बेसीशहर । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाइँले भुटानी शरणार्थी प्रकरणमा नौटंकी भइरहेको बताएका छन । उनले यो प्रकरणको फाइल अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीको चाहनाले नभइ अमेरीकी दवावले खुलेको दावी गरे ।
लमजुङको सदरमुकाम बेसीशहरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रसाइँले अमेरिकी चेतावनीका कारण नक्कली भुटानी शरणार्थीको फाइल खुलेको खुलासा गरे । उनले भने-“यदि पुष्पकमल दाहालको जोडबलमा यो प्रकरणको फाइल खुलेको भए पहिले अनुसन्धान भाउजुहरुबाट शुरु हुनुपथ्र्यो, उनीहरुको बयान लिइनु पथ्र्यो । तर लिइएन । अभियुक्तहरुले नामै लिइसकेपछि बुढानिलकण्ठको महादेवले नै भन्नु पर्ने हो यो भ्रष्टाचारी हो भनेर ?”
उनले यो प्रकरणमा सरकारले नाटक र नौटंकी गरिरहेको बताए । नक्कली भुटानी शरणार्थी प्रकरणमा अमेरिकाका अगाडी आफ्नो साख जोगाउन र तपाइँ हामीलाई झुक्याउन यो प्रपञ्च भइरहेको छ । बालकृष्ण खाँण र टोपबहादुर रायमाझीहरु पक्राउ परे नि भन्नुहोला, राजनीति भनेको चेसको खेल जस्तो हो । चेसमा कहिले काहीँ के हुन्छ भने विपक्षीले राजालाई घेरे भने राजा बचाउन मन्त्रीलाई मराइन्छ के चेसमा, त्यही मात्र भइरहेको हो, शीर्ष नेताको सुरक्षाका लागि यो नौटंकी भइरहेको हो ।
रास्वपाका सांसद ढाकाकुमारले घुस मागेको अडियो आएपछि अख्तियार, प्रहरी, कानुन अदालत केही नपर्खी ७२ घण्टा भित्रै उनलाई कारबाही गरिएको स्मरण गरे ।
नेता प्रसाइँले भ्रष्टाचारका प्रकरणमा यसमा संलग्न नेताहरुलाइ मात्र नभई उनीहरुका परिवारलाई समेत जेल कोच्नु पर्ने तर्क गरे । लोग्नेले भ्रष्टाचार गरेको पैसाल श्रीमतीले गहना किन्ने, छोरा छारीले डिस्को जाने मोजमस्ती गर्ने प्रबृत्ति देखिएको भन्दै उनले भ्रष्टाचारीलाई मात्र होइन, उनीहरुको परिवारका १८ बर्षमाथिका सबैलाई जेल कोच्नु पर्ने धारणा राखे ।
प्रसाइँले देशमा भ्रष्टाचारको अन्त्य र विकासका लागि आफूहरु राजनीतिमा आएको बताए । उनले भने “ राजनीति भनेको पेशा होइन, समाज सेवा हो । रास्वपामा कोही कार्यकर्ता र भातृसंगठन हुँदैन । यदि तपाइँहरु रास्वपामा आएर केही पाउँला, कमाउँला, पावर र पहुँच बढला, म पनि फाइदा लिउँला भनेर सपनामा पनि नसोच्न आग्रह गरे । रास्वपाले त्यस्तालाई बाँकी राख्दैन । ढाकाकुमार त सांसद भएकाले ७२ घण्टा लाग्यो कारबाही गर्न तपाइँहरुलाई त १५ मिनेट पनि लाग्दैन । रास्वपाले कुनै पनि प्रकारको भ्रष्टाचारलाई प्रोटेक्ट गर्दैन ।”
प्रसाइँले अगाडि आफूहरु काम नपाएर राजनीतिमा आएको नभइ िबिग्रिएको देश बताउनका लागि आएको र सबैको हाम्रो आफ्नै पेशा ब्यवसाय रहेको बताए ।
सो अवसरमा प्रसाइँले रास्वपामा वडादेखि सांसदसम्मका उमेदवार आन्तरिक प्रतिस्पर्धाबाट छानिने प्रष्ट पारे । उनले रास्वपाले संवैधानिक समाजवादको सिद्धान्त अवलम्बन गरेको बताए ।
कार्यक्रममा बोल्दै रास्वपाका केन्द्रीय सदस्य बसुमाया तामाङले राजनीति भनेको पेशा होइन, समाज सेवा भएको बताइन ।
कार्यक्रममा रास्वपाका लमजुङ जिल्ला संयोजक धर्मराज केसीले फोहोरी राजनीतिलाई बढार्न आफूहरु राजनीतिमा आएको बताए । उनले सबैको प्रयासले लमजुङ जिल्लामा विकास र समृद्धि ल्याउन सकिने भन्दै कृषि, जलश्रोतको विकासमा जोड दिए ।
अब युवाहरुले मरुभूमिमा गएर रगत पसिना बगाउने नभै यही देशलाई बस्न योग्य बनाउनु पर्ने बताए । उनले लमजुङमा दर्जनौं जलविद्युत आयोजना बने पनि अहिलेसम्म राजनीतिक दलका नेताहरुले सित्तैमा शेयर लिएर जिल्लाको विकासमा आँखा चिम्लेको बताए । यी जलविद्युत आयोजनालाई कम्तीमा पनि आयोजनास्थलमा पुग्ने सडक कालोपत्रे गराउन लगाएको भए कति सडक कालोपत्रे हुन्थे, तर उनीहरुले आफ्नो मात्र फाइदा हेरेर जिल्लाको विकासमा आँखा चिम्ेलेको उनको भनाइ थियो ।
उनले नेपालमा भ्रष्टाचार गर्ने र भ्रष्टाचार विरोधी दुइथरि पार्टी रहेको उल्लेख गर्दै रास्वपा भ्रष्टाचार विरोधी पार्टी भएको बताए ।
कार्यक्रम रास्वपाको बेसीशहर नगर कमिटीका सभापति कृष्णबहादुर राउतको अध्यक्षतामा भएको थियो । कार्यक्रममा भेलाका संयोजक राजकुमार घिमिरे, बेसीशहर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष प्रकास थापा लगायतले मन्तब्य राखेका थिए ।
https://www.youtube.com/watch?v=6c4XsBxeLkU&t=202s