तार्कुघाट (लमजुङ) । छोराछोरी वा आश्रय दिने कोही नभएर, छोरा छोरी भएर पनि हेला भएर वा वेवारिसे भइ कठीन जीवन जिउन बाध्य ज्येष्ठ नागरिकहरूलाइ आश्रय दिइ उनीहरूलाइ धार्मिक आध्यात्मिक जीवन जिउन सहज होस् भनि लमजुङको राइनास नगरपालिका वडा नं. ८ हर्राबोटमा स्थापना भएको सर्वोदय ज्येष्ठ नागरिक आश्रम सरकारी उदासिनताको शिकार बनेको छ ।
लमजुङको प्रवेशद्वार पाउँदी बजारको पारीपट्टी मर्स्याङ्दि नदी किनारमा अबस्थित उक्त आश्रम अहिले धर्मनाथ धामको रूपमा परिचित छ । राज्यको कुनै लगानी बिना दाताहरूको दान र सहयोगमा सञ्चालित यो आश्रम अहिले धार्मिक, अध्यात्मिक केन्द्रको रूपमा परिचय बनाइसकेको छ ।
आश्रम निर्माणका लागि आश्रमका संस्थापक समाजसेवी कृष्णराज ओलियाको नेतृत्व र लायन्स क्लवको सहयोगमा श्रीमद् भागवत महापुराण ज्ञान महायज्ञको आयोजना गरिएको थियो । महापुराणमा संकलन भएको दानबाट आश्रमको निर्माणा गरिएको हो । महायज्ञमा दाताहरूले मन खोलेर सहयोग गरेका थिए । नगद हुनेले नगद, नगद नहुनेले जग्गा दान गरि आश्रमको जग हाल्न सहयोग गरेका थिए ।
सर्बोदय सेवाश्रम २०५९ साल साउनमा लमजुङ जिल्ला प्रशासनमा दर्ता भएर कार्यरत संस्था हो । २०६८ सालमा दाताहरुबाट जग्गा ब्यबस्था गरि श्रीमद्भागवत महायज्ञ गरि करिब ७० लाख दान जुटाएर ४ वटा १४ कोठा भवन निर्माण गरेर जेष्ठनागरिक आश्रम शुरु भएको हो । पछि लायन्स् क्लब काठमाण्डौ सामाखुशी को प्रस्ताबमा लायन्स् ईन्टरनेशनलबाट ४५ लाख सहयोगबाट ६ वटा १२ कोठाको आवाशीय भवन निर्माण गरिएको आश्रमका संस्थापक कृष्णराज ओलियाले जानकारी दिए ।
आश्रमको प्रयासमा आश्रम परिसरमा कैलाश पर्बत र कैलाशमा बिराजमान १२ फिट अग्लो ध्यानामग्न शिवजीको मूर्ति , १०८ गोमुखी धारा , १०८ शिवलिङ्ग, दिव्य प्राकृतिक शिवलिङ्ग, हिरण्यगर्भ शालिग्राम शिलाहरु स्थापना गरिएको ओलियाले बताए ।
आश्रममा ४० जना आवासीय र १५० जना दिवा सेवा दिने क्षमताका संरचना बनेका छन् । ती संरचनामा योग, ध्यान प्राकृतिक उपचार सहितको आरोग्यशाला, तीन सय जना अट्नसक्ने क्षमताको हल उपलब्ध छ । यसबाहेक आश्रममा , प्राकृतिक उपचार र फिजियोथेरापि गर्ने एक हल र एकल ध्यान मन्दिर छ ।
आश्रमको आफ्नै करेसाबारी र गौशाला छ । त्यहाँ आश्रितहरूका लागि करेसाबारीको तरकारी र गौशालाबाट उत्पादन हुने दूध पर्यप्त छ ।
यस आश्रममा अहिलेसम्म ६२ जना असाहय जेष्ठ नागरिकले आश्रय लिई सकेका र अहिले १६ जना आश्रित छन् तीमध्ये ७ जना महिला र ९ जना पुरुष रहेका आश्रमका अध्यक्ष सुकदेव रिसालले बताए ।
आश्रम १ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । दाताहरूकै सहयोगमा त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरूको भरण पोषण गर्ने गरिएको छ । सयौं दाताहरूले आश्रमका लागि मुठी दान गर्छन् । जन्मदिन, बर्षगाँठ, बाबुआमाको पुण्यथतिथी लगायतमा दाताहरूले आश्रममै पुगेर खाद्यान्न र नगद सहयोग गर्ने गर्छन् ।
स्थानीय सहभागिता, दाताहरूको सहयोग र आश्रम परिवारको अथक प्रयासले यो क्षेत्र दिव्य धामको रूपमा विकास भइरहेको छ । यहाँको दिब्यता देखेर देशका विभिन्न स्थान र भारतदेखि योगी सन्यासीहरू यहाँ आएर साधना गर्छन् ।
आश्रमका लागि सरकारीतवरबाट अहिलेसम्म कुनै सहयोग भएको छैन । आश्रमलाइ थप ब्यवस्थित बनाउन विभिन्न योजना बनेका छन् । तर बजेटको अभावमा योजना कार्यान्वयनमा चुनौति थपिएको छ । सरकारी सहयाेग भएमा आश्रमलाइ थप ब्यवस्थित बनाउने लक्ष्य राखिएकाे छ । आश्रममा विभिन्न राजनीतिक दलका नेताहरू, सरकारी संयन्त्रमा पहुँचवाला कर्मचारीहरू बेलाबखत पुग्छन् र सहयोगको आश्वासन पनि दिने गरेका छन् । तर कतैबाट सहयोग नभएको गुनासो आश्रमको छ ।
अहिले पनि यो धाम केवल ५० लाख बजेट अभावमा योजना थन्काएर बसेको छ । यतिमात्र बजेटको ब्यबस्था भए आश्रम आफैले धर्मकुण्ड, ढुङ्गा छाप्ने ,रङ्गरोगन , गेट निर्माण लगायतका काम सम्पन्न गरि पुर्ण संचालनमा ल्याउन सकिने ओलियाले बताए ।
अब थोरैमात्र काम पुरा गर्न पाए यो स्थल धार्मिक र मानवीय सेवा सहितको बृहत केन्द्र बन्न सक्ने उनी बताउँछन् । अहिलेसम्म भएका काम सम्पन्न गर्न जनस्तरको चन्दा दानले सम्भव भएको र अब बाँकी कामका लागि राज्यका तर्फबाट सहयोग भैदिए आश्रमलाइ पूर्ण रूपमा सञ्चालन गरी धार्मिक, अध्यात्मिक र पर्यटकीय स्थलको रूपमा विकास हुने र यसबाट सिंगो लमजुङ जिल्लालाइ नै फाइदा पुग्ने ठम्याइ ओलियाको छ ।