मर्स्याङदीबेसी जलविद्युतले टेरेन, थप कडा आन्दोलनको तयारीमा संघर्ष समिति

खबरकुञ्ज

स्थानीय बासीन्दाको ब्यापक विरोधका बाबजुद मस्र्याङदी नदीमा निर्माण हुन लागेको मस्र्याङदी बेसी जलविद्युत आयोजनाले काम रोक्न आलटाल गरेको छ । 

उक्त आयोजना निर्माण गर्न नहुने एकसूत्रीय माग राख्दै मस्र्याङदी बचाऔं संघर्ष समितिले चरणबद्ध आन्दोलनका कार्यक्रम जारी राखेको छ । संघर्ष समितिले आयोजनाबाट पर्ने अत्याधिक नकरात्मक प्रभावका कारण आयोजना बन्न नहुने माग राख्दै काम बन्द गर्न आयोजनाको कार्यालयका साथै जिल्ला प्रशासन कार्यालय र बेसीशहर नगरपालिकाको कार्यालयमा समेत ध्यानाकर्षण पत्र बुझाइसको छ । पत्र पाएपछि आयोजनाले काम बन्द गरेको जनाउ आन्दोलनकारी र स्थानीय प्रशासनलाई गराए पनि भित्र भित्रै काम भने जारी राख्दै विभिन्न निर्माण सामग्रहरु आयोजना स्थलमा ल्याइ रहेको पाइएको छ ।

आयोजनाको काम सुचारु रहेको खबर पाएपछि संघर्ष समितिका पदाधिकारीहरु आइतबार बेसीशहरको वडा नं. १० मा पर्ने आयोजनाको निर्माणस्थल पुगेका थिए । निर्माणस्थलमा धमाधम काम भएका देखेपछि उनीहरुले आयोजनामा तत्काल काम बन्द गर्न र अटेर गरे उत्पन्न हुने परिस्थितिको संघर्ष समिति जिम्मेवार नहुने भन्दै चेतावनी दिइ फर्केका थिए । 

आइतबार नै संघर्ष समितिले बेसीशहर नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा अर्को पत्र दिँदै आयोजना बन्द नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए । उनीहरुले प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डे र बेसीशहर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीलाई भेटेर आयोजना निर्माण हुँदा समग्र बेसीशहर र यहाँको सामाजिक, आर्थिक धार्मिक, सांस्कृतिक र पर्यावरणमा पर्ने नकरात्मक प्रभावका बारेमा जानकारी गराउँदै आयोजना निर्माणले जिल्ला सदरमकाममा खानेपानीको अभाव हुने, पहिरोको जोखिम बढ्ने, जलवायु परिवर्तन लगायतका कारणले बेसीशहर बस्न लायक ठाउँ नहुने र ठूलो जनसंख्या विस्थापित हुन बाध्य हुनुपर्ने भएकाले आयोजना निर्माण हुनै नहुने बिषयमा अबगत गराएका थिए ।

जवाफमा प्रमुख जिल्ला अधिकारी डा पाण्डेले आयोजनाले क्षमता घटाएर मस्र्याङदीमा निश्चित पानीको मात्रा छोडेर आयोजना निर्माण गर्न दिने बिषयमा संघर्ष समितिको राय बुझेका थिए । तर संघर्ष समितिले आफूहरुको एकसुत्रिय माग आयोजना बन्द गराउनु रहेको जवाफ दिए । स्थानीयका माग र आन्दोलनप्रति चासो राख्दै उनले सोमबार कार्यालय खुलेपछि आयोजनालाई आवश्यक निर्देशन दिने आश्वासन संघर्ष समितिका पदाधिकारीलाई दिएका थिए ।

तर सोमबार बेलुका सम्म पनि आयोजनाको काम नरोकिएको स्थानीयले बताएका छन् । यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी डा पाण्डेलाई जिज्ञासा राख्दा उनले यसबारे आफूलाई खासै जानकारी नभएको र केही कुरा भएको भए कार्यालयको सिस्टम अनुसार भएको हुन सक्ने मात्र बताए । आन्दोलनकारी र आयोजना पक्षले तपाइँसंग केही कुरा त गरेका होलान् नि ! संघर्ष समितिले काम रोक्न माग गरेको होला, आयोजनाले सुरक्षा माग गरेको पो छ कि ? भन्ने हाम्रो जिज्ञासामा उनले भने– “सबै कुरा सिस्टम अनुसार हुन्छ, केही भएको भए पनि मलाई अपडेट भएन, सिस्टमबाटै भएको होला । मैले यति मात्र भन्न सकें ।”

प्रमुख जिल्ला अधिकारीले आयोजना रोक्न कुनै निर्देशन नदिए पनि संघर्ष समितिले भने संघर्षका कार्यक्रम नरोक्ने स्पष्ट पारेको छ । संघर्ष समितिका सचिव सुरेश प्रधानले भने–“समग्र बेसीशहरको हितका लागि यो आयोजना बन्न हुँदैन । केही सिमित ब्यक्तिले आयोजनाबाट पैसा कमाउलान्, तर यो आयोजना बन्यो भने बेसीशहर बस्न लायक हुँदैन, यहाँ धेरै नकरात्मक प्रभाव पर्छन् । यहाँका आदिवासी, स्थानीय बासीन्दाको हितका लागि आयोजना बन्न दिन हुँदैन । यहाँ कोही पनि ब्यक्तिगत स्वार्थका लागि आयोजना बन्न हुँदैन भन्ने पक्षमा गएका होइनन्, आयोजनाले पार्ने नकरात्मक र दीर्घकालीन प्रभावका कारण हो । हामीलाई कसले कमाउला कसले गुमाउला भन्ने कुरासंग केही लेनदेन छैन, हाम्रो सरोकार मस्र्याङदीलाई प्राकृतिक रुपमा बहन दिने हो, जसका कारण बेसीशहर कालान्तरसम्म बस्न लायक ठाउँ बनिरहोस्, यहाँको वातावरण सधैं अहिले जस्तै स्वच्छ, सफा भइरहोस्, प्राकृतिक विपत्ति ननिम्तियोस् ।”

संघर्ष समितिका संयोजक रामबहादुर थापाले आयोजना रोक्ने एकसुत्रीय माग संघर्ष समितिको रहेको बताए । उनले भने– “यसका लागि कुनै पनि मूल्य चुकाउन हामी तयार छौं । हामीले शान्तिपूर्ण रुपमा आन्दोलन गरिरहेका छौं । यो आन्दोलन बेसीशहर बचाउन हो, कसैको निहित स्वार्थ सिद्ध गर्न होइन । जल, जमीन र जंगलमा स्थानीयको अग्राधिकार हुन्छ । कसैले बल मिच्याइँ गरेर हाम्रा सम्पदामाथि अतिक्रमण गर्न पाउँदैन । हामी मस्र्याङदी जोगाउन हदैसम्मको प्रयास गर्छौं ।

संघर्ष समितिका सहसंयोजक जनकराज बस्नेतले आयोजनाको विपक्षमा सिंगो बेसीशहर हुँदा पनि आयोजनाले बल मिच्याइँ गरेर अघि बढेकोमा आपत्ती जनाए । उनले स्थानीयको हित र बेसीशहरको आर्थिक, सामाकिज ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यावरणीय प्रभाव पार्ने आयोजना रोक्न आवश्यक परे कानुनी लडाइँ लड्न तयार रहेको बताए ।

मस्र्याङदी बेसी जलविद्युत आयोजना बनाउदै गरेको दिब्यज्योति हाइड्रोपावरले आयोजनाको अध्ययनकै क्रममा गलत प्रतिवेदन तयार गरेको पनि बेसीशहरमा ब्यापक चर्चा चल्न थालेको छ । उक्त कम्पनीले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिबेदन बनाउँदै कैफियत गरेको र त्यस अघि तत्कालीन प्रभावित गाउँ विकास समितिका सचिवहरुलाई अनुचित प्रभावमा पारेर आयोजनाको कार्यान्वयनले सबै सकरात्मक प्रभाव मात्र पर्ने र कुनै पनि नकरात्मक प्रभाव नपर्ने भनि एकै किसिमको सिफारिस लिएको तथ्य फेला परेको छ । उक्त कुरा आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्ककन प्रतिवेदनमै समावेश भएको जानकारहरुले बताएका छन् । संघर्ष समितिले आयोजनाले काम नरोके उक्त प्रतिवेदनलाई नै चुनौति दिँदै कानुनी उपचार खोज्ने बताएको छ ।


प्रतिक्रिया