थान्सिङ नेटा । लमजुङको मध्यनेपाल नगरपालिका–१०, नेटामा रहेको पवित्र मालिका देवीको मन्दिरमा खानेपानीको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेश सरकार, मध्यनेपाल नगरपालिका र वडा नंं १० को सहयोगमा मन्दिर परिसरमा खानेपानीको सुविधा पुगेको हो ।
नजिकै खानेपानीको श्रोत नहुँदा बर्षाैंदेखि मन्दिरमा खानेपानीको समस्या थियो । आ. ब. २०७७÷०७८ बाट मन्दिरका लागि खानेपानीको योजना शुरू गरिएकोमा केहि दिन अघि योजना सम्पन्न भइ उद्घाटन समेत गरिएको छ । योजना अन्तर्गत मध्यनेपालको भीरपानीबाट लिफ्टिङ गरि मन्दिरमा खानेपानी पुर्याइएको हो । खानेपानी योजना अन्तर्गत दुईवटा ट्याँकी र चारवटा धारा निर्माण गरिएको छ । यसका लागि करिव ५० लाख रुपैयाको लागत लागेको मध्यनेपालको वडा नं. १० का वडाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिए ।
खानेपानी योजना सम्पन्न भएसँगै शनिवार मध्यनेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डेले खानेपानी योजनाको उद्घाटन गरेका छन् । सो अवसरमा उद्घाटन मन्तब्य राख्दै मेयर पाण्डेले लमजुङका प्रमुख तीर्थस्थलमध्ये एक रहेको मालिका मन्दिरमा पुग्ने भक्तजनका लागि नगरपालिकाको पहलमा खानेपानी योजना सम्पन्न गर्न पाएकोमा सन्तोष ब्यक्त गरे । उनले मध्यनेपाललाइ धार्मिक नगरीको रूपमा विकास गर्न नगरपालिका लागिपरेको भन्दै धार्मिक क्षेत्रमा सरसफाइ, खानेपानी, शौचालय जस्ता आधारभूत कुराहरू आवश्यक पर्ने बताए ।
सो अवसरमा उनले मालिका मन्दिरको धार्मिक महत्वलाई प्रचार प्रसार गर्न सके मन्दिरमा धार्मिक पर्यटक भित्र्याउन सकिने र यसले मध्यनेपालको विकासमा टेवा पुग्ने बताए । उनले नगरपालिकाको तर्फबाट यस अघि मन्दिर परिसरमा विपीको सालिकसहितको पार्क निर्माण हुदै गरेको, सिँढी र अन्य ब्यवस्थापकीय काम भएको भन्दै धार्मिक स्थलका विकासका लागि नगरपालिकाले भोलिका दिनमा पनि सहयोग गरिरहने प्रतिबद्धता जनाए । उनले नगरपालिकाको सहयोगमा थान्सिङकोटमा रहेको प्रसिद्ध धार्मिकस्थल मालिका मन्दिरलाइ गण्डकी प्रदेशकै प्रमुख धार्मिकस्थल बनाइ त्यस क्षेत्रको विकासका लागि गुरूयोजना बनाइएको समेत स्मरण गरे ।
मालिका मन्दिर सदियौंदेखि मध्यनेपाल क्षेत्रका बासीन्दाको आस्थाको धरोहरको रूपमा रहेको छ । यस मन्दिरलाई ब्यवस्थित बनाइ सिंगो प्रदेशकै प्रमुख धार्मिक गन्तब्यको रूपमा विकास गर्ने उद्देश्यका साथ गुरूयोजना निर्माण गरिएको वडाध्यक्ष भण्डारीले जानकारी दिए । गुरूयोजनामा मालिका मन्दिरको निर्माणदेखि करापुटारको इशानेश्वर महादेव मन्दिरदेखि मालिका मन्दिरसम्म केवलकार सञ्चालन गर्नेसम्मका विभिन्न योजना समेटिएको उनले बताए ।
मालिका मन्दिर संरक्षण समितिका अध्यक्ष विरबहादुर थापाको अध्यक्षतामा भएको खानेपानी उद्घाटन कार्यक्रममा नगर प्रवक्ता एवं मध्यनेपाल–१० का वडा अध्यक्ष रामचन्द्र भण्डारी सहित वडा सदस्यहरु, स्थानिय आमा समुह, युवा क्लवका प्रतिनिधीहरू उपस्थित थिए ।
किंवदन्ती अनुसार स्थानीय एक कोइराला परिवारकी छोरी मालिका ७ बर्षको उमेरमा घरका सबै परिवार खेतीपातीका लागि खेतमा गएका बेला घरबाट एकाएक हराइन् । घर परिवार, गाउँले सबैले मालिकाको खोजी गरे पनि फेला पार्न सकेनन् । पछि गाउँकै एक बृद्धाले गाउँमाथिको जंगलमा सुनको काइँयोले कपाल कोर्दै गरेको अवस्थामा मालिकालाइ देखिछन् । मालिकाले आफू देवी भएको भन्दै यो कुरा कसैलाइ नभन भनिछन् । तर ती बृद्धले आफूले मालिकालाइ जंगलमा सुनको काइँयोले कपाल कोर्दै गरेको देखेको भनि गाउँमा गएर सुनाएपछि ती बृद्धाको निधन भएछ ।
अर्काे जनश्रुति अनुसार घरबाट हराएकी मालिकाले उनका पितालाइ सपनामा दर्शन दिइछन् । आफू मालिका देवी भएको र गाउँभन्दा माथि जंगलमा शंख घण्टा र मेरो बहान सिंह भएको ठाउँमा मेरो मन्दिर स्थापना गरी पूजा गर्नु भनि संकेत गरिछन् । उक्त ठाउँमा मेरो पूजा गर्न महिनावारी भएका महिला नआउनु, कुमारी पाठी (बोका नलिएको)को मात्र बली दिनु भनिछन् । पछि गाउँलेसहित गएर उक्त स्थानमा हेर्दा बसिरहेको सिंह, केहि पर शंख घण्टा लगायतका पूजा सामग्री देखिएपछि सोही ठाउँमा मालिकादेवीको स्थान बनाइ पूजा अर्चना गर्ने परम्परा बसेको हो ।