बेसीशहर, चैत २८ । लमजुङ सदरमुकाम बेसीशहरलाई प्रत्यक्ष प्रभावित पार्ने र यहाँको भौतिक, आर्थिक, धार्मिक सांस्कृतिक र वातावरणमा समेत नकरात्मक प्रभाव पार्ने गरी निर्माण हुन लागेकोे मर्स्याङ्दी बेसी जलविद्युत आयोजना बन्द हुनुपर्ने एकसुत्रीय माग मर्स्याङ्दी बचाऔं संघर्ष समितिले अघि सारेको गरेको छ ।
बिहीबार बेसीशहरमा भएको बृहत छलफल पछि गठन भएको संघर्ष समितिले हिजै बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र प्रमुख जिल्ला अधिकारी डा टोकराज पाण्डेलाई भेटी ध्यानाकर्षण पत्र बुझाएका थिए । दुवै ठाउँबाट स्थानीयले उठाएका मागका सम्बन्धमा सकरात्मक कुरा नआएपछि संघर्ष समितिले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी आयोजना रोक्न बेसीशहरका जनता र संघर्ष समिति जुनसुकै मूल्य चुकाउन पनि तयार रहेको जनाउ दिएको छ ।
बेसीशहरको वडा नंं ६ बेलौति बिसौनामा बाँध बाँधेर वडा नंं १० को सालडाँडामा पावर हाउस रहने गरी ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना कार्यन्वयनमा आउन लागेको छ । याे आयोजना कार्यान्वयनमा आउँदा यसबाट उत्पन्न हुने नकरात्मक प्रभावका कारण सिंगो बेसीशहर नै बस्न लायक नहुने भन्दै आयोजना कार्यान्वयन हुन नदिन बेसीशहरबासी संगठित हुन थालेका हुन् ।
संघर्ष समितिले शुक्रबार बेसीशहरमा पत्रकार सम्मेलन गरी स्थानीय जनताका जानकारी र भावना बिपरित आयोजना निर्माण हुन लागेको र यो आयोजना कार्यान्वयनमा आए समग्र बेसीशहर र यहाँको धार्मिक, सामाजिक, आर्थिक, प्राकृतिक, वातावरणीय एवं पारिस्थितिकीय प्रणाली (इकोसिस्टम)मा नकरात्मक प्रभाव पर्ने भएका कारण आयोजना कार्यान्वयन हुन नहुनेमा जोड दियो । संघर्ष समितिको तर्फबाट संयोजक रामबहादुर थापाले आयोजनाबाट केही सिमित ब्यक्तिहरुले मात्र फाइदा लिने तर सिंगो बेसीशहरका जनता भने सदियौं पछि सम्म पनि आयोजनाको नकरात्मक प्रभाव झेल्दै पछुताएर बस्नु पर्ने अवस्था आउन नदिन आफूहरु आन्दोलित भएको बताए ।
सो अवसरमा उनले नदीको पुर्वी पहाडी धरातल निकै कमजोर भएकाले अहिले पनि ससाना पहिराहरु बेलाबखत चल्ने गरेकोमा त्यही जमीनमा सुरुङ खन्दा गरिने ठूला बिष्फोटले त्यहाँको पुरै वस्ती पहिरोको जोखिममा पर्ने बताए । उनले भूमिगत सुरुङले जमिन सुुक्खा हुने, पानीका श्रेतहरु सुक्ने, खेतीयोग्य माटोको उर्वरता ह्रास हुने बताए ।
आयोजनाले पार्ने प्रभावलाई बुँदागत रुपमा उल्लेख गर्दै उनले आयोजनाका कारण खाद्य उत्पादन घटने, नदी वातावरणमा आधारित वनस्पति लोप भइ माछा लगायत जलचरहरुको बिनास हुने, ¥याफ्टिङ, कायकिङ जस्ता सहासी पर्यटनको सम्भावना समाप्त हुने र शहरी सौन्दर्यको बिनास भई अरबौंको क्षति हुने तर्फ ध्यानाकर्षण गराए ।
पत्रकार सम्मेलनमा उनले मर्स्याङ्दीको पानीलाई सुरुङमा पठाउँदा नदीको पवित्रता लोप भइ नदी किनारका कयौं मठमन्दिरको अस्तित्व समाप्त हुने, दाहसंस्कारका लागि प्रयोग हुने घाटहरुको नाश भइ लास जलाउन र चिता पखाल्न दाउरासंगै पानी बोकेर आउनु पर्ने अवस्था सृजना हुने बताए । उनले ठूलो जनसंख्या रहेको बेसीशहरमा मर्स्याङ्दी नदीमा जलविद्युत योजना बनाउँदा स्थानीय संस्कार र संस्कृतिको समेत नाश हुने भएकाले संस्कार संस्कृति र धार्मिक आस्थामाथि आक्रमण हुँदा सहन नसकिने बताए ।
सो अवसरमा वितरित प्रेस नोटमा जैविक विविधता र इको सिस्टममा पनि गम्भीर असर पर्ने भएकाले उक्त आयोजना काार्यन्वयन हुन नहुने भनिएको छ ।
प्रेस नोटमा आयोजना निर्माण हुँदा शहरी विकास र विस्तारको राष्ट्रिय नीतिको उल्लंघन हुनुका साथै संयुक्त राष्ट्रसंघबाट पारित आइएलओ १६९ को पनि गम्भीर उल्लंघन हुने बताइएको छ ।
प्रेस नोटको अन्त्यमा आफ्ना मागबारे आयोजनासंगै स्थानीय प्रशासन, संघ, प्रदेश र स्थानीय तहमा जानकारी गराइ आयोजना अघि नबढाउन अनुरोध गर्ने र माग सम्बोधन नभएमा कानुनी उपचारका लागि अदालतको ढोका ढकढक्याउने, राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरमा समेत आवाज उठाउने र आवश्यकता परेमा आन्दोलनका अन्य कार्यक्रम समेत हुन सक्ने बताइएको छ ।
खबरकुञ्ज