बेसीशहर । लमजुङ कारागारबाट गएराती दुइजना कैदी फरार भएका छन् ।
बेसीशहर नगरपालिकाकाे वडा नंं ८ मा रहेकाे जीर्ण कारागारबाट गएराती मध्यरातमा ती कैदीहरू फरार भएका हुन् ।
फरार हुनेमा लमजुङकाे मध्यनेपाल नगरपालिका वडा नंं ४ का विनाेद वि.क र गाेरखा चुमनुब्री गाउँपालिका ३ का चन्द्रबहादुर गुरूङ छन् ।
विक जबर्जस्ती करणी र डाँका चोरी र गुरुङ ठगी मुद्दामा कैद भुक्तान गर्दै थिए । विक २०७९ साउन २४ र गुरूङ २०८० बैशाख ३१ गते ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा थिए ।गएराती अरू कैदी सुतेकाे बेलामा उनीहरू कारागारकाे अावास भवनकाे उत्तर पश्चिमतर्फकाे पर्खाल नाघेर फरार भएका बताइएकाे छ ।
गएराती २ बजे प्रहरीको डिउटी परिवर्तन हुने समयमा उनीहरू फरार भएकाे थाहा पाएको लमजुङ कारागारका जेलर कमलपति अधिकारीले जानकारी दिए ।
फरार कैदीकाे खाेजी भइरहेकाे जानकारी दिँदै उनले कैदी कसरी र कतिबेला भागे भन्ने अनुसन्धान भइरहेकाे जानकारी दिए ।