प्रकृति र मर्स्याङदी जोगाउने बिषय रास्वपाको पनि साथ समर्थन

खबरकुञ्ज

बेसीशहर, मंसिर ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय प्रवक्ता मनिष झाले मर्स्याङदी नदी लमजुङको लाइफलाइन रहेको चर्चा गर्दै लमजुङमा प्रकृति र मर्स्याङदी जोगाउने बिषय रास्वपाको पनि साथ समर्थन रहने बताएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी बेसीशहर वडा नं. ३ र ९ को संयुक्त अधिवेशनलाई शनिबार बेसीशहरमा सम्बोधन गर्दै झाले स्थानीय सरोकारका बिषयमा रास्वपाा सधैं जनताको पक्षमा रहेको बताए । मान्छेको भीड देखेर तर्सनेहरुले राजनीति नगरे हुने हुन्छ भन्दै उनले मस्र्याङदी जोगाउन बेसीशहरका युवा र आमा समूहको सक्रियताको सरहना गरे ।

प्रमुख अतिथि झाले रास्वपामा दैनिक सयौं ब्यक्ति प्रवेश गर्ने लहर चलेकाले एकदुई जनाले पार्टी छोड्दैमा चिन्ता लिनु नपर्ने बताए । उनले नेकपा एमालेलाई सामान्य कार्यकर्ता उतार्न पनि ३ लिटर तेलका साथमा मासु भात बाँड्नु परेको भन्दै दैनिक सयौं जना ब्यक्ति रास्वपामा प्रवेश गर्नुले रास्वपा कोल्याप्स भयो भन्नेहरुलाई गतिलो झापड भएको बताए । 

प्रवक्ता झाले जनता रिझाएर समाजमा सम्बन्ध स्थापित गर्न नेता कार्यकर्तासंग आग्रह गरे । समाजमा प्रभाव पर्ने राम्रा काम गर्न पैसा नै खर्च गर्न नपर्ने र विपक्षीहरुले पनि गाली गर्न नसक्ने काम भन्दै उनले गाउँघर र शहरमा सरसफाइ गर्ने, पुस्तक बाँड्ने, विकास निर्माणका काममा सघाउन कार्यकर्तालाई आग्रह गरे । 

उनले आन्दोलन, क्रान्ति र विद्रोह फरक हुने भन्दै गत भदौ २३ मा जेनजीहरुले विद्रोह गरेको बताए । एक दिनको असन्तुष्टिले उक्त विद्रोह नभएका भन्दै उनले ३५ बर्षदेखि जनतामा सुसुप्त अवस्थामा रहेको असन्तुष्टिको विष्फोट नै जेनजी विद्रोह भएको टिप्पणी गरे । 

उनले भने–“नेताहरुमा लोभ पलायो, देशका लागि भन्दा श्रीमति छोराछोरीका लागि राजनीति गरे, विश्वविद्यालयका उपकूलपति, रजिष्ट्रार, न्यायाधीश, प्रहरी प्रमुख आदि नियुक्तिमा मात्र चिन्ता देखाएकाले अहिलेको अवस्था आएको हो ।” उनले भोलिका दिनमा पनि राजनीतिक दल र नेताले यस्तै गरे फेरि अर्को विद्रोह हुन सक्ने चेतावनी दिँदै अब देशको परिवर्तन संस्थागत गर्न, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनको विकासमा बहस हुनुपर्ने बहस गर्नुपर्ने आवश्यकता औंल्याए ।

शालीन एवं भद्र नेताको रुपमा परचित नेता झाले बहुदलीय ब्यवस्था रहेकाले नै रास्वपाको जन्म सम्भब भएकोले रास्वपा सदैव यस ब्यवस्था प्रति बफादार रहेको चर्चा गदै राजनीतिक रुपमा पार्टीमा भए पनि कृष्णप्रसाद विपी कोइराला, कृष्णप्रसाद भट्टराई र मदन भण्डारीलाई नबिर्सन आग्रह गरे । 


प्रवक्ता झाले १० बर्षपछिको लमजुङेको प्रति ब्यक्ति आय कति हुने ? भन्ने योजना अहिल्यै बनाउन र त्यसका लागि कृषि र पर्यटन क्षेत्रको पुनर्संरचनामा जोड दिए । उनले अहिलेको परम्परागत कृषि हातमुख जेर्ने माध्यममात्र भएकाले धनी बन्न ब्यवसायिक कृषिको विकास र नयाँ पर्यटकय करिडोरको क्षेत्रमा नयाँ सोच राख्न अनुरोध गरे । 

सो अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बेसीशहर नगरपालिकाका दुईवटा वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । वडा नंं ३ को अधिवेशनले नारायण घिमिरेको सभापतित्वमा र वडा नंं ९ मा श्याम अर्यालयको सभापतित्वमा वडा कार्य समिति निर्वाचित गरेको हो ।

अधिवेशनले वडा नंं ३ को उपसभापतिमा ईन्द्र बहादुर थापा, सचिवमा राजकुमार भण्डारीलाई निर्वाचित गरेको छ । नवनिर्वाचित वडा समितिका सदस्यहरुमा टेक बहादुर थापा, हरि बहादुर  थापा, सीता श्रेष्ठ, रामबहादुर परियार, सिर्जना परियार, बुद्धिबहादुर अधिकारी र रामजी दुलाल रहेका छन् ।


वडा नंं ९ को उपसभापतिमा सन्तोष गुरुङ, सचिवमा जुना थापा र सदस्यहरुमा तोपबहादुर गुरुङ, सन्तोष गुरुङ, तुलबहादुर दुलाल, बिमाया परियार, जुनराज श्रेष्ठ, राजकुमार परियार, महेन्द्र अर्याल, रामबहादुर खत्री र बम बहादुर अधिकारी निर्वाचित भएका छन् ।

कार्यक्रममा पूर्व प्रशासक समेत रहेका तीर्थबहादुर अधिकारी लगायत दर्जनौ ब्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए । नव आगन्तुकहरुलाई पार्टीका केन्द्रीय प्रवक्ता मनिष झा, केन्द्रीय संगठन विभागका सदस्य धर्म केसी, जिल्ला सभापति अशोक सापकोटालगायतले पार्टीको चुनाव चिन्ह घण्टी अंकित ब्याज लगाईदिएर पार्टीमा स्वागत गरेका थिए ।




प्रतिक्रिया