बेसीशहर, चैत १० गते । विश्वभर फैलिएको कोरोना महामारी र यसले नेपालसहित विश्वभर पारेको प्रभाव र स्वयं आफू र आफ्नो परिवारमा पारेको प्रभाव र त्यसबाट सिर्जना भएको विकराल अवस्थालाई बिषय वस्तु बनाउँदै लमजुङका मूर्धन्य साहित्यकार श्रीकृष्ण न्यौपानेले कोरोना महाकाब्य तयार पारेका छन् ।
चीनको वुहानमा उत्पति भइ इटली हुँदै विश्वभर फैलिएको कोरोनाको महामारी चल्दै गर्दा त्यस समयको भयानक अवस्थाबारे आफूले देखे, भोगे र सुनेका कुरालाई उक्त महाकाब्यमा कथानक ढङ्गले साहित्यकार न्यौपानेले प्रस्तुत गरेका छन् । कोरोना महामारीले विश्वको सबभन्दा बढी शक्तिशाली राष्ट्र अमेरिका र अन्य विकसित मुलुकले भोगेको समस्या र नेपालमा समेत त्यसबाट परेको आपत, कोरोना फैलिन नदिन नेपालका हिमाली गाउँमा गाउँलेहरुले बनाएको आइसोलेन व्यवस्था अनि आफ्नै घरायसी कुरा समेत महाकाब्यमा कविले सरल ढंगले प्रस्तुत गरेका छन् ।
वि.सं. २०७६ साल चैत १० गते कोरोना महामारीका कारण नेपालमा लकडाउन सुरु भएको सम्झनामा २०८१ साल चैत १० गतेकै दिन साहित्यकार न्यौपानेले आफ्नो तेस्रो महाकाव्यका रूपमा उक्त महाकाव्य सार्वजनिक गरेका हुन् ।
उक्त महाकाब्य नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङज्यूले शनिबार काठमाडौंमा लोकार्पण गरेका हुन् । काठमाडौंमा संविधानसभाका सदस्य जमिन्द्रमान घले, लेखकका भतिज एवं मन्त्री गुरुङका स्वकीय सचिव विक्रम न्यौपाने, लेखकका छोरा श्यामविक्रम न्यौपाने लगायतका नेपाल सरकारका अधिकारीहरू र केही साहित्यप्रेमी व्यक्तित्वहरूको साथमा मन्त्री गुरुङले उक्त महाकाव्यको लोकार्पण गरेका हुन् ।सो अवसरमा बोल्दै मन्त्री गुरुङले राष्ट्रिय एकतालाई मजबुत बनाउँदै समाजलाई सही मार्गमा हिँडाउन साहित्यको ठूलो भूमिका रहने विचार ब्यक्त गरे । स्वच्छन्दतावादी भावविधान र परिष्कारवादी शिल्पी विशेषता बोकेका कवि श्रीकृष्ण न्यौपानेको कवितामा छन्दको प्रयोग, शब्दको कालिगढी र भाव सिर्जनाको जादूगरी अद्भूत प्रकृतिको पाइने सो अवसरमा मन्त्री गुरुङले बताए । उनले कवि श्रीकृष्ण न्यौपानेबाट नेपाली साहित्यले थप महाकाव्यहरूको आशा राखेकाले कवि न्यौपानेको कलम निरन्तर चलोस् भन्ने शुभकामनासमेत व्यक्त गरे ।
कोभिड–१९, कोरोनाको उत्पत्ति, त्यसले संसारमा फैलाएको त्रासदिपूर्ण अवस्था, संसारको र नेपालको पहिलो विरामीको मर्म, अमेरिका, बेलायत, इटाली लगायतका पश्चिमा मुलुकहरूमा कोरोनाले मच्चाएको आतङ्क, गणतान्त्रिक मुलुक उत्तर कोरियामा परेको असर र उसले अपनाएको नीति, नेपालमा त्यसले पारेको प्रभाव हुँदै कविको परिवारमा कोरोनाले पारेको असर सम्बन्धी कथालाई १० सर्गभित्र विभिन्न २३ वटा छन्दका १०५६ वटा श्लोकमा समटेर महाकाव्य कोरोनाको रचना भएको कवि न्यैपानेका छोरा श्याम बिक्रम न्यौपानेले जानकारी दिए।
महाकाव्यको भूमिका नेपाली भाषाको सबैभन्दा ठूलो महाकाव्य चन्द्रयुगका लेखक चन्द्रप्रसाद न्यौपानेले लेखेका छन् । उनले प्रस्तुत महाकाव्य कोरोना, कोरोनाको कारण महाकाव्यकारको परिवारमा परेको असरलाई केन्द्रीय कथ्यका रूपमा राखेर लेखिएको भएकाले यसलाई निजात्मक महाकाव्य भनिए पनि त्यो सँगसँगै आएका कोरोनाका ऐतिहासिक पृष्ठभूमि तथा विभिन्न देश र समुदायको तत्कालीन अवस्थाको चित्रणले यो काव्य सामाजिक काव्य बन्न पुगेको भूमिकामा लेखेका छन् । यसलाई पुष्टि गर्न महाकाव्यका निम्न श्लोकलाई उदाहरणका रूपमा लिने सकिने उनको ठम्याइ छ ।
मान्छे गर्छ यहाँ प्रयोग जसले बुझ्दैन उम्रिन्छ के
के उम्रिन्छ र हुन्छ भिन्न नतिजा बुझ्दैन खुम्रिन्छ के
कोरोना किन उम्रियो कुदरती या यो थियो निर्मित
खै को उत्तर गर्छ आज दुनियाँ देखिन्न हाम्रो जित
शिक्षा दिन्छ बसेर आज कसले नेपथ्यमा पो छ कि
कोही मानिस नै कृतज्ञ नहुँदा झन् तथ्य बिग्रिन्छ कि
कल्चौँडातिर कागती रस मिसे के दूध पाइन्छ र
धर्ती नै सुखशान्तिको रहिदिए के स्वर्ग चाहिन्छ र ?
महाकाव्यलाई बरिष्ठ छन्दगुरु प्रह्लाद पोख्रेलले कवितात्मक शुभकामना लेखेका छन् ।
पिंगल छन्द प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका कवि न्यौपाने करिब आधा शताब्दीदेखि नेपाली भाषा र छन्द साहित्यको क्षेत्रमा साधनारत छन् । उनको यो १६ औँ प्रकाशित काव्य कृति हो ।
23 Mar 2025
खबरकुञ्ज