मर्स्याङ्दी गाउँपालिकाको पर्यटन विकासबारे पोखरामा बृहत अन्तरक्रिया

खबरकुञ्ज

पोखरा, साउन १५ । पर्यटनको प्रचुर सम्भावना रहेको लमजुङको मर्स्याङ्दी गाउँपालिकाको पर्यटन क्षेत्रको विकास, रणनीति र प्रवद्र्धनका उपायहरूबारे पोखरामा बृहत अन्तरक्रिया भएकोे छ ।

मर्स्याङदी गाउँपालिकाले बिहीबार पोखराका पर्यटन ब्यवसायी र पर्यटन सम्बन्धी संघ संस्थाका प्रतिनिधिहरुसंग मर्स्याङदी गाउँपालिकाको पर्यटकीय सम्भावना, विकास र पर्यटन प्रबद्र्धनका उपायहरुका बिषयमा अन्तरक्रिया गरेको हो । 

गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको अध्यक्षतामा भएको अन्तरक्रियामा पर्यटन ब्यवसायी एवं संघ–संस्थाहरूका प्रतिनिधिहरुले दीगो पर्यटन विकासका लागि दीर्घकालीन योजना बनाउन र पर्यटकीय क्षेत्रहरुमा आवश्यक पूर्वाधारको विकास गर्दै स्थानीय बासीन्दालाई थप जागरुक बनाउनु पर्ने सुझाव दिए ।

कार्यक्रमको औचित्यबारे जानकारी गराउँदै गाउँपालिकाका अध्यक्ष गुरुङले मर्स्याङ्दी गाउँपालिका प्राकृतिक रुपमा सुन्दर, सांस्कृतिक रुपमा धनी रहनुका साथै जैविक विविधता, हिमाली सौन्दर्य र साहसिक पर्यटनको समेत सम्भावना रहेको पालिका रहेकोले त्यहाँको पर्यटन विकासका सम्भावनाहरूका बारेमा पर्यटन ब्यवसायी र पर्यटनका क्षेत्रमा काम गर्ने संघ संस्थाको ध्यानकर्षण गराउन कायृक्रम आयोजना गरिएको जानकारी दिएका थिए ।

कार्यक्रमका सहभागीहरुले मर्स्याङदी गाउँपालिकामा सांस्कृतिक पर्यटन, घरबास (होमस्टे) व्यवस्थित ढंगले विकास गर्न सके महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने भएकाले त्यसका लागि आफूहरु साझेदारी गर्न तयार रहेको बताएका थिए । उनीहरुले मर्स्याङदी गाउँपालिकाको पर्यटन प्रवद्र्धनका लागि रणनीतिक साझेदारी, प्रचार–प्रसार तथा आगामी योजनाहरूको खाका तय गर्न गाउँपालिकालाई आग्रह समेत गरेका थिए ।


सहभागीका महत्वपूर्ण सुझाव ग्रहण गर्दै गाउँपालिकाका अध्यक्ष गुरुङले निकट भविष्यमै पर्यटन पूर्वाधार निर्माण, मार्गचित्र तयार गर्ने, प्रचार–प्रसार अभिवृद्धि गर्ने र निजी क्षेत्रसँग सहकार्य बढाइने जानकारी दिए ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोशिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण प्रसाद आचार्य, नेपाल एसोशिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) गण्डकीका अध्यक्ष किशोर दहाल, गुरुङ पर्यटन व्यवसायी संघ (जीटिन) गण्डकीका अध्यक्ष किसमकुमारी गुरूङलगायतका पर्यटन क्षेत्रका अगुवाहरु सहभागी थिए ।

गुरुङ पर्यटन व्यवसायी संघ (जीटिन) गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ गुरुङको सहजीकरणमा भएको कार्यक्रममा मर्स्याङ्दी गाउँपालिकाका वडा नंं २ का वडा अध्यक्ष चेतबहादुर गुरुङ, वडा नंं ५ का वडा अध्यक्ष धनश्याम घले र वडा नंं ७ का वडा अध्यक्ष तिलबहादुर गुरुङलगायत सहभागी रहेका मर्स्याङदी गाउँपालिकाका अध्यक्षका स्वकीय सचिव प्रदीप गुरुङले जानकारी दिए ।

कार्यक्रमले मर्स्याङदी गाउँपालिकालाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक रणनीति निर्माण, सहकार्यको सम्भावना र दीर्घकालीन योजना निर्माणमा टेवा पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया