खुदीबजारमा दशैं लक्षित कृषि तथा पशुमेला सञ्चालन हुने, न्यूनतम तथा अधिकतम मूल्य ताेकियाे

खबरकुञ्ज

बेसीशहर, असोज १५ । मर्स्याङदी गाउँपालिकाको खुदीबजारमा दशैंलाई लक्षित गरी कृषि तथा पशु हाटबजार सञ्चालन हुने भएको छ ।

खुदीको कृषि सेवा केन्द्रमा लाग्ने हाटबजारमा दशैंसंग सम्बन्धित कृषि तथा पशुमेला लाग्ने भएको हो । मर्स्याङदी गाउँपालिकाको सहयोगमा आयोजना हुने हाटबजार असोज १७ देखि १९ सम्म चल्नेछ ।

कृषि तथा पशु हाटबजार सञ्चालन गर्नु अघि कृषि तथा पशुजन्य पदार्थहरुको न्यूनतम तथा अधिकतम मूल्य निर्धारण गरिएको छ । शनिबार बसेको वैठकले विभिन्न ९१ प्रकारका कृषि उपज, १६ प्रकारका पशुपक्षीजन्य उपज र १६ प्रकारका हस्तकलाका उत्पादनको मूल्य निर्धारण गरिएको हो । 

हस्तकलाका उत्पादनमा दुना टपरीदेखि डोको, नाम्लो, मान्द्रो, ठेकी, थुन्से, डालो, हँसिया, खुर्पा, खुकुरी, बञ्चरो, कोदालो लगायतका सामग्री समेटिएका छन् । दुनाको न्यूनतम मूल्य प्रतिगोटा ३ र अधिकतम ५, टपरीको न्यूनतम ५ र अधिकतम १० रुपैयाँ मूल्य कायम गरिएको छ । खुकुरीको न्यूनतम ५ सयदेखि अधिकतम २ हजार, बख्खुको न्यूनतम ५ हजारदेखि अधिकतम ७ हजार ५ सय र राडीको मूल्य न्यूनतम ५ हजारदेखि अधिकतम १० हजार सम्म मूल्य कायम गरिएको छ ।

पशुपंक्षीतर्फ ४० केजीसम्मका जिउँदो खसीबोकाको मूल्य प्रति केजी ५ सय र अधिकतम ५ सय ५०, ४० केजी माथिका खसी बोकाको मूल्य न्यूनतम ५ सय ५० देखि अधिकतम ६ सय रुपैयाँ तोकिएको छ । त्यस्तै कागेभेडाको जिउँदाको मूल्य प्रति केजी ६ सय र अधिकतम ६ सय ५० तोकिएको छ ।

लोकल जातको कुखुराको भाले प्रति केजी न्यूनतम ८ सय र अधिकतम ९ सय, पोथी कुखुरा न्यूनतम प्रति केजी ७ सय र अधिकतम ७ सय ५०, हाँस र गिरिराजको भाले प्रतिकेजी न्यूनतम ५ सय र अधिकतम ५ सय ५० मूल्य निर्धारण भएको छ । त्यस्तै असला माछाको प्रति केजी न्यूनतम ८ सयदेखि १ हजार र रेन्बो ट्राउट माछाको न्यूनतम मूल्य प्रतिकेजी १ हजार ४ सय र अधिकतम १ हजार ५ सय मूल्य निर्धारण भएको छ । बंगुरको मुल्य न्यूनतम प्रति केजी ३ सय र अधिकतम ३ सय ५० तथा सुंगुरको मूल्य न्यूनतम ३ सय ५० र अधिकतम ४ सय निर्धारण भएको गाउँपालिकाले जानकारी दिएको छ ।

हाटबजारका लागि गाईको ध्यू प्रति केजी न्यूनतम १ हजार ८ सय र अधिकतम २ हजार, भैंसीको ध्यू न्यूनतम १ हजार ८ सय र अधिकतम १ हजार ९ सय, घरमौरीको मह प्रतिकेजी न्यूनतम १ हजार २ सय र अधिकतम १ हजार ४ सय र भीरमौरीको मह प्रति केजी १ हजार ७ सय र अधिकतम २ हजार मूल्य निर्धारण भएको छ ।

मर्स्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षता र पालिका भित्रका ९ वटै वडाका अध्यक्षहरु, जनप्रतिनिधि कर्मचारी, गाउँपालिका तथा वडागत कृषक सञ्जालका पदाधिकारी तथा तथा  किसानहरुको सामूहिक छलफल पछि मूल्य निर्धारण गरिएको हो । 

कृषि  तथा पशु हाटबजार सञ्चालन समिति समेत गठन गरिएको छ । समितिको अध्यक्षमा कृषक सञ्जालका अध्यक्ष भिष्मकान्त कुइकेल छन् । १५ सदस्यीय समितिमा नौ वटै वडाका वडास्तरिय कृषक सञ्जाल अध्यक्षहरु, उद्योग वाणिज्य संघ खुदी इकाईबाट खुसीराम गुरुङ, कृषि शाखा प्रमुख विनोद दाहाल, पशु शाखा प्रमुख मधु न्यौपाने समेत रहेका बताइएको छ ।

स्थानीय वस्तुहरुको बजारिकरणका लागि दशैंको अवसरमा गाउँपालिकामा पहिलो पटक कृषि हाटबजार मेला सञ्चालन गर्न लागिएको र यसबाट स्थानीय किसान र उपभोक्ताहरु लाभान्वित हुने अपेक्षा गाउँपालिकाले गरेको गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।

प्रतिक्रिया