गत चैत २३ गतेदेखि शुरू भएकाे ८ औं लमजुङ महाेत्सव थप २ दिन सञ्चालन हुने भएकाे छ । बैशाख ३ गतेसम्म सञ्चालन हुने भनिएकाे महाेत्सवमा पछिल्ला दिन दर्शकहरूकाे भीड बढ्न थालेपछि दुइ दिन समय थप गरिएकाे हाे ।
महाेत्सवका शुरूका दिनमा दर्शककाे खासै चाप नदेखिए पनि पछिल्ला दिन महाेत्सवमा दर्शककाे उत्साहजनक सहभागिता हुन थालेकाे छ । राम्रा र नाम चलेका कलाकारहरूकाे प्रस्तुति रहने दिन दर्शककाे भीड हुने गरेकाे छ । सबै भन्दा धेरै दर्शक बैशाख १ गते देखियाे । बैशाख २ गतेसमेत उल्लेख्य दर्शक भित्रिएपछि बैशाख ३ गते साेमबार समापनकाे कार्यक्रम राखिएकाे महाेत्सव थप २ दिन लम्बाइएकाे छ ।

लमजुङको जलविद्युतलगायत क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्ने, पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउन र आर्थिक मन्दिको प्रभावले सुस्ताएको ब्यापार ब्यवसाय र पर्यटनलाई पुरानै अवस्थामा फर्काउन महोत्सव गरिएकाे हाे ।
महोत्सवमार्फत जिल्लामा सञ्चालित होमस्टे, परम्परागत सीप र हस्तकलाको प्रबर्धन, कला, संस्कृति, साहित्य, गीत संगीतको जर्गेना गर्ने लक्ष्य लिइएको छ ।
लमजुङ महोत्सवमा विभिन्न लोक सांस्कृतिक प्रदर्शनी, परम्परागत खाना महोत्सव, राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति, लोक दोहोरी, नाटक, कृषि, पुष्प तथा जडिवुटी प्रदर्शनी, फोटो तथा बृत्तचित्र प्रदर्शनी, वाल उद्यान लगायतका आकर्षण छन् ।
महाेत्सवमा दिनहूँ ख्यातिप्राप्त कलाकारहरूकाे दैनिक प्रस्तुति राखिएकाे छ । लाेक स्वर सम्राट राजु परियार, शिव परियार, प्रमाेद खरेल, टीका सानु, रामजी खाँड, सम्झना भण्डारी, चिज गुरूङ जस्ता ख्यातिप्राप्त कलाकारले महाेत्सवमा प्रस्तुति दिइसकेका छन् ।
बैशाख ३ गते महाेत्सवमा श्याम राना, राजु RD लगायतका कलाकारले रमाइलाे प्रस्तुति दिने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पाैडेलले उद्घाटन गरेका महाेत्सवमा राखिएका स्टलहरूमा समेत राम्राे ब्यापार भइरहेकाे स्टलका सञ्चालकहरूले बताएका छन् । दैनिक ५० हजारदेखि दुइलाख रूपैयाँ सम्मकाे ब्यापार भइरहेकाे पाेखराकाे तेर्सापट्टीबाट तन्ना, सिरककाे खाेल, लगायतका सामन बिक्री गर्ने एक ब्यापारीले बताए ।
महाेत्सवका स्टलमा राती ८ बजेसम्म पनि राम्रै ब्यापार भइरहेकाे छ । घरायसी प्रयाेगका सामानहरू सुलभ मूल्यमा पाइएकाले महाेत्सवमा ग्राहकहरूकाे भीड जम्मा भएकाे छ ।