सुन्दरबजार, भदौ १६ गते । लमजुङको दोस्रो ठूलो शहर तथा ब्यापारिक केन्द्र सुन्दर बजारमा साप्ताहिक शनिबारे कृषि हाटबजार शुरु भएको छ । हाटबजारको पहिलो दिन उत्साहजनक रुपमा स्थानीय किसानहरुले आफ्ना कृषि उपज बिक्रीका लागि ल्याएका थिए ।
सुन्दरबजारमा एक दशक अघि बन्द भएको हाटबजार शनिबार पुनः सञ्चालनमा आएको हो । सुन्दरबजारको एभरेष्ट साकोस, सुन्दरबजार नगरपालिका , ग्रामीण सामुदायिक बिकास केन्द्र आरसिडिसि÷वल्र्ड भिजन , सुन्दरबजार वडा नम्बर ७ को कार्यालय, सुन्दरबजार नगरपालिकाको कृषि बिकास शाखा, लमजुङ कृषि क्याम्पस, सुन्दर बजार चेम्बर अफ कमर्स र लउबा संघ सुन्दर बजार इकाईको सहयोग तथा सहकार्यमा हाटबजार पुनः सञ्चालन भएको हो ।

स्थानीय कृषि उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ शुरु भएको साप्ताहिक हाटबजारमा पहिलो दिन ३२ जना स्थानीय किसानले आफ्ना कृषि उत्पादन विक्रीका लागि ल्याएका थिए । हाटबजारको पहिलो दिन ७५ हजार रुपैयाँको कारोबार भएको हाटबजार ब्यवस्थापन समितिका अध्यक्ष बिष्णुकुमार श्रेष्ठले जानकारी दिए ।
सुन्दरबजारकोे एभरेस्ट साकोसको कार्यालय रहेको भवनको आडैमा प्रत्येक शनिबारबाट कृषि हाटबजार लाग्न थालेको हो । हाटबजारको सुन्दर बजार नगरपालिकाका प्रमुख मेयर कृष्ण प्रसाद कोइरालालेले शनिबार उद्घाटन गर्दै कृषि हाटबजारले किसानहरुले उत्पादन गरेको शुद्ध। ताजा र गुणस्तरीय कृषि उपजहरु उपभोक्ताले सुलभ मूल्यमा उपभोग गर्न पाएकामा खुशी ब्यक्त गर्दै हाटबजारको प्रबद्र्धनमा नगरपालिका भूमिका खेल्ने बताए ।

आरसिडिसीका अध्यक्ष राजेन्द्र बोहोराले किसानहरु अब व्यावसायिक हुनु पर्नेमा जोड दिदै यसका लागि स्थानीय तहले कृषिको विकास र किसानहरुको आय आर्जनमा बिशेष भुमिका खेल्नुपर्ने बताए । उनले किसानहरुलाई ब्यवसायीक बनाउन र उत्पादित कृषि उपजको बजारीकरणका लागि आफ्नो संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सुन्दरबजार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष जयराम रेग्मीले वडा कार्यालयले किसानको हितलाई मध्यनजर गर्दै हरेक बर्ष प्राथमिकताका साथ बजेट तर्जुमा गर्दै आएको स्मरण गर्दै हाटबजारलाई दीगो रुपमा सञ्चालन गर्न सहकार्य गर्ने प्रतिबद्ध जनाए ।
कार्यक्रमका अध्यक्ष एभरेष्ट साकोसका अध्यक्ष रामबाबु श्रेष्ठले हाटबजारले कृषि उपजको बजारीकरणमा सहयोग पुग्ने र किसानले उचित मुल्य पाएपछि किसानको बचत गर्ने बानीको विकास हुने र उनिहरुको जीवन स्तरमा समेत सुधार हुने अपेक्षा लिइएको बताए ।


कार्यक्रममा किसान सुन्दर बजार नगरपालिका १० धुसेनिका तीर्थ मिश्र , वडा नंं ४ सत्रसयका किसान मदन खनिया , वडा नंं ६ का किसान रामचन्द्र नेउपानेले किसानको उत्पादन सहज रुपमा ओसारपसार गर्न कृषि एम्बुलेन्स, शीत भण्डार र पालिका बाट समर्थन मुल्य दिइनु पर्नेमा जोड दिएका थिए ।
स्थानीय कृषि उपजको उचित बजारीकरण, किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने वाताबरण बनाउन, बिषादिरहित र बाताबरण मैत्री कृषि उत्पादनमा जोड दिने, हाट बजारको माध्यमबाट स्थानीय स्तरमा कृषि उत्पादनमा वृद्धि गरि कृषि संकलन केन्द्र, कृषि हाटबजार, कृषि शीत भण्डार र कृषि उधोगको स्थापानाको आधारशीला खडा गर्ने उद्देश्य रहेकाे हाटबजार ब्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।


हाटबजार सञ्चालन भएपछि किसानले उत्पादनकाे उचित मूल्य पाउने र किसानबाट उत्पादित कृषि बस्तु सजिलै संग उपभोक्ताले खरिद गरि उपभोग गर्न पाउने र यसबाट किसानको जीवन स्तर सुधार र उपभाेक्ताले सुलभ मूल्यमा कृषि उपज पाउने भएपछि उपभाेक्ता र किसान दुवै पक्ष हाटबजारबाट लाभान्वित भएका छन् ।


खबरकुञ्ज