मर्स्याङदी नदीमा विद्युत आयोजना निर्माणको बिषयले तरंग, बेसीशहरमा प्रतिकारकाे तयारी

खबरकुञ्ज

बेसीशहर, कार्तिक २६ । मस्र्याङदी नदीमा बन्न लागेको ५० मेगावाटको मर्स्याङदी बेसी जलविद्युत आयोजना निर्माणको बिषयले लमजुङ सदरमुकाम बेसीशहरमा तरंग उत्पन्न गरेको छ । 

बेसीशहरका स्थानीयले यस आयोजनाको विरोध गरेका छन् । बेंसीसहर नगरपालिकाको वडा नंं ६ बेलौती बिसौनामा बाँध बाँधी वडा नं. १० को सालडाँडामा जलविद्युत गृह रहने गरी यो आयोजना निर्माण गरिने भएपछि बेसीशहरको वडा नं. ६, ७, ८, ३, २ र १० प्रत्यक्ष रुपमा आयोजनाको प्रभावित क्षेत्रमा पर्छन् । यी सबै वडाका बासीन्दाले यो आयोजना निर्माण गर्न नहुने भन्दै विरोध गरेका छन् । तर आयोजन कुनै पनि हालतमा बनाउने तयारी भएपछि स्थानीय प्रतिकारमा उत्रने तयारीमा छन् । 

प्रतिकार स्वरुप बेसीशहरमा कार्तिक २७ गते बृहत भेला आयोजना हुँदैछ । मर्स्याङदी बचाऔं, प्रकृति बचाऔं भन्ने मूलमन्त्रका साथ स्वतःस्फूर्त रुपमा बेसीशहरका युवाहरु यस अभियानमा जोडिन थालेका छन् । युवाहरुले सदरमुकाम बेसीशहरको सुन्दरता र बरदानको रुपमा रहेको मर्स्याङदी  नदीलाई आयोजनामार्फत सुरुङमा पठाउँदा भोलिको बेसीशहर कस्तो हुने ? आयोजनाको प्रभावका कारण खानेपानीको मूल सुक्नेदेखि अन्य हुन सक्ने वातावरणीय प्रभाव र इकोसिस्टममा पर्ने अरु प्रभावका बारेमा बहस शुरु भएको छ ।

भूगोलविद तथा सामाजिक अभियान्ता डा बालकृष्ण बरालले आयोजना सञ्चालन हुँदा बेसीशहरलाइ सुक्खा बनाउने, सुरुङ निर्माण गर्दा प्रयोग गरिने बिष्फोटक पदार्थले बाँझाखेत तर्फको पहाडी भिरालोमा भएका वस्तीहरू पहिरोको शिकार बन्ने, मर्स्याङदी नदीले निर्माण गरेको पारिस्थितिक प्रणाली बिनास भइ स्थानीय क्षेत्रका जनताको शारिरीक र मानसिक स्वास्थ्यमा अत्यन्त प्रतिकूल असर पर्ने बताउँछन् । मस्र्याङदी नदी स्थानीयको धार्मिक एवं सांस्कृतिक आस्थाको धरोहर भएकाले जलविद्युत आयोजनाको निर्माणले यो धरोहरमाथि प्रहार हुने भन्दै बिरोध गरेका छन् ।

डा बरालले परियोजना यति ठूलो र पुरानो शहरको नजिक निर्माण गर्न कानुनी रुपमै बञ्देज भए पनि उक्त कानुन तोडेर निर्माण गर्न लागिएको भन्दै आपत्ती जनाएका छन् । उनले यस क्षेत्रमा आईएलओ १६९ जस्तो अन्तर्राष्ट्रिय कानुन आकर्षित हुने भए पनि यो कानुनको समेत उल्लंघन गरिएको दावी गरेका छन् । उनले स्थानीय बातावरण बिग्रिने र नदीको बहाव रोकिंदा नदीको प्रबाह मार्ग दुर्गन्धित हुने र बेसीशहरका वासिन्दाको स्वास्थ्यमा धेरै प्रतिकूलता देखा पर्नेतर्फ पनि सचेत गराएका छन् । उनले स्थानीय वासिन्दाको भविष्यमाथि यसले अत्यन्त नकरात्मक असर पर्ने हुंदा यो परियोजनाको निर्माण कार्य रोक्न सम्पूर्ण बेसीशहरवासी  एकजुट भै बिरोध गर्नुपर्ने आवश्यकता रहेको बताए ।

