लमजुङ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी स्थापना दिवसका अवसरमा लमजुङ सदरमुकाम बेसीशहरका विभिन्न स्थानमा बृक्षारोपण गरेको छ ।
गत बर्ष असार ७ गते स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी अहिले २१ सिटका साथ संसदमा चौथो पार्टीको रुपमा स्थापित भएको छ । पार्टीका स्थापना दिवस विभिन्न कार्यक्रमका साथ सप्ताहब्यापी रुपमा मनाउने केन्द्रीय कार्यक्रम अनुसार लमजुङका विभिन्न स्थानहरुमा नगर, गाउँ र वडसमितिहरुले समेत बृक्षारोपण लगायतका कार्यक्रम आयोजना गरेका हुन् ।
जस अनुसार शुक्रबार बेसीशहर नगर कार्य समितिले वडा नंं २ वडा कार्यसमितिसंगको सहकार्यमा कोकले डाँडामा रहेको कालिका मन्दिर परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । कोकले डाँडामा डिभिजन वन कार्यालयको सहयोगमा रोपिएका बिरुवा हरुको संरक्षण गर्ने जिम्मा स्वतस्फूर्त रूपमा स्थानी टेक बहादुर थापा लगायत वडा नंं २ का युवाहरुले लिएका छन् । बृक्षारोपण कार्यक्रममा आगामी दिनमा रास्वपाका पदाधिकारी एवं सदस्यहरुले जन्मदिनमा बृक्षारोपण गरेर मनाऊने सहमति गरेका छन् ।
सो अवसरमा बर पिपल, कागती, आँप, जमुना, बेल, बेलाउती,, मेङ्गोस्टेक, गुलाब, असारे फूल, खुर्सानी फूल लगायतका १ सय फलफूलका विरुवा रोपिएको छ ।
बृक्षारोपण कार्यक्रममा बेसीशहरका विभिन्न वडाका कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, पार्टीका सुभेच्छुक एक समर्थक एवं स्थानीयको उपस्थिति थियो । बृक्षारोपण कार्यक्रम बेसीशहर नगर कार्य समितिका सभापति कृष्णबहादुर राउतको अध्यक्षतामा भएको थियो ।
सुन्दरबजार नगर कार्य समितिले पनि सुन्दरबजारको वडानंं ९ मा बृक्षारोपण कार्यक्रम गर्नुका साथै भक्ति नमुना माविलाई विभिन्न फलफूलका विरुवाहरु सहयोग गरेको छ ।
त्यस्तै मर्स्याङदी गाउँपालिकाको वडा नंं ८ लाम्पाटामा गाउँ कार्य समितिले बृक्षारोपण गरेको छ । गाउँ कार्य समितिले डिभिजन वन कार्यालयको सहयोगमा पार्टीका सदस्य र स्थानीयहरुसंगको सहकार्यमा बृक्षारोपण गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी लमजुङका सहसंयोजक अशोक सापकोटाले देश बचाउने अभियानसंगै प्रकृति र पर्यावरण जोगाउन पार्टीको पहिलो बार्षिकोत्सबका अवसरमा लमजुङका विभिन्न स्थानमा बृक्षारोपण गरिएको जानकारी दिए ।
रास्वपाले स्थापना दिवसका अवसरमा असार १ गते बृक्षारोपण, असार २ गते वडा भेला, ३ गते सामुदायकि वद्यिालय र अस्पतालमा सरसफाइ, ५ गते रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।