ह्वाट्स एप ह्याक गरी रकम माग्ने गिराेह सक्रिय, पत्रकार गुरूङकाे नम्बरबाट रकम मागियाे

खबरकुञ्ज

बेसीशहर, कार्तिक १५ । सामाजिक सञ्जाल ह्याक गरी विभिन्न ब्यक्तिसंग पैसा माग्ने गिरोह फेरि सक्रिय हुन थालेको छ । पछिल्लो पटक लमजुङकी एक पत्रकारको ह्वाट्स एप ह्याक गरी विभिन्न ब्यक्तिसंग पैसा माग गरिएको पाइएको छ ।

लमजुङ सदरमुकाम बेसीशहरमा रहेको रेडियो मर्स्याङदीका निर्देशक मीना गुरुङको ह्वाट्स एप ह्याक गरी विभिन्न ब्यक्तिसंग पैसा मागिएको हो । उनको ह्वाट्स एपबाट शुरुमा उनको मोबाइलमा सेभ गरिएका नम्बरहरुमा आफूलाई अर्जेण्ट सानो समस्या परेको र सहयोग गर्न सक्छौ ? भनि सोधिएको छ । उनलाई सहयोग गर्ने मन भएका र उनलाई नजिकबाट चिन्नेहरुले के भो कसो भो भनि सोध्दा उताबाट कसैलाई तत्काल पैसा पठाउनु पर्ने र आफ्नो खाताबाट पैसा नगएकाले पठाइदिन आग्रह गरिएको छ । यसरी पैसा पठाउनका लागि विभिन्न ब्यक्तिको बैंक खाता र इसेवाको क्यूआर कोड पठाइएको छ ।

शुरुमा शनिबार दिउसो २.५६ ह्याक भएको गुरुङको ह्वाट्स एपबाट विभिन्न ब्यक्तिलाई नमस्ते भन्ने सन्देश गएको छ । दिउसो ३.०२ बजे पुन ती नम्बरहरुमा कृपया मलाई तपाइँको तत्काल सहयोगको आवश्यकता परेको छ भनेर अर्को सन्देश गएको छ । उक्त सन्देशको जवाफ दिनेहरुसंग पैसा माग गर्दै कसैलाई अनिकेत कुमार सहानीको ईसेवा नम्बर ९७०५९९६२७० मा, कसैलाई एभरेष्ट बैंकमा आशा भट्टको नाममा रहेको खाता नंं ०५९००५०१२०३८४३ मा पैसा पठाउन र कसैलाइ भावना आचार्यकाे इसेवा नम्बर ९८२०६४०७७७ मा रकम पठाउन आग्रह गरिएको छ ।


खबरकुञ्जका सञ्चालक एवं कार्यकारी सम्पादक मिलन शर्मा दनाईले आफ्नो ह्वाट्सएपमा पनि यस्तै म्यासेज आएको बताए । उनले भने– “काम बिशेषले जिल्ला बाहिर गएको थिएँ । मोटरसाइकलमा सवार रहेकाले तत्काल म्यासेज हेर्न पाइन । दिउसो साढे ४ बजेतिर घर आए पछि मोबाइल हेर्दा पैसा सहयोग मागिएको म्यासेज देखेपछि के कसो हो भनि ह्वाट्स एपमै सोधें । उताबाट कसैलाई ३० हजार रुपैयाँ दिनु पर्ने तर आफ्नो खाताबाट नगएकाले भोलि फिर्ता दिने शर्तमा रकम पठाइदिन भनि अनिकेत कुमार सहानीको इसेवाको क्युआर कोड पठाइयो । शंका लागेर मिनालाई मोबाइलमा के हो भनि प्रश्न गर्दा तपाइँसंग पनि पैसा माग्यो ? भनि मीनाले उल्टै प्रश्न गरेपछि ह्वाट् एप ह्याक भएको थाह भयो ।”

यस्तो म्यासेज पत्रकार नवीनराज कुइँकेल, आश गुरुङ, सन्देश पौडेल, सृजना बराल, अनुज अधिकारी, सुमित्रा भुजेल, सीताराम बसेल, सुरज गुरुङ, सरोज विक, सविना प्रजा लगायतको ह्वाट्स एपमा समेत पुगेको उनीहरुले बताएका छन् । 

पत्रकार गुरूङले यस्तो सन्देश कसैकोमाा आएर पैसा माग गरिए नदिन आग्रह गरेकी छन् । उनले भनिन्– “मलाई पैसाको आवश्यकता परेको भए मेरै क्युआर पठाउथें अरुको क्युआर पठाउदैनथे नि ।”

तपाइँलाई पनि कुनै साथी वा इष्टमित्रको फेसबुक म्यासेन्जर, ह्वाट्स एप आदिबाट मलाई यति पैसा आवश्यक प¥यो, सहयोग गर्नुहोला भनि म्यासेज आयो भने होसियार हुनुहोला । अझ म्यासेजसंगै क्यूआर कोड समेत पठाएर यसमा पैसा हाल्दिनु भनियो भने झनै सतर्क हुनु होला । किनकी अहिले यस्ता म्यासेज धेरैलाई आउन थालेको छ र यस्ता म्यासेजको विश्वास गर्दा धेरै जना ठगिएका छन् ।

सामाजिक सञ्जालको बढ्दो लोकप्रियतासंगै प्रयोगकर्ताहरुले यिनको प्रयोग गर्दा अपनाउनु पर्ने साबधानी नअपनाउँदा सामाजिक सञ्जाल खाताहरुमा अरुले अनाधिकृत पहुँच पुर्याई त्यसमार्फत ठगी गर्ने गरेका छन् ।

केही समय अघि लमजुङका पुराना पत्रकार एवं सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलिया र साहित्यकार श्रीकृष्ण न्यौपाने पनि यसको शिकार बनेका थिए । उनीहरुको फेसबुक ह्याक गरेर फेसबुक म्यासेन्जरबाट उनीहरुका साथी तथा ईष्टमित्रलाई पैसाको आवश्यकता परेको भन्दै ह्याकरले झण्डै एक लाख रुपैयाँ ठगी गरेका थिए ।

प्रतिक्रिया