साहित्यकार श्रीकृष्ण न्यौपानेका तीनवटा कृतिकाे एकसाथ बिमोचन

बेसीशहर, बैशाख ९ गते । लमजुङका साहित्यकार एवं पिङ्गल छन्द प्रतिष्ठान लमजुङका अध्यक्ष श्रीकृष्ण न्यौपानेका तीनवटा कृतिको एकसाथ शनिबार बिमोचन गरिएको छ ।

छन्द दिवसको अवसरमा बेसीशहरमा शनिबार आयोजित एक भब्य समारोहबीच साहित्यकार न्यौपानेद्वारा लिखित बिषालु धरती महाकाब्य, तिम्रो गमला मसित बोल्दैन खण्डकाब्य र सयछन्द नामको कविता संग्रहको एकसाथ बिमोचन गराएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, प्रमुख अतिथि वक्ता नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद सदस्य, वरीष्ठ समालोचक, लेखक, कवि एवं छन्दगुरु प्राध्यापक डा. देवी नेपाल, प्रमुख प्रमुख मिनबहादुर घले, सशस्त्र प्रहरी प्रमुख खेमराज शर्मा र साहित्यकार न्यौपानेले संयुक्त रुपमा ती कृतिहरुको बिमोचन गरेका थिए ।


सो अवसरमा प्रमुख अतिथि बक्ता प्रा.डा. देवी नेपालले श्रीकृष्ण न्यौपानेका प्रकाशित कृतिहरूले संख्यात्मक दृष्टिले मात्र नभै गुणात्मक मूल्यका दृष्टिले पनि युगीन महत्व बोकेर आएको बताए । नेपाली कविता र काव्य परम्पराको पछिल्लो प्रहरमा आशुलेखन तथा द्रुतलेखनका अद्भूत दृष्टान्त बनेर देखापरेका कवि श्रीकृष्ण न्यौपानेको अनुपम काव्यचेतना र विष्मयकारी कवित्व प्रवाह साँच्चिकै उदाहरणीय र प्रशंसनीय रहेको डा. नेपालले चर्चा गरे । सो अवसरमा उनले साहित्यकार न्यौपानेसँग एकै बसाइमा महाकाव्य लेख्ने क्षमता भएको समेत दावी गरे । 

बिमोचन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले छन्दले साहित्यलाई र साहित्यले समाजलाई मार्गदर्शन प्रदान गरी सकारात्मक बाटो देखाउन भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

लमजुङका प्रहरी नायव उपरीक्षक मीनबहादुर घले र सशस्त्र प्रहरी नायव उपरीक्षक शर्माले साहित्यले अभिव्यक्तिलाई सरल र सहज बनाउने धारणा राखे ।

बेसीशहरको लक्ष्मी नारायण पुस्तकालयको सभाहलमा भएको कृति विमोचन कार्यक्रममा लमजुङकासाहित्य अनुरागीहरूको भव्य जमघट थियो । 


सोही अवसरमा रचना वाचन तथा लेखन सीप प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गरिएको थियो । कार्यक्रममा लोक गायक ईश्वरी अधिकारी, पत्रकार आश गुरुङलगायत २० भन्दा बढी सर्जकले आफ्ना रचना प्रस्तुत गरेका थिए । 

सोही कार्यक्रममा छन्द, कविता र त्यसको प्रयोग तथा लेखन सीपका सम्बन्धमा छन्द गुरु प्रा.डा देवी नेपालले प्रशिक्षण दिएका थिए । प्रशिक्षण पछि प्रशिक्षणबाट लेखन सीपका सम्बन्धमा छोटो समयमा नै अद्भुत ज्ञान हासिल भएको सहभागीहरूले बताए ।

पिङ्गल छन्द प्रतिष्ठान बेसीशहर नगरमञ्चका अध्यक्ष रणबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका सदस्य यमबहादुर रिमालले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन साहित्यकार श्यामविक्रम न्यौपानेले गरेका थिए ।

छन्द दिवसकै अवसरमा पिङ्गल छन्द प्रतिष्ठान नेपालको नयाँ समितिसमेत चयन गरिएको छ । भेलाले श्रीकृष्ण न्यौपानेको अध्यक्षतामा ७ सदस्यीय नयाँ समिति समे चयन गरेको हो । कार्यक्रममा ३०० जना साहित्यकार तथा साहित्यप्रेमीहरूको जमघट भएको आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया