बेसीशहर, माघ ९ । बेसीशहर नगर क्षेत्रमा बेवारिसे कुकुरहरुको संख्या बढपछि यसको नियन्त्रण गर्न र उनीहरुको टोकाइबाट नगरबासीलाई पीडित हुन नदिन बेसीशहर नगरपालिकाले कुकुरहरुको बन्ध्याकरण शिविर सञ्चालन गरेको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रसंगको सहकार्यमा सोमबार र मंगलबार कुकुरको बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । कुकुरको बन्ध्याकरण गरिदिँदा भोलिका दिनमा कुकुरको संख्या घटने भएकाले यस्तो शिविर सञ्चालन गरिएको हो । दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा १ सय ६ वटा कुकुरको बन्ध्याकरण गरिएको हो ।
शिबिरमा ल्याइएका कुकुरहरुलाई रेबिज विरुद्धको खोप समेत लगाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय परिसरमा आयोजना गरिएको कुकुर तथा विरालोको बन्ध्याकरण शिविरमा ५ वटा बिरालाको समेत बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख डा. सुनिल न्यौपानेले बताए ।
उनले शिविरमा ५६ वटा बध्याकरण गरिएका मध्ये ५६ वटा भाले कुकुर र ४९ वटा पोथी कुकुर को बन्ध्याकरण गरिएको छ । केन्द्रले सो अवसरमा ५ वटा पोथी बिरालोको समेत बन्ध्याकराण गरिएको जनाएको छ ।
बेसीशहर नगर क्षेत्रमा छाडा कुकुरको समस्या आजको होइन, पहिल्यैदेखि बेसीशहर लगायतका बजार क्षेत्रमा छाडा कुकुरको समस्या देखिँदै आएको हो । शुरुमा छाडा कुकुरलाई बिष खुवाएर मार्ने अभियान चलाएको नगरपालिकाले यस अभियानको बिरोध हुन थालेपछि कुकुरको बन्ध्याकरण अभियान चलाएको हो ।
केही घरपालुवा र धेरै छाडा कुकुरको कारण नागरिकले समस्या भोग्दै आएकोले विगत केही वर्षदेखि नगरपालिकाले कुकुरहरुको निःशुल्क बध्याकरण शिविर तथा रेबिज विरुद्धको खोप दिँदै आएको बेसीशहर नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाका प्रमुख डाक्टर सन्दीप विष्टले जानकारी दिए ।
कुकुर घरपालुवा र गुनिलाे जनावर हाे । यसले घरकाे रखबारी गर्छ । पछिल्लाे समय कुकुरहरू घरमा भन्दा बढी सडकमा देखिन थालेका छन् । कुकुर पाल्नेहरूले रूचाएसम्म घरमा राख्ने र कुकुर पाल्न मन नलागे घरबाट लखेट्दा वेवारिसे वा सामुदायिक कुकुरकाे संख्या बढिरहेकाे छ । मन लागेसम्म कुकुर पाल्ने तर मन अघाएपछि कुकुरहरूलाइ घरबाट लखेट्ने परिपाटीले बेसीशहरका बजार क्षेत्रमा वेवारिसे तथा सामुदायिक कुकुरकाे संख्या बढ्दाे छ ।
कुकुरलाई घरपालुवा जनावरको रूपमा १२ हजार वर्ष अघिदेखि मानिसले पाल्न थालिएको अनुमान छ । कुकुर मानिस सँगसंँगै बस्दै आउनुमा उनीहरूले पाउने खाना र तातोपन हो । त्यसपछि मानिसले कुकुरलाई आफ्नो फाइदाका लागि प्रशिक्षण दिन थालेका हुन् । गाईबस्तु चराउन, घर हेरचाह गर्न प्रयोग गरिदैं जाँदा पछि शिकार गर्न र मित्रता बढाउनका लागि मानिसहरूले विभिन्न नस्लका कुकुरहरू पाल्न थालेका हुन् ।
त्यसपछि मात्र विभिन्न जातका कुकुरहरू देखिन थालेका हुन् । १९औं शताब्दी पछि मानिसले विभिन्न जातको कुकुर पाल्न थालेको हुन् । विश्वमा करिव २ सय जातका कुकुरहरू पाइन्छन् ।