बाबुकाे किरयासंगै कार्यालयकाे काम गर्दै दूधपाेखरीका लेखा अधिकृत घिमिरे

मिलन शर्मा दनाई

बेसीशहर, असार २२ गते । आर्थिक बर्ष सकिनै लागेकोले यतिबेला सरकारी कार्यालयहरुमा असाध्यै चाप छ । बिशेषगरी यो आर्थिक बर्षभरि सञ्चालन भएका योजनादेखि कार्यालयमा हुने अन्य थुप्रै काम कारबाहीका भुक्तानी दिने म्याद सकिन केही दिनमात्रै बाँकी छ ।

सरकारी कार्यालयमध्ये पनि स्थानीय निकायहरुको भ्याइ नभ्याइ उस्तै छ । बर्षभरि सञ्चालन भएका योजनाको बाँकी भुक्तानी लिन पालिकाहरुमा सरोकारवालाहरुको भीड छ । कार्यालयका प्रमुखलाई तोक लगाउँदैमा र लेखा अधिकृतलाई भुक्तानी दिन भ्याइ नभ्याइ छ । 

तर लमजुङको दूधपोखरी गाउँपालिकाका लेखा अधिकृत नरेन्द्रराज घिमिरेको ब्यस्तता अरुको भन्दा बढी छ । आर्थिक बर्षको अन्त्यका बेला यसै त कामको चाप बढ्ने नै भयो, त्यसमाथि उनलाई यसै बेला पितृ शोक परेको छ । उनका पिता राइनास नगरपालिका -१ साहिँलीटार निवासी दुर्गा भक्त घिमिरेको ८२ बर्षको उमेरमा गत असार १९ गते निधन भयो । हाल उनी पिताको किरीया कर्मका लागि घरमा छन् ।

बुबाको किरियामा रहे पनि उनले कार्यालयको काम छोडेका छैनन् । सामन्यतयाः किरियापुत्रीले किरियाकर्म बाहेक अन्य काम गर्न हुँदैन भनिन्छ । तर घिमिरेले यतिबेला कार्यालयको काम नगर्ने हो भने कतिको जहाजै डुब्छ । कार्यालयबाट सम्पादन हुने कयौं योजनाको भुक्तानीदेखि कार्यालयका कर्मचारीहरुको तलबभत्ता समेत रोकिन्छ ।

लेखा अधिकृतको पदीय जिम्मेवारीले घिमिरेले घरबाटै कार्यालयको काम गरिरहेका छन् । उनले भने- “जनताको सेवा प्रवाहमा असर नपरोस् भनेर घरबाटै भए पनि नियमित रुपमा कार्यालयको काम गरिरहेको छु ।”

घिमिरे भन्छन्- “आर्थिक वर्ष सकिन लाग्ने बेला विकास निर्माणका योजनाको भुक्तानी, कर्मचारीको तलब लगायत अरु धेरै महत्वपूर्ण कामहरू प्रभावित नहुन भनेर यो दुःख र शोकको घडिमा पनि घरबाट नै नियमित काम गरेको हूँ ।” 

कार्यालयको लेखासँग सम्बन्धित सबै काम घिमिरेकै जिम्मामा हुन्छ । उनको अनुपस्थितिले कार्यालयका दैनिक कामकाज प्रभावित त हुनेनै भयो । तर प्रविधिको सहयोमा घरबाटै कार्यालयको काम गर्न पाउँदा सन्तोष लागेको उनले बताए ।

किरियामा बसेका घिमिरेलाइ गाउँपालिकाकाे कार्यालयले घरमै आवश्यक फाइलहरू लगिदिएकाे छ । ती फाइल र बिल भरपाइहरू हेरेर उनले घरबाट इन्टरनेटकाे माध्यमले भुक्तानी गरिरहेका कार्यालय श्राेतले बतायाे । दूधपाेखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाबहादुर गाेदारले  लेखा अधिकृत किरियामा रहे पनि उनले सम्पादन गर्नु पर्ने काम घरबाटै गरिरहेका र कुनै पनि काम नराेकिएकाे जानकारी दिए ।

हुन त सरकारी नियम अनुसार उनले पिताको किरियाका लागि १५ दिनको विदा पाउँछन् । यो विदामा उनलाई काम गर्न पर्दैन । तर आर्थिक बर्षको समाप्तीका बेला उनले काम नगर्दा कार्यालयबाट हुनु पर्ने भुक्तानी रोकिएर धेरै समस्या आउन सक्ने भएकाले घरबाटै भए पनि कार्यालयको काम गरेको उनले बताए ।

प्रतिक्रिया