साहित्यकार श्रीकृष्ण न्यौपानेको 'तिम्रो गमला मसित बोल्दैन' खण्डकाव्य सार्वजनिक

बेसीशहर, चैत २८ गते । बिषालु धरती नामकाे महाकाब्य सार्वजनिक भएकाे तीन साता पनि नबित्दै लमजुङका प्रखर साहित्यकार श्रीकृष्ण न्यौपानेले अर्काे खण्डकाब्य 'तिम्रो गमला मसित बोल्दैन' सार्वजनिक गरेका छन् ।

करिब आधा शताब्दीदेखि नेपाली छन्द साहित्यको जगेर्नामा क्रियाशील साहित्यकार न्यौपानेको यो एघारौँ प्रकाशित कृति हो ।स्वच्छन्दतावादी भावविधान र परिष्कारवादी शिल्पविधानगत विशेषता बोकेको खण्डकाव्य 'तिम्रो गमला मसित बोल्दैन' बुधवार सार्वजनिक भएकाे हाे ।
५ तरङ्गमा विभाजन गरी त, ज, स गण र दुई गुरु अक्षर गरि ११ अक्षरको 'मुरलीध्वनि' छन्दमा ६०×५=३०० श्लोकमा रचना गरिएको याे खण्डकाव्यले जस्तोसुकै परिवेश निर्माण भए पनि मान्छेमा रहेको मूल चरित्रको समाप्ति कहिल्यै हुँदैन भन्ने कुरालाई कलात्मक रूपमा उजागर गरेको छ ।

काठमाडौँको शिवपुरीको गाउँमा जन्मिएको घमन यस खण्डकाव्यको प्रमुख पात्र हो । बाल्यावस्थादेखि युवावस्था हुँदै जागिरे जीवन बिताउँदासम्मको उसको रागात्मक सौन्दर्यप्रेमी चरित्रलाई यस काव्यमा प्रमुखताका साथ प्रस्तुत गरिएको छ । व्यञ्जनात्मक अर्थमा गमलालाई उभ्याएर घमनले आफ्नो विगतको प्रेमिल यथार्थको प्रतीकका रूपमा हेरेको सन्दर्भबाट यस खण्डकाव्यको शीर्षक तयार गरिएकाे छ । निकै लामो कथावस्तुलाई मझौला संरचनामा बाँध्न सफल यस खण्डकाव्यले विषय र प्रस्तुति दुवै कुरामा केही फरक स्वाद प्रदान गरेको छ ।

खण्डकाव्यमा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य एवं बरिस्थ कवि, लेखक तथा समालोचक प्राध्यापक डा. देवी नेपालले भूमिका लेखेका छन् । भूमिकामा उनले भनेका छन्– "कवि श्रीकृष्ण न्यौपानेको प्रस्तुत खण्डकाव्यलाई ‘मुनामदन’जस्तै आख्यात्मक खण्डकाव्य परम्पराको सबैभन्दा पछिल्लो कृतिका रूपमा लिन सकिन्छ । आशुकवित्व र द्रुतलेखनका उदाहरण बन्नुभएका कवि श्रीकृष्ण न्यौपानेको ‘तिम्रो गमला मसित बोल्दैन’ खण्डकाव्य स्वच्छन्दतावादी भावविधान र परिष्कारवादी शिल्पविधानगत विशेषता बोकेको एक सुन्दर काव्यकृति हो ।"

भूमिकामा प्रा.डा. नेपाल थप लेख्छन् – "प्रस्तुत खण्डकाव्यका सन्दर्भमा नेपाली काव्यका क्षेत्रमा प्रयोग नै नभएको नयाँ छन्दमा समग्र आख्यानलाई अटाएर एउटा विशिष्ट काव्यसौन्दर्य प्रदान गर्न सक्नु कविको उल्लेखनीय खुबी भएको बताउनुहुन्छ । सामान्यतः प्रचलित र अलि लामा आकारका छन्दमा मात्र काव्यात्मक सङ्कथनले पूर्णता पाउँछ भन्ने मान्यतालाई यस खण्डकाव्यले चुनौती दिएको छ ।"

काब्य प्रकाशन पछि विमोचनमा रुचि नराख्ने साहित्यकार न्यौपानेले यसपटक भने बुधवार प्रकाशित खण्डकाव्य र विषालु धरती महाकाव्यको बैशाख ८ गते विमोचन गर्ने साइत जुराएका छन् । त्यसपछि थप कृतिहरूसमेत निरन्तर प्रकाशित हुँदै जाने साहित्यकार न्याैपानेले जानकारी दिए ।

याे न्याैपानेकाे पाँचाै खण्डकाब्य हाे । यसअघि उनले राताे बाघ (महाकाब्य २०८०), बिषालु धरती (महाकाब्य २०८०) छली(सामाजिक काब्य २०४८)  , भाउजु (बियाेगान्त खण्डकाब्य २०७९) , भृकुटी (एतिहासिक काब्य २०७९) , आमा (खण्डकाब्य २०७९), राता सिपाही (खण्डकाब्य २०७९), फेसबुक लभ (खण्डकाब्य २०८०), शास्त्रीय गजलहरूकाे संगालाे श्रीकृष्ण गजल संग्रह(२०७९), सयछन्द कबिता संग्रह (२०७९) प्रकाशन भइसकेका छन् ।

२०५० सालमा रेडियाे नेपालकाे स्वर परीक्षा उत्तीर्ण साहित्यकार न्याैपानेले रेडियाे नेपालमासमेत दर्जनाैं गीत रेकर्ड गराउनुका साथै केही एल्बमसमेत निकालेका छन् । सुरिलाे भाका हालेर गीत गाउन र कविता वाचन गर्न खप्पिस न्याैपाने पिङ्गल छन्द प्रतिष्ठान नेपालका अध्यक्ष समेत हुन् । उनकाे बिपसना नामक महाकाब्य प्रकाशाेन्मुख छ ।

प्रतिक्रिया