बेसीशहर, असोज ३१ । नेपालमा युवाहरु जागेर जेनजी आन्दोलन सफल भएपछि यसको प्रभाव देश विदेशमा फैलिरहेका बेला गाउँघरमा पनि यस्तै सकरात्मक परिवर्तनको माहोल छाएको छ ।
लमजुङमा पनि नव युवाहरु जागृत भएका छन् । गाउँको आर्थिक, सामाजिक रुपान्तरणका लागि लमजुङको बेसीशहर नगरपालिका ३ गाउँशहरको एक क्लवबमा आवद्ध युवाहरुको सकृयता पनि यतिबेला बढेको छ ।
यही गाउँमा यतिबेला नवयुवाहरु समाजिक सेवाका साथै खेलकुद र पर्यटनको विकासमा समेत अग्रसर हुन थालेका छन् । गाउँको विकासका लागि कम्मर कसेर लागेका छन् र यसको नेतृत्व गरेको छ– युग परिवर्तन युवा क्लवले ।
अहिले यही क्लवको सक्रियतामा गाउँशहरको चण्डीमा राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली पुर्खाहरुको गौरव गाथा बोकेको राष्ट्रिय झण्डा सबै नेपालीको एकताको प्रतीक पनि हो । देशभर राष्ट्रिय भावना जागृत भइरहेका बेला गाउँशहरको प्रख्यात चण्डीमा राष्ट्रिय ध्वजा फहराउँदा यसले गाउँशहरको सान नै बढाइ दिएको छ । चण्डी गाउँशहरकै महत्वपूर्ण पर्यटकीय स्थल हो । यस्तो महत्वपूर्ण स्थानमा राष्ट्रिय झण्डा फहराउँदा पर्यटकहरुलाई समेत आकर्षण गर्न सकिने भएकाले झण्डा फहराइएको क्वले जनाएको छ ।
प्राकृतिक भ्यू प्वाइण्टको रुपमा रहेको चण्डीबाट उत्तरदेखि पूर्वसम्म माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ हिमाल, मनासुलु, ङादीचुली, हिमालचुली लगायतका दर्जनौं हिमश्रृंखला देख्न पाइन्छ । यसका साथै यहीँबाट देखिने नागवेली परेर बहने मस्र्याङदी नदी र यही नदीले बनाएको बेसीमा लमतन्न सुतेको बेसीशहर बजारको मनमोहक दृष्यले त्यहाँ पुग्ने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ ।
युग परिवर्तन युवा क्लवले अहिले चण्डीमा खानेपानीको ब्यवस्थापन पनि मिलाएको छ । बेसीशहरबाट गाउँशहर जाने मूल पदयात्रा मार्गमा पर्ने चण्डी प्रमुख विश्रामस्थल पनि हो । त्यहाँ हिमालबाट बहने चिसो हावाले पदयात्रीको थकाइ बिर्साइदिन्छ । त्यहाँ यस अघि खानेपानीको समस्या थियो । पहिले बनाइएको खानेपानी जीर्ण भएपछि क्लवले पुन खानेपानीको ब्यवस्थापन मिलाएको क्लवका सचिव सुजन दुलालले बताए ।
क्लवले उक्त स्थानमा फोहोर ब्यवस्थापनका लागि ठाउँ ठाउँमा डष्टबिनहरु पनि राखिदिएको छ । 
क्लवले गाउँशहरको मैदानमा यात्रु प्रतीक्षालय पनि निर्माण गरेको छ । क्लवले चन्दा संकलन गरी गाउँशहरबाट बेसीशहर जाने सडक अन्तर्गत मैदान चोकमा यात्रु प्रतीक्षालय निर्माण गरेको सचिव दुलालले जानकारी दिए ।
यी कामका लागि क्लवले १ लाख ४० हजार ७५० रुपैयाँ खर्च गरेको छ । क्लवको यो रचनात्मक कार्यलाई स्थानीयले होस्टेमा हैंसे गर्दै चन्दा सहयोग गरेका थिए । स्वदेश तथा विदेशमा रहेका स्थानीयको सहयोगले यति काम गर्न सम्भव भएको हो । आगामी दिनहरुमा पनि गाउँका विभिन्न विकास निर्माण लगायत सामाजिक काम गर्ने र अन्य संघ संस्था र सरकारी तवरबाट हुने विकास निर्माणका काममा समेत क्लवले सहयोग गर्ने दुलालले बताए ।
आफ्नो गाउँ ठाउँ आफै वनाउनु पर्दछ, हामीले नगरे कसले गर्ने ? सबैले आफ्नो गाउँ बनाए देश आफै बन्छ भन्ने साेचले दशै तिहारको समय लाई सदुपयोग गरि देश तथा बिदेश गाउँ, शहरमा रहेका आमावुवा,दाजुभाई,दिदिवहिनिहरुले भौतिक,आर्थिक सहयोगले याे काम सम्पन्न भएकाे उनले सुनाए ।
गाउँशहर मूलतः लमजुङको प्राचीन वस्ती मात्र होइन, शाहबंशकै अभ्युदय भएको ठाउँ हो । १६ औं सताब्दीमा यशोब्रह्म शाहले यही ठाउँमा कालिका भगवतीको स्थापना गरी दरबार बनाएर लमजुङमा शासन प्रारम्भ गरेको इतिहास छ । लमजुङ आफैमा सुन्दर ठाउँ हो । त्यसमाथि तत्कालीन लमजुङ राज्यको राजधानी गाउँशहर झनै प्राकृतिक रुपमा मनमोहक छ ।
खबरकुञ्ज