गुरुङ समुदायले आज मौलिक तथा सांस्कृतिक पर्व ट्होंटे पर्व मनाउँदै

खबरकुञ्ज

बेसीशहर, चैत २६ गते । लमजुङका गुरुङ समुदायले आज मौलिक तथा सांस्कृतिक पर्व ट्होंटे पर्व मनाउँदै छन् ।

परापूर्व कालदेखि गुरुङ समुदायले यो पर्व मनाउँदै आएका छन् । गुरुङ जातिको राज्य रहँदा राज्यका शत्रुलाई धपाई राज्यको सुरक्षा गरिएको सम्झनामा चैत अन्तिम मंगलबार उधौली र साउन महिनाको अन्तिम मङ्लबार उभौलीको रुपमा ट्होटें पर्व मनाउने चलन बसेको मानिन्छ । राज्यका बैरी वा शत्रुहरुलाई लखेट्दै राज्यको सिमा कटाएको स्मरणमा अहिले पनि यो पर्व मनाउने गरिन्छ ।

गुरुङ भाषामा “ट्हों” को अर्थ गाउँ, वस्ती, वा राज्य अथवा भूगोललाई जनाउँछ । “टें” वा “टेंवा” को अर्थ शत्रु धपाउने वा सुरक्षा गर्ने भन्ने हुन्छ । यसबाट राज्य वा गाउँको सुरक्षाका लागि गरिएको कामको सम्झना स्वरुप ट्होेंटे पर्व मनाउन थालिएको र यस सांस्कृतिक पर्वको महत्वलाई आत्मसात गरी पालिकाभर विदा दिइएको अध्यक्ष सुर्यप्रसाद गुरुङले बताए ।

यस पर्व गण्डकी प्रदेशका प्रायः सबै गुरुङ वस्तीहरुमा मनाइन्छ । गाउँ ठाउँ अनुसार यस पर्वमा गरिने क्रियाकलाप फरक परे पनि यसको सांस्कृतिक भाव भने एउटै छ ।

लमजुङको क्व्होंलसोथार गाउँपालिकाले यस पर्वको अवसरमा मंगलबार सार्वजनिक विदा दिएको छ । गाउँपालिकाले एक सूचना प्रकाशित गरी गुरुङ जातिको साँस्कृतिक पर्वको ट्होटेको अवसरमा आज पालिकाभरी स्थानीय सार्वजनिक बिदा दिइएको जनाएको छ ।

यस पर्वको अवसरमा गाउँपालिका र यस अन्तर्गतका कार्यालयहरु, वडा कार्यालयहरु, अत्यावश्यक बाहेकका स्वास्थ्य संस्थाहरु, सबै विद्यालय र अन्य संघ संस्थाहरुमा बिदा दिइएको पालिका अध्यक्ष गुरुङले जानकारी दिए ।

परम्परा अनुसार लमजुङको पसगाउँमा ट्होेंटे पर्वबारे अघिल्लो दिन कटुवाल लगाएर गाउँलेलाई सूचना दिइन्छ । भोलिपल्ट राँगोलाई गाउँको शत्रुको प्रतीक मानेर डोरीले बाँधेर चोक चोकमा डुलाइन्छ । हातमा अक्षता अबीर र फूल लिएर गाउँलेहरु गाउँमा महामारी, अनाबृष्टि, अतिबृष्टि नहोस्, रोगब्याधी हटोस् र गाउँ समाजमा शान्ति समृद्धि होस् भन्दै कामना गर्छन् । 

गाउँको सत्रुको प्रतीक रागोलाई गाउँको पुछारमा लगेर उत्तानो पार्दै लन्तरे डाँडातर्फ फर्काएर बली दिइ मासु गाउँका सबै घरलाई बराबरी भाग लगाउने चलन छ । यसरी बली दिइएको राँगाको रगतमा गोलाकारमा बुनिएको बाँसको चोया डुबाएर घर घरका ढोकामा टाँस्ने चलन पनि छ । यसरी रगतमा डुबाएको चोया ढोकामा राख्दा घरको रखबारी हुने विश्वास गरिने अध्यक्ष गुरुङले जानकारी दिए ।

ट्होंटे पर्वको सांस्कृतिक महत्व एकै भए पनि यसलाई मनाउने चलन ठाउँ अनुसार फरक छ । आधुनिकतासंगै अहिले कतिपय ठाउँमा भ्रष्टाचार, विकृति, विसंगति र कुरीतिलाई समाज र देशको शत्रुको रुपमा लिएर यसको समुल अन्त्यको कामना गर्ने चलन पनि चलेको गुरुङको भनाइ छ । 

जहाँ जसरी यो पर्व मनाउने गरिए पनि यसले सामाजिक एकता र भातृत्वको सन्देश दिने र गुरुङ समुदायलाई इतिहासको स्मरण गराउने भएकाले यो पर्वको बिशेष महत्व छ ।

प्रतिक्रिया