बेसीशहरका फार्मेसी पसलहरुमा कैफियत, दर्ता एउटाकाे चलाउने अर्कै

खबरकुञ्ज

बेसीशहर, फागुन २६ गते । जिल्ला प्रशासन कार्यालय लमजुङले गरेको अनुगमनमा बेसीशहरका फार्मेसी पसलहरुमा कैफियत भेटिएको छ ।

जिल्ला प्रशासन कार्यालय लमजुङले सरोकारवाला निकायसंगको सहकार्यमा सोमबार बेसीशहरका फार्मेसी पसलहरुको अनुगमन गरेकोमा अधिकांश फार्मेसीहरु मापदण्ड बमोजिम सञ्चालन नभएको पाइएको छ ।

अनुगमनका क्रममा फार्मेसीहरुमा दक्ष औषधी विक्रेताहरु नभएको, म्याद गुज्रिएका औषधीहरु राखिएको, विल विजक जारी गर्ने नगरिएको, औषधी बेगरका अन्य खाद्यान्नहरु समेत विक्री गर्ने गरिएको पाइएको अनुगमनमा खटिएका जिल्ला प्रशासन कार्यालय लमजुङका खरिदार दिननाथ अधिकारीले जानकारी दिए ।


जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमको नेतृत्वमा गएको अनुगमन टोलीले सोमबार बेसीशहरका १० वटा फार्मेसीहरुको अनुगमन गरेको थियो । वेसीशहरको मनाङ्गे चौतारा देखि शेरासम्मका औषधी पसल तथा फार्मेसीहरुको अनुगमन गरिएकोमा कतिपय पसलहरु एक जनाको नाममा दर्ता रही अर्कैले सञ्चालन गरेको समेत पाइएको अनुगमनमा संलग्न अधिकारीले जानकारी दिए ।

त्यसैगरि ती पसलहरुमा चिकित्सकको प्रेस्क्रिप्सन बेगर विक्री गर्न नहुने औषधीहरु पनि विना प्रेस्क्रिप्सन बिक्री वितरण हुने गरेको पनि पाइएको थियो । त्यस्तै फार्मेसी तथा औषधी पसलहरुमा सरसफाईको अवस्था कमजोर रहेको, कतिपयले ईजाजत बेगर कम्प्युटर विलिङ प्रयोग गरेको, औषधीका रुपमा दर्ता नभएका वस्तुहरु समेत विक्रीका लागि राखिएको अनुगमनमा संलग्न अधिकारीहरुले बताए ।

 अनुगमनको क्रममा औषधी पसलहरुको मूल्यसूचि, औषधीको म्याद गुज्रे नगुज्रेको, साइनवोर्ड, व्यवसाय दर्ता÷नविकरण, प्यान, भ्याट, खरिद तथा विक्री मूल्य लगायतका विषयमा अनुगमन गरिएको थियो । साथै म्याद सकिएका औषधीहरुको उपभोगवाट सेवाग्राहीको स्वास्थ्यमा पर्ने असरका बारेमा सञ्चालकहरुलाई सचेत गराइएको थियो ।

अनुगमनका क्रममा भेटिएको कैफियतहरुलाई ७ दिनभित्र सुधार गर्न अनुगमन टोलीले निर्देशन दिएको र सुधार नभएमा कानुनी कारबाहीको चेतावनी अनुगमन टोलीले दिएको छ । अनुगमनमा जिल्ला प्रशासन कार्यालयका साथै बेसीशहर नगरपालिका, प्रदेश अस्पताल, पत्रकार महासंघ लगायतका प्रतिनिधिहरु सहभागी थिए । 


प्रतिक्रिया