बेसीशहर । काठमाडौंमा बस्ने मर्स्याङदी गाउँपालिकाका प्रबुद्ध नागरिकहरुले गाउँपालिकाले नीति कार्यक्रम र बजेट बनाउँदा पूर्वाधार विकाससंगै रोजगारी सृजना, सामाजिक विकास र पालिकाका सम्भावनाको पहिचान गर्न सुझाव दिएका छन् ।
आर्थिक बर्ष २०८०/०८१ को बजेटको तयारी गरिरहेको लमजुङको मर्स्याङदी गाउँपालिकाले काठमाडौंमा बस्ने पालिकाका प्रबुद्ध नागरिकहरुसंग बजेटबारे शनिबार छलफल गरेको थियो ।
छलफलका क्रममा सहभागीहरुले गाउँपालिकाको मुख्य सम्भावना कृषि र पर्यटन भएकोमा सहमति जनाउँदै नीति, योजना बनाउनु ठूलो कुरा नभएको तर हासिल हुने उपलब्धी महत्वपूणर् हुने भएकाले यसमा ध्यान दिन सुझाव दिएका छन् । पालिकाले नीति कार्यक्रममा राम्रा कुरा राख्दै आएकोमा धन्यवाद दिँदै उनीहरुले उपलब्धी हासिल गर्न बरु समय सीमा तोकेर अघि बढ्न सुझाव दिएका छन् ।
मर्स्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले भने-“छलफल निकै उत्साहजक रह्यो, उहाँहरुले धेरै राम्रा सुझावहरु दिनुभएको छ, । सहभागीहरुले नीति कार्यक्रम र बजेट बनाउँदा पालिकाभित्र रोजगारी सृजना हुने कुरामा ध्यान दिन र गर्न सकिने काममा मात्र ध्यान दिन सुझाव दिनुभयो । यसले हामीलाई मार्गदर्शन गरेको छ ।”
गाउँपालिकालाई समृद्ध बनाउन र विकासमा फड्को मार्ने अभियानमा रहेको मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङसहितको टोलीले मर्स्याङदी गाउँपालिका घर भइ हाल विभिन्न पेशा, ब्यवसाय गरी राजधानीमा बस्ने प्रबुद्ध वर्गसंग गाउँपालिकालाई समृद्ध बनाउन पालिकाको नीति कार्यक्रम र बजेटमा के के ब्यवस्था गर्न सकिन्छ भनेर छलफल गरेको थियो ।
आगामी आर्थिक वर्षका लागि पालिकाका सबै वडा तथा टोलहरुमा पुगेर योजना र सुझाव लिइरहेको गाउँपालिकाले आफूहरुसंग पनि राय सुझाव लिएकोमा सहभागीहरुले खुशी प्रकट गर्दै पालिकाको विकासमा आफूहरु पनि हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाएका अध्यक्ष गुरुङले जानकारी दिए ।
छलफलका क्रममा सहभागीहरुले ५ बर्षको लक्ष्य लिएर यस समयभित्र के के काम गर्न सकिन्छ र कति उपलब्धी हासिल गर्न सकिन्छ भनि आवधिक योजना बनाएर अघि बढ्न सुझाव दिएका थिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन गुरूङले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट सिलिङबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।
छलफलमा पूर्वराज्यमन्त्री रामबहादुर गुरुङ, संविधान सभाका सदस्य जमीन्द्रमान घले, राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजङ गुरुङ, कृषि विकास बैँकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, त्रिभुवन विश्वविद्यालयका रिसर्च हेड डा शान्तिकला सुवेदी, डा. देवी सुवेदी, डा. दिलबहादुर गुरुङ, डा. दिलबहादुर गुरुङ, डा. हेमराज घिमिरे, डा. रामकुमार भण्डारी, ई. राजीव घिमिरे लगायत विज्ञहरु सहभागी थिए ।