काठमाडौं । टीकापुर घटनामा आदलातबाट दोषी ठहर भइ सर्वस्व सहति जन्मकैदको सजाय पाएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी भोलि जेलबाट रिहा हुने भएका छन् ।
गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको बाँकी कैद सजाय माफी दिएका हुन् । चौधरीसहित ५ सय १ जनाको कैद राष्ट्रपति पौडेलले माफी गरेका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिस अनुसार चौधरीलगायतको कैद माफी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
गणतन्त्र दिवसको अवसरमा आइतबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २७६ तथा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७९ र ज्येष्ठ नागरिक ऐन, २०६३ को दफा १२ बमोजिम सरकारको सिफारिसमा चौधरीसहित ४८२ जना कैदीहरुको भुक्तान हुन बाँकी कैद सजाय माफी गरेका हुन् ।
चौधरीलाइ जेलबाट रिहाइ गर्न सत्ता गठबन्धनका मुख्य दलहरू नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको हात छ। मुख्यतः प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिलाइ दवाव दिएका थिए । उनीहरूकै दवावका कारण राष्ट्रपति पौडेलले उनलाइ आम माफी दिन लागेका हुन् । उसो त नेपालले आलंकारिक राष्ट्रपतिले सरकारको सिफारिसलाइ सदर गर्नैपर्ने प्राबधान छ ।
यस अघि पनि पटक पटक कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहालले चौधरीलाइ जेलमुक्त गराउने बचन दिँदै आएका थिए । अहिलेको सत्ता समिकरण बन्दा पनि नागरिक उन्मुक्ति पार्टीलाइ उनीहरूले चौधरीको रिहाइको बचन दिएका थिए । यही बचनका कारण उक्त पार्टीले प्रचण्ड सरकारलाइ समर्थन गर्दै सरकारमा सहभागिता जनाएको थियो । चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ उक्त पार्टीको नेतृत्व बन्दै अहिले मन्त्री छन् ।
को हुन् रेशम चौधरी ?
२०७२ को संविधान जारी हुनु अघि सुदूरपश्चिमका ९ जिल्लाको एक प्रदेश हुनुपर्ने माग राखेर अखण्ड सुदूरपश्चिमको आन्दोलन चर्किएको थियो । त्यसैबेला कैलाली र कञ्चनपुरसहित थारु बाहुल्य क्षेत्रलाई समेटेर थरुहट प्रदेशको माग गरि थारु समुदाय पनि आन्दोलनमा उत्रिएका थिए ।
थरूहट प्रदेशमात्रै होइन तत्कालीन सरकार र अधिकांश राजनीतिक दल जातीय पहिचानका आधारमा प्रदेशको निर्माण गर्ने पक्षमा थिएनन् । देशैभरी जातीय राज्यको विरोध भइरहेकाले थरूहट प्रदेश बन्न सक्ने कुरा पनि थिएन ।
थरूहटको माग राख्दै २०७२ साल भदौ ७ गते टीकापुरका सरकारी कार्यालयमा थरुहट प्रदेशको वोर्ड झुण्ड्याउने हजारौं थारु आन्दोलनकारीहरु तयारी गर्दै थिए । ठूलो संख्यामा आन्दोलनकारीहरू टीकापुर बजार प्रवेश गर्ने तयारीमा रहेको सूचना पाएपछि तत्कालीन सेती अञ्चल प्रहरी कार्यालयका एसएसपी लक्ष्मण न्यौपाने स्वयं सुरक्षा कमाण्ड सम्हाल्न टीकापुर गएका थिए ।
हजारौंको संख्यामा उर्लिएका आन्दोलनकारीलाइ प्रहरीले रोक्न सकेन । टीकापुरमा नराम्ररी दंगा फैलियो । आन्दोलनकारीले प्रहरीमाथि भाला, तरबार लगायत हात हतियारले आक्रमण गरे । प्रहरी वरिष्ठ उपरीक्षक न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको उक्त घटनामा निर्मम हत्या भयो ।
एसएसपी न्यौपानेसहितका प्रहरी र एक नाबालकको निर्मम हत्या भएको उक्त घटनालाइ नै टीकापुर घटना भनिन्छ ।
यो घटनापछि उक्त घटनाको योजना बनाएको आरोपमा रेशम चौधरी पक्राउ परे । उनीमाथि यो घटनाको योजनाकारका रूपमा मद्दा चल्यो, जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले उनलाइ सर्वश्वसहित जन्मकैदको फैसला गरे । यसका विरूद्ध सर्वोच्चमा गएका चौधरीलाइ यो मुद्दामा उसले पनि उच्च अदालतको फैसलालाइ सदर गरिदिएको थियो ।
कैलाली जिल्लाको साविकको देगौली गाविसमा २०३४ साल असोज २१ गते रेशम चौधरीको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयबाट स्नाकोत्तरसम्मको शिक्षा हासिल गरेका चौधरी थारु भाषाको जोग्नी साहित्यिक पत्रिकाको प्रधानसम्पादक समेत रहेका थिए । साहित्यमा समेत दख्खल राख्ने चौधरीले रेडियो नेपाल, नेपाल टेलिभिजन, रेडियो सागरमाथामा लामो समय पत्रकारितासमेत गरेका ब्यक्ति हुन् ।
बर्दियामा फूलबारी एफएफ सञ्चालन गरेका चौधरीको टीकापुर घटनाका क्रममा एफएममा आगजनी भएको थियो । घटनामा भएको क्षतिको उनले १ करोड ७४ लाख क्षतिपूर्ति पाए । कैलाली घटनामा संलग्न भएको भन्दै प्रहरीले खोजी गरिरहेकै बेला चौधरीले ०७४ काे संसद्को चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट चौधरी अत्याधिक मतसहित सांसद पदमा विजयी भएका थिए ।