राणाशासनकाे जग हल्लाउने त्याे ऐतिहासिक हलाेक्रान्ति

मिलन शर्मा दनाई

लमजुङ । बि.सं २००६ साउन ११ गते । आज भन्दा ७६ बर्ष अघि आजकै दिन पश्चिम ३ नम्बर (हालको लमजुङ) दुराडाँडामा आजकै दिनले समाज र सिंगै देशमा उथलपुथल ल्याएको  थियो ।

उचनिच र जातपातको चर्को वकालत हुने तत्कालीन समाजमा ब्राह्मणहरू प्रतिष्ठित वर्ग कहलिन्थे । त्यही समाजका प्रतिष्ठित वर्गले हलो जोत्दा समाजमा उथलपुथल हुनु स्वभाविकै थियो । तर हलो जोतेपछि तिनै ब्राह्मणहरूले भोग्नु परेको सामाजिक बहिष्कारणको कुरा गरि साध्यै छैन । एकातिर समाजको हेलाहोचो, अर्कोतिर तत्कालीन राणा शासकले दिएको सास्ती । त्यतिबेला हलो जोत्ने ब्राह्मणहरूले निकै दुःख पाए । हलो जोत्नु ब्राह्मणहरूको न रहर थियो, न त बाध्यता नै ।  समाजका उच्च वर्ग भएर पनि किन हलो जोते त ब्राह्मणहरूले रु कारण थियो सामाजिक जागरण ।

हलो जोतेकामा राणा शासकहरूको तारो बनेका दुराडाँडाका ब्राह्मणहरूलाइ गाउँघरमै बसिनसक्नु भयो । गाउँमा उनीहरूलाइ अछुतको ब्यवहार भयो । उनीहरूको भात पानी बारियो ।  त्यतिबेलाका ठूलाठालुका घरमा पस्न त के, घरवरिपरि ढिम्किन पनि पाएनन् हलो जोत्नेहरूले । जस जसले त्यतिबेला हलो जोतेका थिए, उनीहरूकहाँ भारोपर्म गर्न पनि गाउँलेहरू गएनन् । एक हिसाबले उनीहरूलाइ गाउँ बारियो, उनीहरूको छोरा छोरीको बिवाह नै रोकियो । माइत गएका छोरीहरू घर फर्कन पाएनन्, छोरीहरूको माइती बिरानो भयो । एक हिसाबले समाज अस्तव्यस्त भयो । हलो जोते पछि जोत्ने र नजोत्नेहरूबीच दाजुभाइ, साथीसंगीको सम्बन्ध पनि टुट्यो ।

जोत्नेहरूले त हदैसम्मको दुःख पाए तर, जोतेको हेर्ने देख्नेहरूले समेत त्यतिबेला निकै दुःख पाए । कतिले त मैले त देखिन, म त त्यहाँ गएकै थिइन भनि ढाँटेर काम चलाए । 

ब्राह्मणवाद तथा जातीय भेद्भावसँगै हली प्रथा अन्त्यको लागि दुराडाँडा अर्चल्यानीका पण्डित तोयानाथ अधिकारीको अगुवाइमा त्यहीको बाटेगरामा पहिलो पटक ब्राह्मणहरूले हलो जोतेका थिए । तोयनाथलाइ लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारीलगायत २७ जनाले साथ दिएका थिए ।

राणाशासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेमध्ये अगुवा तोयनाथ र श्रीकान्तलाइ पोखरा गोश्वारामा पक्रेर लग्यो । गोश्वारामा केही दिन उनीहरूलाइ केरकार गरियो । तोयनाथले शास्त्रमा ब्राह्मणले जोत्न हुन्न भनेर कहीँ नलेखेको तर्क दिएपछि उनीहरूलाइ तारेखमा छोडियो । 

गोश्वाराबाट छुटे पनि ब्राह्मणवाद हावी रहेको तत्कालीन समाजमा हलो जोत्नेहरूको आलोचना हुन छोडेन । वेद, शास्त्र पढ्ने बाहुन भएर हलो जोतेको भन्दै त्यतिबेला दुराडाँडाका हलो जोत्नेहरूलाइ उल्लाउनुसम्म उल्याए । 

शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे, 

तोयनाथ पण्डित हलो जोति बिग्रे

हलो जोत्ने मुख्य यिनै तीनजना हुन्,

हलो जोति खालान् पाथीभात बाहुन् ।।

दुराडाँडाका तत्कालीन ब्राह्मणहरुले हलो जोतेर ठूलो काम भन्दा पनि सामाजिक जागरणको विगुल फुकेका थिए । हलो जोतेर झण्डै जात फाल्न रहर थिएन उनीहरुलाई । दलितहरुले मात्र हलो जोत्ने होइन, हलो जोत्न सबैले हुन्छ,, हलो जोत्ने मान्छे सानो हुँदैन भन्ने भावना समाजमा फैलाउनु नै उनीहरुको ध्येय थियो । पछि तनहूँ र देशका अन्य भागमा पनि ब्राह्मणहरु हलो जोत्न थाले । विस्तारै यसले आन्दोलनको रुप लियो र राणा शासनको जग हल्लाई दियो । 

२००७ सालमा देशमा प्रजातन्त्र आएपछि बिस्तारै हलो जोत्नेहरूको पक्षमा समाज नरम बन्दै गयो । प्रजातन्त्र आएपछि धनी गरिब, ठूलो र सानो बीचको दूरी केही कम भयो । विस्तारै हलो जोत्ने ब्राह्मणहरूले अपराध गरेको नभै क्रान्ति  गरेको भन्ने कुरा स्थापित हुँदै गयो र सबै कुरा पहिले जस्तै सामान्य हुँदै गयो ।

उक्त हलो क्रान्ति भएको अहिले ७६ बर्ष पुरा भएको छ । हरेक बर्ष आजको दिनलाइ हलोक्रान्ति दिवसका रूपमा मनाइन्छ । हलोक्रन्तिका नायक पण्डित तोयनाथको स्मृतिमा लमजुङमा हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठान गठन भएको छ । प्रतिष्ठानले हरेक बर्ष साउन ११ गते अर्चल्यानीको बाटेगरामा पण्डित तोयनाथको स्मरण गर्दै विविध कार्यक्रमको आयोजना गर्छ ।

अहिले हलाेक्रान्तिकाे नायकहरू काेही पनि जिवित छैनन्, तर उनीहरूले समाज रूपाान्तरणका लागि खेलेकाे भूमिका चिरकालसम्म रहिरहने छ । ब्राह्मणहरूले हलाे जाेतेर जातीय र सामाजिक क्रान्तिकाे विगुल फुकेकाे त्याे दिन हलाेक्रान्तिकाे नामले इतिहासमा अमर बनेकाे छ ।


प्रतिक्रिया