बेसीशहर, पुस २३ गते । विक्षिप्त मानसिक अबस्थाका कारण घरको एउटा खुला खोपीमा तीन दशकसम्म साङ्लोमा बाँधिएर पशुको जस्तै जीवन विताएका ईमानसिंह गुरुङले नयाँ जीवन पाउलान् भन्ने कसैले साेचेका पनि थिएनन् । तर सबैकाे जीवनमा अँध्याराे मात्र हुँदैन, उज्यालाे पनि पक्कै एकदिन हुँदाे रहेछ । त्यस्तै ईमानसिंहको जीवनमा पनि अहिले उज्यालाे छाएकाे छ ।
मानसिक रुपमा विक्षिप्त भएर ३० बर्षसम्म साङ्लोमा बाँधिएर नरकीय जीवन विताएका लमजुङको दोर्दी गाउँपालिका वडा नंं ९ माझगाउँका उनी अहिले तिनै ईमानसिंह हुन् र ? भन्ने अवस्थामा छन् । उनमा यति धेरै परिवर्तन आउला, उनी निको भएर फेरि परिवारसंग घुलमिल भइ मिलेर बस्लान् भन्ने कसैलाई लागेको थिएन । स्वयं उनका परिवार पनि अहिले दंग छन् । कुनै दिन सम्हाल्न नसकेर फलामे साङलाले बाँधेर राखिएको परिवारको सदस्य अहिले सामान्य अवस्थामा आउला भन्ने उनीहरुलाई लागेकै थिएन । उनलाई धेरै हदसम्म सञ्चो भएको छ ।
दाजु भाउजुसंग इमानसिंह गुरूङ
लमजुङ हिलेटक्सारको डाँडामुनी उनको घर छ । मानसिक अवस्था विग्रेपछि जीवनका ३० बर्ष उनी घरको बाख्राको खोरसंगै रहेको खुला खोपीमा फलामे साङलोमा बाँधिएर विताए । बा आमा बलियो छँदा त उनलाई जेन तेन घरमै राखे । तर बुढा आमा बा थलिएपछि उनको रेखदेख गर्ने माया गर्नेहरु भएनन् र उनलाई साङलोले बाँधेर घरकै एउटा खोपीमा राखियो । उनी साङलामा बाँधिएकै बेला आमा बाबाको समेत निधन भयो । त्यसपछि उनलाई दाजु भाउजुहरुले बाख्राको खोरसंगै रहेको बार बन्देज नभएको खोपीमा बाँधेर राखे।
विभिन्न माध्यमले उनी साङलोमा बाँधिएर नरकीय जीवन विताइरहेको खबर पाएपछि २०७७ मंसिर १८ गते मानव सेवा आश्रम लमजुङले उनलाई उद्धार गरी आश्रममा ल्यायो । उद्धार गर्दा उनी उभिन सक्दैनथे । बर्षौसम्म कुँजिएर बसेका उनका खुट्टाले कामै गर्दैनथे । घुँडा सिधा नै हुँदैनथ्यो । त्यस्तो अवस्थाका इमानसिंहलाई उद्धार गरी मानव सेवा आश्रमले उनको लालन पालन मात्र गरेन, उनलाई उपचार गराई उभिन सक्ने, हिँड्न सक्ने बनाएको छ ।
घर नजिकै बारीमा बनाइएकाे खलाेमा इमानसिंह गुरूङ
मानसिक रुपमा विक्षिप्त भइ कसैसंग नबोल्ने, रिसाउने र आक्रमण गर्न खोज्ने भनिएका उनी अहिले जोसुकै संग पनि राम्ररी घुलमिल हुन्छन् । गफ गर्छन् र कहिले गीत पनि गाउँछन्, ठट्टा पनि गर्छन् । अहिले त उनलाई आफू मानसिक रुपमा विक्षिप्त भएका बेला साङलोले बाँधेर राखिएको पनि याद आइसकेको छ । तर त्यहाँ उनले कति बर्ष विताए भन्ने हेक्का भने उनलाई छैन । कसैले सोधेमा त्यस्तै ३÷४ बर्ष बसे होला भन्छन् ।
उद्धार भएपछि ईमानसिंह ४ बर्ष मानव सेवा आश्रममा बसे । उपचारको क्रममा उनलाई हेटौंडास्थित आश्रममा पनि राखियो । आश्रमले नियमित रुपमा उनको स्वास्थ्य परीक्षण गराउँथ्यो । डाक्टरले लेखिदिएको औषधी नियमित रुपमा आश्रमका कर्मचारीले उनलाई खुवाउँथे । आश्रममा गएको केही महिनामै उनमा सकरात्मक परिवर्तन देखिएको थियो । उनलाई विभिन्न डाक्टरहरुसंग देखाई डाक्टरले दिएको परामर्श अनुसार उपचार गराएपछि उनको शारिरीक र मानसिक दुवै स्वास्थ्यमा उल्लेखनीय सुधार आएको मानव सेवा आश्रम गण्डकी प्रदेशका संयोजक एवं केन्द्रीय सदस्य अनिता अधिकारीले बताइन् ।
मानसिक रोगीलाई हेलाँ र तिरस्कार होइन, माया र उपचारको खाँचो पर्दो रहेछ । आश्रममा उनलाई नियमित रुपमा डाक्टरलाई देखाइ औषधी खुवाउने गरेपछि उनीमा सकरात्मक परिवर्तन आएको र नियमित रुपमा रेखदेख र उपचारले मानसिक रोगी पनि निको हुँदा रहेछन् भन्ने ईमानसिंहबाट प्रमाणित भएको संयोजक अधिकारीले बताइन् ।
संयाेजक अनिता अधिकारीसंग गफिदैं इमानसिंह गुरूङ
