शनिबार बेलुकी ५ बजेतिर उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल काठमाडौंमा निधन भएको हो । विगत केही समयदेखि अस्वस्थ भएका थापा भारतको मेदान्त अस्पतालमा स्वास्थ्य परीक्षण गराइ फर्केका थिए । उनलाई फोक्सोको क्यान्सर देखिएपछि किमोथेरापी लगायत अन्य उपचारका लागि पुनः दिल्ली जाने तयारी गरिरहेका थापा शनिबार काठमाडौंको सीतापाइलामा रहेको घरमा पारिवारिक जमघट भइरहेका बेला एक्कासी ढलेपछि उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो ।
२००९ साल बैशाख १० गते लमजुङकाे सिम्पानी पामचाेकमा जन्मेका थापा २०४० सालदेखि कम्युनिष्ट आन्दोलनमा सहभागी भएका थिए । भारतीय सेनामा काम गरी निवृत भइ आएका थापाले शुरुमा पामथोककै एक विद्यालयमा शिक्षकको रुपमा काम गरेका थिए । राजनीतिमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसंगै त्यतिबेलैबाट उनी तत्कालीन नेकपा मालेको राजनीतिमा जोडिएका थिए ।
२०४२ सालको सिंहदरबार बमकाण्डमा तत्कालीन लमजुङका राष्ट्रिय पञ्चायतका सदस्य डम्बरजंग गुरुङ मारिएपछि थापा त्यस काण्डमा संलग्न भएको आरोपमा जेलसमेत परेका थिए ।
२०४६ सालको जनआन्दोलनपछि शिक्षण पेशा छोडेर पूर्णतः राजनीतिमा लागेका थापा २०४९ र २०५४ को को स्थानीय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट सिम्पानी गाविसको अध्यक्षमा निर्वाचित भइ काम गरेका थिए ।
थापाले लमजुङमा नेकपा एमालेको पार्टी संगठनमा महत्वपूर्ण भूमिका निभाएका थिए । हाल नेकपा एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य रहेका थापा यस अघि लमजुङ जिल्ला कमिटीका विभिन्न पदमा बसेर काम गरेका थिए । उनी सुकुम्बासी समस्या समाधान आयोग लमजुङको अध्यक्ष, अखिल नेपाल किसान संघको केन्द्रीय सदस्यसमेत भएका थिए ।
स्थानीयस्तरमा समाजसेवामा समेत क्रियाशील उनी खुदी हाइड्रो सरोकार समितिको अध्यक्ष, लमजुङ विद्युत उपभोक्ता संस्थाको उपाध्यक्षसमेत भएका थिए ।
स्वर्गिय थापाका एक श्रीमती २ छोरा र ५ वटा छोरीहरु छन् ।
थापााको निधनमा नेकपा एमाले लमजुङका नेताहरुले गहिरो दुःख प्रकट गरेका छन् ।
थापाकाे निधन भएपछि नेकपा एमाले जिल्ला कमिटी लमजुङले यही जेठ १५ गते गणतन्त्र दिबसको अबसरमा आयोजना गरेको स्थानीय निकायको निर्वाचनमा निर्वाचित पुर्ब जनप्रतिनिधि हरुको सम्मान कार्यक्रम र जेठ १६ गते गर्ने भनिएको पार्टी सम्बद्ध सबै जनसंगठन का केन्द्रीय सदस्यहरु बिचको परिचय तथा अन्तर्क्रिया कार्यक्रम स्थिगत गरेकाे सचिव सुभाष पाैडेलले जानकारी दिएका छन् ।