बेसीशहर, कार्तिक १७ । खडेरीका कारण असारमा समयमै खेत रोप्न नपाएका किसानलाई यो साता परेको बेमौसमे झरीले पीडामाथि पीडा थपिदिएको छ ।
उत्पादन धेरै हुने भनेर उन्नत जातका धान रोपेका किसानहरु काटेको धान झरीले रुझाएपछि चिन्तामा छन् । लगातार एकसाता सम्म परेको झरीले लमजुङसहित देशैभरी किसानहरुले काटेको धान भिजाएको छ । नकाटिएको धानमा ठूलो क्षति नपुगे पनि पाकेर काटेको धान झरीले लामो समय भिजाउँदा कतिपय ठाउँमा कामै नलाग्ने गरी कुहिएको छ भने कतै काटेको धान उम्रिएका छन् ।

लमजुङका ८ वटै स्थानीय तहमा धानखेती हुन्छ । प्रायः सबै ठाउँमा अहिले उन्नत जातको धान रोपिएको छ । रोपेको चार महिनामै काट्न योग्य हुने उन्नत प्रजातिका धान अधिकांश किसानले काटिसकेका छन् । बर्षा हुने थाह पाएर कतिपय किसानले धान काटेनन्, कतिले काटेको धान थन्क्याउन पनि भ्याए । तर बर्षातको रोकिएर अब पानी पर्दैन भन्ने विश्वासले धेरै किसानले पाकेको धान काटेकामा उठाउन नभ्याउँदै झरी परेपछि धरै किसानले काटेको धानको बिचल्ली भएको छ ।
बेसीशहर नगरपालिका ३ का किसान शिला घिमिरे भन्छिन् “असारमा पानी नपरी खडेरी प¥यो । जसोतसो रोपेको धान पाकेर थन्क्याउने बेलामा झरीले सोत्तर पारेको छ । हामी किसानको त जहाजै डुब्यो । बर्षभरी खान पाइएला भनेर दुःख गरियो, अहिले धान खेतमै कुहिँदा मनै अमिलो भएको छ ।”
बेसीशहरकै किसान सुर्यबहादुर घिमिरेको पनि यस्तै हाल छ । उनी भन्छन्– धान काटे लगत्तै पानी पर्न थाल्यो । उठाउन भ्याइएन । लगातारको झरीले धानको निहिन भिजेर पराल कुहिन थालेको छ । बालाको धान भिजेर उम्रिन थालेको छ । यस बर्ष दशा नै लाग्यो, असारमा खडेरीले धान रोप्न धौ धौ प¥यो, अहिले थन्क्याउने बेलामा झरीले रुझाएर धान पराल सबै बिगा¥यो ।
यिनीहरु त प्रतिनिधि पात्र मात्रै हुन्, सयौं किसानको यस्तै अवस्था छ । अझ अरुको खेतमा ठेक अधियाँमा धान रोप्नेहरुको त झनै बिचल्ली छ । बेसीशहर ८ कि किसान कल्पना दुलाललाई यो झरीले निकै पिरोल्यो । साहुको ५ रोपनी खेत अधिँयामा कमाएकी उनले धान झरी पर्नु अघि काटेकी थिइन् । काटे लगत्तै पानी पर्न थाल्यो तर उनले धान उठाउन सकिनन् । अहिले धान काटेको खेतमा पानी जमेर आहाल भएको छ । धान निहीनमै उम्रिन थालेको छ, पराल कुहिएर कालो भसेकेको छ । खेतमा काटेको धानको अवस्थाले उनका आँखा ओभाना छैनन् ।
मध्यनेपालका किसान शान्ति बिष्टले भनिन्– काटेर राखिएको धान सबै पानीले भिजेर कुहिएको छ, काट्न बाँकी रहेको ठाडो धान समेत ढलेर बोटमै उम्रिन थालेको छ । मेरो मात्रै होइन, धेरै किसानको धान काम नलाग्ने भएको छ । बर्षभरीको मेहनेत र सपना सबै झरीले बगायो ।