अहिले ईमानसिंह गुरुङ आश्रमबाट घर फर्केका छन् । जेठा दाजु र भाउजुसंगै आफ्नो घरमा बसेका छन् । केही दिन अघि मात्र उनलाई मानव सेवा आश्रमले परिवारसंग पुनर्मिलन गराएको छ । उनले सो अवसरमा ईमानसिंहलाई राम्ररी हेरबिचार गर्न र नियमित रुपमा औषधी खुवाउन अनुरोध गरिन् ।
परिवारमा पुनर्मिलन भएपछि मात्र ईमानसिंहले बाबु आमाको निधन भएको थाह पाएका रहेछन् । बिक्षिप्त भएर साङलाले बाँधिएर रहेका बेला बाबुआमाको निधन भएको उनलाई थाहै रहेनछ । निको भई घर गएपछि उनले बाबु आमा खोजे, तर देखेनन् । दाजु भाउजुसंग सोधनी गर्दा उहिल्यै बाबा आमाको मृत्यु भइसकेको सुनेपछि उनलाई हुन सम्म नमज्जा लागेको छ ।
अहिले आफूलाई भेटन आउनेहरुसंग ईमानसिंह राम्रैसंग बोल्छन् । बिक्षिप्त अवस्थाका केही स्मृति उनीसंग अझै ताजै रहेछन् । उनको पारिवारिक पुनर्मिलनमा पुगेका पत्रकारहरुसंग उनले आफूलाई बाँधेर राखिएको स्थान देखाउँदै भने–“मलाई यहाँ बाँधेर राखिएको थियो । यो खाँबोमा साङलो बाधिएको थियो । म यसरी बस्थें । खाने यहीँ, दिसा पिसाब यहीँ नै गर्थें । मैले गरेको दिसा पिसाब दाइले साहोरेर फाल्थ्याे।”
बिच्क्षिप्त हुँदा बाँधेर राखिएकाे ठाउँ देखाउँदै ईमानसिंह
ईमानसिंहकी ठूली भाउजु डबल कुमारी गुरुङले भनिन– “उ परिवारको ४ भाइमध्ये कान्छो हो । बाआमा वित्दा उ विक्षिप्त थियो, उसलाई हेक्का नै रहेनछ । अहिले आएपछि बा आमा खोज्दैछ ।”
ईमानसिंह अहिले ५३ बर्षका भए । २०२८ सालमा जन्मेका उनी १८ बर्षको उमेरमा भारतीय सेनामा भर्ती हुन गएका थिए । उनी भर्ती हुन नसकी घर फर्केकामा त्यसपछि मानसिक रोगी भएका रहेछन् । परिवारले उनको उपचारका लागि धेरै ठाउँमा लगे । बा आमाले उनलाई उपचार गराउन काठमाडौंको मानसिक अस्पतालदेखि भारतको राँचीसम्म लगे । तर उनको रोग निको भएन । गाउँका धामी झाँक्रीको झारफुकले पनि काम गरेन । कहिले यता त कहिले उता गरेर उपचार गर्दा पनि निको नभएपछि उनलाई बाँधेर राख्नु परेको उनका जेठा दाजु बिनीराम गुरुङले बताए ।
पारिवारीक पनुर्मिलन पछि परिवारसंग इमानसिंह
भाइको सुधारोन्मुख स्वास्थ्य अबस्था देखेर बिनीराम अहिले खुशी छन् । भन्छन्– “पहिले त सम्हाल्नै नसकिने थियो र पो बाँधेर राखेको । अहिले त रिसाउने कराउने गर्दैन । थपक्क नबोली बस्छ, दिएको खान्छ, कुरा गरे कुरा सुन्छ, जवाफ पनि फर्काउँछ ।” उनलाई अहिले आमाले मर्नु अघि बोलेका कुराको झलझली याद आइरहेको छ । उनकी आमा भन्थिन रे–“सबैको जीवनमा दुःख मात्र हुँदैन, यसले पनि कुनै दिन सुख पाउला नि !” उनले भने– “आमाले भन्थ्याे– यसको जीवनमा पनि कुनै दिन भाबी आउला, यसलाई राम्रो होला । नभन्दै मानव सेवा आश्रम यसको जीवनमा भावी बनेर आयो, भाइलाई धेरै सञ्चो भयो, उसले नयाँ जीवन पायो । आश्रमलाई धेरै धन्यवाद ।”
लमजुङकाे दाेर्दी ९ माझगाउँमा रहेकाे ईमानसिंहकाे घर
पारिवारिक पुनर्मिलनका लागि उनको घरमा गएका मानव सेवा आश्रमका संयोजक अधिकारीसहितको टोली फर्कँदा ईमानसिंह पनि फर्कने मनमा थिए । घर परिवारको भन्दा आश्रमको सम्झनाले उनलाई त्यतै पछ्याएको भान हुन्थ्यो । शुरुमा आश्रममा पनि बसिरहन्थें, घरमा पनि बसिरहने हो भन्दै गरेका उनी आश्रमको टोली फर्कँदा पछ्याउँदै गाडीसम्मै पुगेका थिए । आश्रमको टोली गाडीमा चढ्दा उनका आँखामा आँसु टिलपिल गरिरहेका थिए ।
मानव सेवा आश्रम लमजुङले ईमानसिंह गुरुङलाई आजकोे अवस्थासम्म ल्याउनको लागि प्रत्यक्ष अप्रत्यक्ष साथ र सहयोग गर्ने सबै मानवताप्रेमी मनहरुलाई साधुवादसहित आभार प्रकट गर्दै उनको बाँकी जीवनमा सदैव खुशिको लहर छाईराखोस् भनि सु–स्वास्थ्य, दिर्घजीवनको शुभकामना दिएको छ ।