राजकुमार घिमिरेः त्रिवेणी क्लवले अध्यक्ष पाएकाे पूर्व उत्कृष्ट खेलाडी

बेसीशहर । लमजुङकाे प्रतिष्ठित त्रिवेणी युवा क्लवले अन्ततः नयाँ नेतृत्व पाएकाे छ । गत भदाै ३० अध्यक्ष लगायत पदाधिकारीमा आकांक्षीहरू बढेपछि र सहमति हुन नसकेपछि अधिवेशन स्थगित भएकाेमा  हालै अध्यक्ष लगायत पदाधिकारीमा सहमति जुटेपछि अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् ।

राजकुमार घिमिरे त्रिवेणी युवा क्लवका संस्थापक सदस्य हुन् । बेसीशहरमा ०४९ सालमा त्रिवेणी युवा क्लव स्थापना भएपछि उनी लामाेसमय उक्त क्लवकाे ए टीमकाे क्याप्टेन भइ विभिन्न प्रतियाेगितामा भाग लिएका थिए । गाेलकिपरकाे परिचय बनाएका उनी त्यतिबेलाका उत्कृष्ट खेलाडी पनि हुन् । त्रिवेणी क्लवले भाग लिएका दर्जनाैं प्रतियाेगितामा उनले क्लवका लागि उत्कृष्ट बचाउ गरे । उनकाे उत्कृष्ट बचाउले त्रिवेणीले थुप्रै प्रतियाेगिता जित्न सफलसमेत भयाे ।


राजकुमारले त्रिवेणी क्लवका लागि २०४९ देखि २०५६ सालसम्म फुटबल खेले । क्लवले स्वर्गिय राजा बीरेन्द्रकाे जन्माेत्सवकाे अवसर पारेर हरेक बर्ष पुस १२ गतेदेखि फुटबल प्रतियाेगिता गर्थ्याे । यसबाहेक लमजुङका विभिन्न ठाउँमा हुने फुटबल प्रतियाेगितामा उनीसहित त्रिवेणी क्लवकाे फुटबल टिम पुगेकै हुन्थ्याे । त्यतिबेला बुद्धिप्रसाद गुरूङ, प्रेमजंग गुरूङ, भरत लामा, गाेपालजंग घले, हिराजंग गुरूङ, कविराज गुरूङ, भरत घिमिरे, राजेश गुरूङ, बिष्णुकुमार श्रेष्ठ, लाेकेन्द्रजंग गुरूङ, युद्धजंग गुरूङ, एण्ड्रयु क्षेत्री, चिजकाजी पिया क्लवका चर्चित फुटबल खेलाडी थिए । अहिलेका प्रदेश सांसद भेषबहादुर पाैडेलसमेत त्यतिबेला त्रिवेणी क्लवबाट फुटबल खेल्थे ।

त्रिवेणी क्लवबाट भलिवलतर्फ भीमबहादुर अधिकारी, दिवाकर(बासु) बरालहरू खेलाडी थिए । माला गुरूङ, बिष्णुमाया गुरूङ, चिनामाया गुरूङलगायत क्लवका युवतीहरू सांस्कृतिक कार्यक्रम गर्थे । जसबाट क्लवका लागि अर्थ संकलनका लागि सहयाेग पुग्थ्याे ।

राजकुमार घिमिरे उत्कृष्ट फुटबल खेल्थे । उनकाे उत्कृष्ट बचाउले दर्शक छक्कै पर्थे । दर्शकदीर्घाबाट उनलाइ सधैं हुटिङ हुन्थ्याे । किप्पर कस्ताे चुम्बक जस्ताे भनेर दर्शकहरू उनकाे पक्षमा हुटिङ गर्थे ।

विपक्षीकाे जस्ताेसुकै प्रहारलाइ पनि उत्कृष्ट ढंगले बचाउ गर्ने उनी आफ्नाे हाउभाउले समेत दर्शकहरूकाे मन जित्थे । गाेलपाेष्ट नजिकै बल लिएर आउने विपक्षी खेलाडीसंग हाउभाउबाटै ठट्टा गरिदिन्थे उनी। गाेलपाेष्टमा विपक्षी खेलाडीले प्रहार गरेकाे बल उनी सहजै समात्थे र त्यसबाट निराश हुने विपक्षी खेलाडीलाइ सान्त्वना दिएजस्ताे गरी उनी  आफूले  समातेकाे बल उसलाइ दिन खाेज जस्ताे पनि गरिदिन्थे । जब बिपक्षी खेलाडी बल प्रहार गर्न दाैडन्थे, उनी बल समाति दिन्थे, समातेकाे बल हातैले विपक्षी खेलाडीलाइ दिउँलाजस्ताे पनि गरिदिन्थे । यसबाट दर्शकदीर्घामा हाँसाेकाे फाेहाेरा उठ्थ्याे, साथै हुटिङ अरू बढ्थ्याे ।

समकालीनहरूमा राजकुमार नामबाट भन्दा पनि  उनी कान्छाकाे नामले परिचित छन् । कतिले उनलाइ "जुंगे कान्छा" कसैले "बुद्धि कान्छा" भनेर चिन्छन् । उनका पिता नेत्रबहादुर घिमिरे बेसीशहरमा जुंगे बुढाकाे नामले चिनिन्थे । निकै आकर्षक जुंगा थिए उनकाे । अझै पनि उनकाे जुंगाकाे चर्चा चलिरहन्छ । बाकाे जुंगाकै कारण राजकुमार जुंगे कान्छा र उनका ठूला दाजु बुद्धिकाे कान्छाे भाइ भएकाले कतिले उनलाइ बुद्धि कान्छाे समेत भन्छन् ।