पत्रकार एबं सामाजिक अभियान्ता मिलन शर्मा दनाईले पनि यस जलविद्युत आयोजनाको बिरोध गरेका छन् । उनले यस बिषयमा सरोकारवाला निकाय चुप लागेकोमा आश्चर्य मान्दै स्थानीयको हित विपरित र वातावरणमा समेत असर पर्ने गरी आयोजना निर्माण हुन लाग्दा समेत सरोकारवाला निकाय मौन बस्नुको कारण खोजेका छन् । उनले जिम्मेवार निकायको जिम्मेवारी र उत्तरदायित्व के हो भनि प्रश्न गर्दै सरोकारवाला निकाय गैरजिम्मेवार भए भन्दैमा सचेत नगरिक चुप भएर बस्न नहुने र बेसीशहरको स्वच्छता, वातावरणीय प्रभाव र इकोसिस्टम जोगाउन स्थानीय प्रतिकार गर्न तयार हुनुपर्ने बताएका छन् । उनले बेसीशहरको सुन्दरता मर्स्याङदी नदीकै देन भएको र यो कालान्तरसम्म कायम रहनुपर्छ भन्दै जलविद्युत आयोजना बन्दा पारिस्थितिक प्रणााली बिग्रने बिषयमा धेरैको ध्यान नगएकोमा चित्त दुखाएका छन् । उनले विनास निम्त्याउने जलविद्युतको सट्टा सोलार प्यानलमा जडान गर्न सकिने भन्दै मर्स्याङदीमाथि भएका भद्दा मजाक र दोहनको नांगो नाच स्थानीयलाई सैह्य नहुने चेतावनी दिएका छन् । 

बेसीशहर वडा नंं ९ का वडाध्यक्ष खुशीजंग गुरुङले आयोजना निर्माण भएमा सबै भन्दा बडी असर बेसीशहरबासीलाई पर्ने र यसले मस्र्याङ्दी नदी सुख्खा पार्ने देखी यहाँका वाताबरणमा पनि धेर नकरात्मक असर गर्ने भएकाले यो आयोजना रोक्न नसके पछि पछुतो मान्न पर्ने निश्चित रहेको बताएका छन् । उनले मस्र्याङदी नदीकै कारण बेसीशहरको सौन्दर्य र स्वच्छता कायम रहेकोले यसलाई बचाउन सबैसंग अपील गरेका छन् । 

यो आयोजनाको जेनजी लमजुङले पनि बिरोध जनाएको छ । जेनजी लमजुङले ब्यापक जनदबाब पश्चात काम गर्ने बाताबरण नभएपछि काम रोकिएकोमा फेरि हाइड्रो पावरले पुनः काम अगाडि बढाएको सन्दर्भमा यस हाइड्रो पावरले पार्ने प्रभाव, पर्यावरणीय असन्तुलन र बेसीशहर को सुन्दरतालाइ पार्ने प्रभावका सन्दर्भमा यहि कार्तिक २७ गते बिहिबार ब्यापक छलफल गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निधो गरेको छ ।

नागरिक स्तरमा यस आयोजनाको ब्यापक विरोध भए पनि बेसीशहर नगरपालिका भने यस बिषयमा मौन छ । यस बिषयमा नगरपालिकाको धारणा बुझ्न नगरप्रमुख गुमानसिंह अर्याललाई मोबाइलमा सम्पर्क गर्दा उनले मोबाइल उठाएनन् । उपप्रमुख पद्मा गुरुङले आफूलाई यस बिषयमा खासै जानकारी नभएको प्रतिक्रिया दिइन् ।

बेसीशहर वडा नंं ८ का वडाध्यक्ष पवित्रा थापा रानाले आयोजना स्थानीयको हितमा नभएको भन्दै स्थानीयको बिरोधका बाबजुद आयोजना निर्माण गरिनु कसैको हितमा नहुने भन्दै बेसीशहर जस्तो धेरै जनघनत्वको ठाँउमा आयोजनाले प्राकृतिक प्रकोप ल्याउन सक्ने भएकाले यो जनताको हितमा नहुने बताइन् । आयोजनाले केही विकासका काममा सहयोग गर्ला, नगरपालिकालाई रोयल्टी पनि देला तर यसले भविष्यमा समग्र बेसीशहरलाई नराम्रो गर्ने उनको बुझाइ छ । मस्र्याङी नदी बेसीशहरलाई प्रकृतिले दिएको सुन्दर उपहार भएकाले यसको सुन्दरता समाप्त पार्नु राम्रो हुँदैन, तर यस बिषयमा नगरपालिकामा कुनै छलफल भएको छैन, उनले भनिन् ।

यस अघि स्वतन्त्र अग्रिम जानकारीसहितको मञ्जुरी (एफपिक) लमजुङको अगुवाइमा प्रभावित क्षेत्रका स्थानीयले आयोजनाको डिजाइन परिवर्तन गर्न माग गरेको थियो । एफपिक लमजुङका अध्यक्ष खेमजङ गुरुङको नेतृत्वमा स्थानीय तह प्रभावितहरूको समूहले आयोजनासमक्ष ज्ञापनपत्र बुझाउँदै आयोजनाबाट स्थानीय समुदायमा प्रतिकूल असर नपर्ने गरी पुनः डिजाइन गर्न माग गरेका थिए

दिव्यज्योति हाइड्रोपावर प्रालिले एक दशकअघि यसकाे सर्भे गरेको थियाे । दिव्यज्योतिले ५० मेगावाटको यो आयोजनाकाे ९८ प्रतिशत शेयर चिनियाँ कम्पनीलाई बिक्री गरेकोमा अहिले यो आयोजना अपि पावर लिमिटेडले खरिद गरेको छ । 

आयोजनाले २०७५ भदौ १० मा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता गरि बेसीशहरका सरोकारवालाई थाहै नदिई सुटुक्क वातावरणीय प्रभाव मूल्याङ्कन सहितको  सार्वजनिक सुनुवाई पनि गरिसकेको छ ।

प्रतिक्रिया