दुराडाँडाका किसान रामराज खनियाको पनि त्यस्तै अवस्था छ । झरी पर्ने संकेत पाएपछि हतार हतार कुन्यु लगाएर धान उठाएका उनको कुन्यु भिजेर बिजोग छ । उनी भन्छन्– धान त उठाइयो तर लामो झरीले कन्युँ नै भिजेपछि कुँन्युको धान उम्रन थालेको छ पराल कुहिएको छ ।
लगातारको बर्षाले धान खेतमै भिजेर डुबेपछि कतिपय किसानले खेतमा कुलेसो खनेर पानी तर्काए पनि लगातार झरीले धान भिजाउँदा कामै नलाग्ने भएको छ । कतिपय किसानले लामो समय पाानी पर्ने थाह पार भिजेकै धान पनि उठाएका छन्, तर भिजेकै भए पनि धान उठाउँदा ठूलो क्षति नभए पनि धान हकुवा हुने र बिग्रिने समस्या आउने पिरोलो उनीहरुको छ ।
बेसीशहरको वडा नं. ३ का किसान बिराट घिमिरे आइतबार भिजेको धान ठटाउँदै गरेको भेटिए । एकसातासम्म खेतमा भिजेको धान गरामै उम्रिन थालेपछि खेतला खोजेर धान उठाएर ठटाएको उनले बताए । उनले भने– “पराल त काम लाग्दैन होला, धान अरु खेतमा राख्दा कत्ति पनि काम नलाग्ने डरले उठाएर ठटाएको छु । हेरौ यसलाई सुकाएर केही भने पनि जोगाउन सकिन्छ कि ?”
झरीले लमजुङ जिल्लामा ६० प्रतिशतको हाराहारीमा धान खेती क्षति गरेको अनुमान छ । तर कृषि ज्ञान केन्द्र लगायत सरोकारवाला निकायले क्षतिको अहिलेसम्म आँकलन गरेका छैनन् । झरीले धान खेतमा क्षति भए पनि किसानहरुले कुनै राहत पाउने लक्षण देखिएको छैन । यसबारेमा कृषि ज्ञान केन्द्र लमजुङमा सम्पर्क गर्दा जिम्मेवार कोही अधिकारी सम्पर्कमा आएनन् । कार्यालयका प्राविधिक सहायक अनिल तिवारीले जिल्लाका धेरै ठाउँबाट धानबालीमा क्षति भएको खबर आए पनि कार्यालयबाट क्षतिको अनुगमन नगरिएको जानकारी दिए ।
यता जिल्ला सदरमुकाम रहेको बेसीशहर नगरपालिकामा भने बर्षाका कारण धानबालीमा भएको क्षति र किसानका मर्काबारे छलफल भएको छ । पालिकाको कृषि शाखाले मेयर गुमानसिंह अर्यालसंग धानबालीमा भएको क्षतिबारे छलफल गरी किसानका लागि केही राहत उपलब्ध गराउन सकिन्छ कि भनि छलफल गरेको कृषि शाखाका नायव प्राविधिक सहायक मिलन श्रेष्ठले जानकारी दिए । उनका अनुसार बेसीशहर नगरपालिकामा अनुमानित १०७७ हेक्टर जमीनमा धानखेती गरिएकोमा क्षतिको यकीन तथ्याङ्क प्राप्त भइसकेको छैन । शाखाले फिल्ड भिजिटको तयारी गरेको छ । पीडित किसानहरुलाई राहत दिन बजेट ब्यवस्था नभए पनि मिलेसम्म राहत दिने भन्नेमा छलफल भएको र मेयर अर्याल पनि यसमा सकरात्मक रहेको श्रेष्ठले जानकारी दिए ।
नेपालमा १३ लाख ७६ हजार ४ सय ६६ हेक्टर जमिनमा धान खेती हुने गर्छ । समयमा बर्षा नहुँदा करीब ९० प्रतिशत क्षेत्रफलमा मात्र यस बर्ष रोपाइँ भएकोमा लगातार एकसाता परेको अविरल वर्षा र हावाहुरीले धानबालीमा नोक्सानी पु¥याएको छ जसका कारण धानको उत्पादन घट्न गई देशभर चामल आयात वृद्धि हुने देखिन्छ ।
खबरकुञ्ज