राजकुमारसंग विगतमा फुटबल खेल्दाका रमाइला यादहरू अझै छन् । २०५० सालसम्म लमजुङका अधिकांश ग्रामीण भेगमा माेटरबाटाे बनेकै थिएन । बेसीशहरबाट पैदल हिँडेर घलेगाउँ, घनपाेखरा, भुजुङ, सिउरूङ, नाल्मा, गिलुङ, घाम्राङसम्म फुटबल खेल्न बेसीशहरबाट खेलाडीहरू पुग्थे । दिनभर हिँडेर लखतरान भएर फुटबल प्रतियाेगिता भएकाे ठाउँमा पुगेर लगत्तै खेल खेल्नु परेकाे र धेरै ठाउँमा जितेर पुरस्कार थापेकाे याद राजकुमारसंग ताजै छन् । एकपटक फुटबल खेल्न तनहूँकाे दमाैली पुग्दा ११ दिनसम्म बस्नु परेकाे र बिखर्ची भएर फर्कनु परेकाे घटना उनलाइ हिजै जस्ताे लाग्छ ।

खबरकुञ्जसंगकाे कुराकानीमा राजकुमारले विगतका यस्ता धेरै सम्झनाहरू सुनाए । धेरै फुटबल प्रतियाेगिता खेलेर जितेकाे स्मरण गर्दै उनले भने– "त्यतिबेला पुरस्कार अहिलेकाे जस्ता नगद हुन्थेन । पहिलाे पुरस्कार कतै खसी, कतै बाेका त कतै कुखुराकाे भाले हुन्थ्याे । हामी प्रतियाेगिता जितेर खसी कुखुरा बाेकेर रमाउँदै फर्कन्थ्याैं । बेसीशहर अाएपछि क्लवका सदस्यहरू, खेलाडीहरू र क्लवलाइ सहयाेग गर्ने दाता, शुभचिन्तकहरूलाइ बाेलाएर जितेकाे त्यही पुरस्कारकाे भाेज गरिन्थ्याे । कतिले थप सहयाेग गरिदिन्थे ।"

कुनै दिन रगत पसिना बगाएकाे त्रिवेणी युवा क्लवकाे अध्यक्ष भएर क्लवलाइ थप गतिशील बनाउने राजकुमारकाे पहिल्यैदेखि धाेकाे थियाे । ढिलै भए पनि उनकाे चाहना पुरा भएकाे छ । हुन त उनी बिचमा विदेशिए । घर ब्यवहार चलाउन लाखाैं नेपाली विदेशिएका बखत उनी पनि ०५७ सालतिर दुबइ छिरे । त्यसपछि मकाउ गएका उनी त्यहा पनि केही बर्ष बसेर अहिले स्वदेश फर्किएका छन् । स्वदेशमै केही गराैं भनेर वैदेशिक राेजगारीलाइ बिट मारेका उनी अहिले ब्यवसाय, राजनीति र समाजसेवालाइ संगै अघि बढाइरहेका छन् । 

बेसीशहरकाे वडा नंं ७ मा रहेकाे युनिभर्सल बाेर्डिङ नजिकै उनकाे घर छ । घरमा किराना पसल चलाएका छन् । यसबाहेक उनी राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भइ बेसीशहर वडा नं. ७ काे सभापति समेत बनेका छन् । समाजसेवा संगसंगै गरिरहेका छन् ।

विदेशमा रहँदा समेत त्रिवेणी युवा क्लवप्रतिकाे उनकाे माेह भंग हुन सकेन । उनी विदेशमै रहेर पनि क्लवकाे उत्थानमा लागि परे । क्लवले हरेक बर्ष आयाेजना गर्ने त्रिवेणी कप फुटबल हाेस् वा अरू नै कुनै कार्यक्रम, विदेशमै रहेर पनि उनले क्लवका लागि चन्दा संकलन देखि आवश्यक अरू धेरै काम पनि गरे ।

त्रिवेणी क्लव लमजुङमा मात्रै नभइ देशकै प्रतिष्ठित क्लव हाे । लमजुङमा याे क्लव फुटबलकाे पर्याय मानिन्छ । फुटबलमा चम्किएकाे त्रिवेणी राष्ट्रिय लिगसमेत खेल्न पाएकाे क्लवसमेत हाे । लमजुङमा मात्र नभइ देशैभरि याे क्लवकाे नाम चर्चामा छ । क्लवलाइ थप गतिशील बनाएर पुनः राष्ट्रिय लिगमा फर्काउने राजकुमारकाे धाेकाे छ । यसबाहेक नयाँ खेलाडी उत्पादन गर्ने र नयाँ पुस्तालाइ फुटबल खेलतर्फ आकर्षित गराउने, त्रिवेणी रंगशालाकाे स्तराेन्नति गर्ने उनकाे धाेकाे छ । यसबाहेक त्रिवेणी युवा क्लवले लमजुङमा सर्वाधिक पुरस्कार राशीकाे फुटबल खेलाइरहेकाेमा यस बर्ष पहिलाे पुरस्कार राशीलाइ ५ लाखबाट बढाएर ८ लाखसम्म पुर्याउने उनले याेजना बनाइरहेका छन् ।

प्रतिक्रिया