एमालेको ११ औँ महाधिवेशनबाट लमजुङबाट उपाध्यक्षसहित ९ जना केन्द्रीय सदस्यमा निर्वाचित

खबरकुञ्ज

बेसीशहर, पुस ३ गते । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय समितिको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । उनीसंगै लमजुङका अन्य ८ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

नेकपा एमालेको बिहीबार सम्पन्न ११ औं महाधिवेशनमा उपाध्यक्ष पदमा पृथ्वीसुब्बा गुरुङ १ हजार ७ सय ३७ मतका साथ विजयी भएका छन् । उनी एमालेका सबै निर्वाचित पदाधिकारीले प्राप्त गरेभन्दा बढी मत प्राप्त गरी विजयी भएका हुन् । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले १ हजार ६ सय ६३ मतका साथ विजयी हुँदा गुरुङ उनले भन्दा ७४ मत बढी प्राप्त गरी विजयी भएका छन् । गुरुङ १ हजार ७ सय ३७ मत पाइ उपाध्यक्ष पदमा विजयी भएका हुन् ।

लमजुङबाट खुला केन्द्रीय सदस्यमा विजयी भएका डा भीष्म अधिकारी १ हजार ३ सय ९६ मतका साथ निर्वाचित हुँदा जमीन्द्रमान घले १ हजार ३ सय ४५ मत पाएर विजयी भए ।

महाधिवेशनबाट नेकपा एमाले लमजुङका निवर्तमान जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी पनि केन्द्रीय सदस्य निर्वाचित भएका छन् । जिल्ला अधिवेशनमा पृथ्वीसुब्बा गुरुङ र जमीन्द्रमान घलेको पेलाइले जिल्ला अध्यक्ष पदमा पराजित गराइएका कृष्णप्रसाद अधिकारी १ हजार १८ मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । 

महाधिवेशनबाट खुला महिलातर्फ टुकाभद्र हमाल लोकप्रिय मतका साथ विजयी भइन् । उनले १ हजार ८ सय २६ मत प्राप्त गर्दा गण्डकी प्रदेश सभा सदस्य समेत रहेकी यशोदा रिमाल समेत लोकप्रिय मत (१ हजार ८ सय ७ मत) पाएर केन्द्रीय सदस्यमा विजयी भइन् ।

यसैगरि सम्पर्क समन्वय कमिटी, महिलातर्फ भगवती थापा क्षेत्री (कल्पना) १ हजार ८ सय ३७ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित हुँदा केन्द्रीय लेखा आयोगको सदस्यमा सपना बानियाँ १ हजार ७ सय ४५ मतका साथ विजयी भएकी छन् ।

नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

एमालेको ११ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरूकाे सूचि

प्रतिक्रिया