लमजुङको बेसीशहर नगरपालिका वडा नंं १० गाउँभाचोकमा स्थानीय लालीगुराँस आमा समूहले गाउँमा सामुहिक पाहुना घर निर्माण गरेको छ ।
गाउँमा आउने पाहुनाहरुलाई सुविधा सम्पन्न तरिकाले राख्न सकियोस् भनेर गाउँमा पाहुनाघरको निर्माण गरिएको हो । गाउँमा आउने पर्यटक तथा गाउँमा विवाह, पुटपुटे, अघ्र्यूं आदि हुँदा आउने परपाहुनाको सुविधाका लागि पाहुनाघरको निर्माण गरिएको हो ।
४४ लाख ५० हजार २३३ रुपैयाँको लागतमा बनेको उक्त पाहुना घर निर्माणका लागि स्थानीयले आफ्नै श्रोतमा ३७ लाख ५० हजार भन्दा बढी रकम खर्च गरेका छन् । यसका लागि स्थानीय आमा समूहले नाचगानबाट संकलन गरी राखेको नृत्य कोषबाट १२ लाख एक सय ९४, आमा समूहको घुम्ती कोषबाट चार लाख ३८ हजार नौ सय ४०, स्थानीय बाबा समूहले कृष्णचरित्र नृत्यबाट संकलन गरी राखेको कृष्ण चरित्र कोषबाट तीन लाख १८ हजार नौ सय ६० रुपैयाँ, स्थानीय अटल शक्ति युवा क्लवको कोषमा रहेको ५५ हजार र गाउँभाचोकका चेलीबेटीहरुको कोषमा रहेको एक लाख ५० हजार रुपैयाँ लगानी भएको लालीगुराँस आमा समूहका कार्यबहाक अध्यक्ष डिलकुमारी गुरुङले बताइन् ।
यसबाहेक उक्त भवनका लागि स्थानीयले गाउँमा १९ लाख भन्दा बढी रकम चन्दा संकलन गरेका थिए ।
गाउँलेहरुको होस्टेमा हैंसे गर्दै बेसीशहर नगरपालिकाले पाँचलाख र वडा कार्यालयले दुईलाख रुपैयाँ उक्त भवनका लागि बजेट दिएका थिए ।
अहिले गाउँ भाचोकमा पाहुना घरको निर्माण सकिएर उद्घाटन समेत भएको छ । भवन बनेपछि अब गाउँमा आउने पाहुनाहरु होटलको जस्तो सुविधा भएको पाहुना घरमा बस्न पाउने छन् ।
पाहुनाघर निर्माणका स्थानीय डिलकुमारी गुरुङले ७ आना जग्गा निःशुल्क उपलब्ध गराएकी थिइन् ।
नवनिर्मित पाहुना घरको एक बेसीशहर नगरपालिका प्रमुख गुमनसिंह अर्यालले एक समारोहबीच उद्घाटन गरेका छन् । सो अवसरमा बोल्दै उनले नगरपालिकाको सिमित श्रोतसाधनका कारण भवनका लागि धेरै रकम सहयोग गर्न नसकेकोमा दुःख माने ।
उनले पाहुना घर निर्माण भएपछि गाउँमा आउने पाहुनाहरुको व्यवस्थापनमा सजिलो हुने भन्दै उनले गाउँभाचोकमा ग्रामीण पर्यटन फस्टाउने सम्भावना रहेकाले पर्यटन प्रबद्र्धनमा जुट्न गाउँलेहरुलाई आग्रह गरे । यसका लागि नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धतासमेत उनले ब्यक्त गरे ।
बेसीशहर नगरपालिकाका उपप्रमुख पद्मा गुरुङले आमा समूहको नेतृत्व र लगानीमा गाउँमा स्तरीय पाहुनाघर बनेकोमा खुशी ब्यक्त गरिन् । उनले गाउँ गाउँमा आमा समूहले नाचगान गरेर संकलन गरेको रकमबाट राम्रा राम्रा सामाजिक काम भएको भन्दै आमा समूहको कार्यको सरहना गरिन् ।
सो अवसरमा पाहुना घर निर्माणमा सहयोग गर्ने सवैलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।