साहित्यकार न्यौपानेको १२ औं कृति मेरो बोराङ सार्वजनिक

खबरकुञ्ज

बेसीशहर, असार ३ गते । धाराबाहिक रुपमा काब्य सिर्जनामा तल्लीन लमजुङका प्रखर साहित्यकार, कवि एवं पिङ्गल छन्द प्रतिष्ठान नेपालका अध्यक्ष श्रीकृष्ण न्यौपानेले आफ्नो बाह्रौँ कृति सार्वजनिक गरेका छन् । 

न्यौपानेले पछिल्लो पटक आफ्नो पैतृकथलोको गाथा बोकेको मेरो बोराङ नामक खण्डकाव्य शनिबार सार्वजनिक गरेका हुन् । झण्डै आधा शताब्दीदेखि नेपाली छन्द साहित्यको जगेर्नामा क्रियाशील साहित्यकार न्याौपानेको यो पाँचौँ प्रकाशित खण्डकाव्य हो । 

साहित्याकार न्यौपानेले आफ्नो पैतृक थलो बोराङ गाउँको सेरोफेरोलाई नै कथा र प्रकृतिलाई नै पात्र बनाएर खण्डकाब्यको रचना गरेका हुन् । खण्डकाव्यमा उनले अनुपम पहाडी प्रकृतिको काखमा रहेकोे सुन्दर गाउँ बोराङको परिवेशलाई सजीव ढंगले प्रस्तुत गरेका छन् ।

विभिन्न १० शीर्षकमा समेटिएको मेरो बोराङ खण्डकाव्य शशिवदना छन्दमा लेखिएको छ । यसमा ३२० श्लोक छन् ।

खण्डकाव्यमा दोलखा जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी, साझा प्रकाशनका पूर्व महाप्रबन्धक एवं ऐतिहासिक छन्द कवि प्रह्लाद पोखरेलले भूमिका लेखेका छन् । भूमिका लेख्ँदै पोखरेलले साहित्यकार न्यौपानेका सिर्जनाहरूमा सङ्ख्यात्मक आधिक्य मात्रै नभएर गुणात्मक गुदी पाइने उल्लेख गरेका छन् । 

भूमिकामा उनले थप लेखेका छन्-“परम्परागत काव्यलेखनको शैली र प्रक्रियालाई चुनौती दिँदै नयाँ ढङ्गको प्रस्तुतिमा पाठकहरूलाई डुलाउने काम कविले गर्नुभएको छ । विगत केही वर्षदेखि साहित्यकार न्यौपानेको लेखन र प्रकाशनको गति हेर्दा साहित्यिक परिवेशका व्यक्तित्वहरू आश्चर्यमय खुसी व्यक्त गरिरहेका छन् । यस्तो आशुकवित्वपूणर् द्रुत लेखन महाकवि देवकोटाबाहेक अरूमा पनि हुन सक्ने रहेछ !”

खण्डकाब्यलाई शुभकामना दिँदै सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले शशिवदना छन्दमा खण्डकाव्यको निर्माण आफैँमा ऐतिहासिक कार्य भएको बताउँदै तुलनात्मक रूपमा अलिक लामा आकारका छन्दमा मात्रै काव्यात्मक सङ्कथनले पूणर्ता पाउँछ भन्ने मान्यतालाई प्रस्तुत खण्डकाव्यले चनौति दिएका उल्लेख गरेका छन् ।

प्रतिक्रिया