नेविसंघले लगायाे लमजुङ कृषि क्याम्पसमा ताला, बिद्यार्थीहरूलाइ फसाउन खाेजिकाे आराेप

बेसीशहर, फागुन ६ गते । लमजुङको सुन्दरबजारमा रहेको लमजुङ कृषि क्याम्पसमा गत माघ २७ गते भएको घटनाका सम्बन्धमा गलत नियतकासाथ नेविसंघमा आवद्ध विद्यार्थीहरुलाई फसाउन खोजिएको भन्दै नेपाल विद्यार्थी संघले क्याम्पसमा तालाबन्दी गरेको छ ।

नेपाल विधार्थी संघले लमजुङ कृषि क्याम्पसमा अध्ययनरत १५ जना विधार्थी माथि राजनीतिक पूर्वाग्रह राखेर झुठा मुद्दा दर्ता गरि विधार्थीहरुलाई मानसिक तनाव दिने कार्य गरिएको भन्दै साे कार्यकाे खेद ब्यक्त गरेकाे छ । नेविसंङले संघमा आवद्ध विद्यार्थीहरुलाई फसाउन अनेरास्ववियू, नेकपा एमाले र क्याम्पसका केही प्राध्यापकहरूकै मिलेमताेमा षडयन्त्र गरिएको आराेप लगाउँदै प्रहरी प्रशासन र क्याम्पस प्रशासनको ध्यानाकर्षण समेत गराएको छ ।

संघले आइतबार क्याम्पस प्रशासन तथा जिल्ला प्रहरी कार्यालयमा पुगी घटनाको सत्यतथ्य छानवीन गरी दोषीउपर कारबाही गर्न ध्यानाकर्षण गराएको हो । 

नेविसंघले आइतबार विज्ञप्ती प्रकाशित गरी विगतमा लमजुङ क्याम्पसमा भएका दोहोरो झडपहरुमा क्याम्पस प्रशासन आफैले अध्ययन गरी प्रतिवेदन तयार पारेर आवश्यक कारबाही गर्ने गरेको स्मरण गराउँदै यस पटक पनि क्याम्पस प्रशासनले कुनै प्रतिशोध नराखी निष्पक्ष छानवीन गरी त्रि.वि. नियमावली अनुसार कारबाही अघि बढाउनसमेत माग गरेको छ ।

त्यस्तै क्याम्पसले प्रदान गर्ने शैक्षिक एवं प्रशासनिक सेवा प्रभावकारी बनाउनका लागि सम्पूर्ण शिक्षक, विद्यार्थी एवं कर्मचारीको दैनिक समय तालिका सार्वजनिक गर्न, प्रयोगशाला अभ्यासका लागि अपुग सम्पूर्ण शैक्षिक सामग्री उपलब्ध गराउन, शुद्ध खानेपानी एवं ब्यवस्थित शौचालयको ब्यबस्थापन गर्न पनि माग राखेको छ ।

नेविसंघले क्याम्पसमा अध्ययनरत छात्राहरुको संख्या धेरै भएपनि छात्राबासको पर्यप्त सुविधा नभएकाले क्याम्पस परिसरभित्रै आवासीय सुविधा प्रदान गर्न र भर्नाका क्रममा इन्टरनेटको शुल्क लिने गरिए पनि विद्यार्थीहरुले त्यसकोप्रयोग गर्न नपाएको क्याम्पसमा निःशुल्क इन्टरनेटको ब्यवस्था गर्न माग गरेको छ । माग पुरा नभए क्याम्पसमा लगाएको ताला नखोल्ने नेविसंघले जनाएको छ ।


गत माघ २७ गते लमजुङ क्याम्पसमा पढ्न आएका नयाँ विद्यार्थीलाई आफ्नो पक्षमा पार्ने क्रममा नेविसंघ र अनेरास्ववियूबीच झडप हुँदा अनेरास्ववियूका १५ विद्यार्थी घाइते भएका थिए । त्यसयता क्याम्पस बन्द रहँदै आएको छ ।

अनेरास्ववियूले घटनामा संलग्न भएको भन्दै सो क्याम्पसमा अध्ययनरत नेविसंघ सम्बद्ध १५ जना विद्यार्थीलाई कारबाही गर्न प्रहरीमा किटानी जाहेरी दिएपछि नेविसंघले उपर्युक्त माग राख्दै क्याम्पसमा तालाबन्दी गरेको हो ।

नेविसंघले गलत नियत राखेर क्याम्पस प्रशासन , केही प्रा्रध्यापक र अनेरास्ववियूको मिलेमतोमा क्याम्पसका ईमान्दार विधार्थीहरुलाई षड्यन्त्र पूर्वक फसाउने नियोजित षडयन्त्र भएको दावी गर्दै आएको छ ।

अनेरास्ववियूले भने लमजुङ कृषि क्याम्पसको होस्टेलमा निहत्था अवस्थामा रहेका विद्यार्थीहरुमाथि नेविसंघका विद्यार्थीहरुले रड, सिसाको बोतल, ढुङ्गा तथा क्रिकेट ब्याटले प्रहार गरि बर्बर आक्रमण गरि गम्भीर घाइते बनाएको दावी गरेको छ ।


प्रतिक्रिया