोड दिए । समयक्रममा वर्तमान अवस्थामा मिडिया साक्षरताको सवाल अरु पेचिलो भएको कार्यक्रममा बताइयो ।

सहभागीले पत्रकार आचार संहिता र काउन्सीलले जारी गरेका विभिन्न निर्देशिकाको पालना हुन सकेमा पत्रकारिता मर्यादित र विश्वसनीय हुने बताए ।

कार्यक्रममा बोल्दै लमजुङका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले नेपाली सञ्चार माध्यमहरुले विकृति विसंगतिको पहरेदारी गरी समाजको समृद्धिको आधारसमेत बनेको बताए । उनले मिडियामा सत्य, तथ्य र विश्वसनीय समाचार प्रकाशन प्रसारण भए मात्रे मिडियाको विश्वसनीयता बढ्ने भएकाले यसमा सचेत रहन आग्रह गरे । उनले श्रोत साधनको अभावमा मोफसलका मिडियाहरुले निकै समस्या र चुनौति झेल्ने गरेको प्रति आफू जानकार रहेको भन्दै विषम परिस्थितिमा पनि संघर्ष गरी देश र समाजप्रति उत्तरदायी भइ पत्रकारिता गर्नेहरुप्रति आफ्नो सम्मान रहेको बताए ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सील नेपालका सदस्य दीपक पाण्डेले पत्रकार स्वतन्त्र हुनसके सम्पादकीय स्वतन्त्रता कायम रहने भन्दै पत्रकारलाई अनुशासित बनाउन पत्रकार आचार संहिता जारी भएको र उक्त संहिताको पालना गर्न सके मिडिया मर्यादित र विश्वसनीय हुने बताए । उनले अहिले सामाजिक सञ्जालको बढ्दो प्रयोगले कुनचाहिँ मिडिया हो कुन होइन भन्ने छुट्याउन पाठकहरुलाई हम्मे परिरहेको सन्दर्भमा सम्बन्धित निकायमा दर्ता भई सम्पादक रहेको मिडियालाई मात्र मिडिया भनि विश्वास गर्नुपर्नेमा जोड दिए । 

उनले मूलधारको मिडिया र सामाजिक सञ्जालबीचको अन्तर छुट्याउन, सही र भ्रमपूर्ण समाचार छुट्याउन मिडिया साक्षरता अभियानले सहयोग पु¥याउने विचार ब्यक्त गरे । अहिलेको पत्रकारिता प्रविधिलाई आत्मसात गर्न जरुरी रहेको भन्दै उनले मिडिया सवल हुन सके मात्र समाज पनि सबल बन्ने धारणा राखे । राज्यका तीन अंग कार्यपालिका, ब्यवस्थापीका र न्यायपालिकालाई जनताप्रति जवाफदेही बनाउने भएकाले मिडियालाई चौथो अंग भनिएको उनले सो अवसरमा बताए ।

काउन्सीलका सदस्य दुर्गा भण्डारीले पत्रकारहरु स्वनियममा बस्दा पत्रकारिता क्षेत्रको मर्यादा बढ्ने बताईन् । उनले मिडिया र पत्रकारहरुलाई अनुशासित बनाउन पत्रकार आचार संहिताका साथै काउन्सीलले विभिन्न निर्देशिकाहरु जारी गरेको जानकारी गराईन् । उनले सूचनाको हक, गोपनियताकोहक, पत्रकार आचार संहिता, विभिन्न सञ्चार निर्देशिका, मिडियाका उत्तरदायित्व र जवाफदेहिता, पीडितको आत्मसम्मान, लैंगिक विभेद, भेवभाव, दुब्र्यवहार, सामाजिक विभेदका विषयमा कार्यपत्र प्रस्तुत गरिन् ।

उनले सञ्चार माध्यमले राज्य र सार्वजनिक निकायलाई उत्तरदायी बनाउने बताउँदै जिम्मेवारी विनाको प्रेस स्वतन्त्रता अन्याय गर्ने उपकरण बन्न सक्छ भन्ने बिषयमा सचेत रहन आग्रह गरिन् ।

प्रेस काउन्सील नेपालका वरीष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले मिडियामा सम्प्रेषण भएका सामग्री वा सन्देश बुझ्ने वा ग्रहण गर्ने क्षमता बनाउनु नै मिडिया साक्षरता  भएको बताए । उनले मिडिया साक्षरताबारे आम नागरिक सचेत नभएको भन्दै मिडियामा आउने विषयवस्तु, पढेर ग्रहण गर्ने, खण्डन गर्ने, असहमति वा आलोचना गर्न सक्ने हुनु नै मिडिया साक्षरता रहेको प्रष्ट पारे ।

नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ अर्याल, मस्र्याङदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम पंगेनी लगायत लमजुङका क्रियाशील सञ्चारकर्मीहरुको सहभागिता थियो ।


प्रतिक्रिया