बेसीशहर, असार २४ गते । हिमालपारीको जिल्ला मनाङमा यार्तुङको रौनक शुरु भएको छ । यस पटकको यार्तुङलाई बिशेष बनाउन मनाङीहरुले विशेष कार्यक्रमको आयोजना गरेका छन् ।
यार्तुङलाई बिशेष रुपमा मनाउन ग्राण्ड यार्तुङ २०२४ को आयोजना गरी महोत्सवकै रुपमा यसलाई मनाइँदै छ । यस अन्तर्गत घोडादौड, आर्चरी र डोरी तान्ने खेललाई प्रतियोगिताको रुपमा समावेश गरिएको छ । आइतबारबाट शुरु भएको प्रतियोगिता शुक्रबार सकिने छ ।

तस्वीर साैजन्यः विनाेद गुरूङ, मनाङ
यार्तुङ मनाङको ठूलो पर्वसमेत हो । तीर हान्ने र घोडा दौडाउने पर्वको रुपमा चिनिने पर्व खेलकुदसंग सम्बन्धित रहेकाले प्रतियोगिताकै रुपमा मनाउन लागिएको हो । यस प्रतियोगितामा भाग लिन मनाङसहित मुस्ताङका प्रतियोगीहरु समेत मनाङमा पुगेका छन् । मनाङमा जस्तै मुस्ताङमा पनि धुमधामका साथ यार्तुङ मनाइन्छ ।
यार्तुङको अर्थ बर्षाका बेलामा पर्ने पर्व भन्ने बुझिन्छ । वर्षायाममा खेतीबाली लगाइसकेपछि रमाइलो गरेर थकान मेटाउनका लागि यार्तुङको परम्परा शुरु भएको मानिन्छ । मााथिल्लो मनाङ, खाङसार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेसम्म यो पर्व मनाइन्छ । माथिल्लो मनाङमा ४ दिनसम्म यार्तुङ मनाउने गरिएकोमा यस बर्ष ६ दिनसम्म बिभिन्न प्रतियोगिता गरी मनाउन लागिएको हो । प्रतियोगिताको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले एवं संरक्षण क्षेत्र ब्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङले संयुक्त रुपमा उद्घाटन गरे ।

मनाङ टंकी मनाङ समाज र ङिस्याङ युवा क्लवको आयोजना तथा नेपाल प्रकृति संरक्षण कोष, अन्नपूणर् संरक्षण क्षेत्र आयोजना, टंकी मनाङ पर्यटन ब्यवस्थापन उपसमितिको आयोजनामा ग्राण्ड यार्तुङको आयोजना गरिएको हो ।
यार्तुङमा मुख्य रौनक भनेको घोडा कुँदाउने हाे । सोही कारण यारतुङलाई घोडेजात्रा समेत भन्ने गरिन्छ । यार्तुङमा कहिँ प्रतियोगिता त कतै रमाइलोको रुपमा गरिने घोडेजात्रामा घोडाचढीहरु दुई भागमा विभाजन भएर फरक फरक गुम्बामा गइ पूजा गर्ने आराधना गर्ने, लामा गुरुहरुको आशीर्वाद लिने र रोटी लगायतका सगुन खाएर समूहमा नाचगान गर्ने चलन छ ।

पहाड तथा तराईका जिल्लाहरुमा यतिबेला धान रोपाइँको माचो छ । मनाङमा भने धानखेती हुँदैन । त्यहाँ आलु, फापर, जौ लगायतका बाली प्रमुख रुपमा लगाइन्छ । यतिबेला खेतीपातीको काम पनि प्रायः सकिएको छ । खेतीपातीमा थाकेका मनाङीहरु यारतुङको रमाइलोसंगै थकान मेट्ने गर्छन् ।
मिलन शर्मा दनाई