लमजुङका अब्बल समाजसेवी नरेन्द्र ढुंगानाकाे निधन

बेसीशहर । लमजुङका वरिष्ठ समाजसेवी सुन्दरबजार नगरपालिकाको वडा नं. ७ निवासी नरेन्द्रराज ढुंगानाको ६७ बर्षको उमेरमा निधन भएको छ । कलेजोको रोगबाट ग्रस्त ढुंगानाको उपचारको क्रममा आइतबार चितवनमा निधन भएको हो ।

लामो समयदेखि कलोजोको उपचार गराइरहेका ढुंगानालाई रोगले च्यापेपछि बिजया दशमीको भोलिपल्ट थप उपचारका लागि भरतपुर मेडिकल कलेजमा लगिएकोमा उपचारकै क्रममा आइतबार बिहान ८.३० मा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।

स्व. ढुंगानाको आइतबार नै सुन्दरबजार ७ मा पर्ने पाउँदीघाटमा अन्तिम संस्कार गरिएको छ । उनको पार्थिव शरीरमा जेठा छोरा गिर्वाण ढुंगानाले दागबत्ती दिएका थिए । उनलाई अन्तिम विदाइ गर्न सुन्दरबजार, भोटेओडारदेखि बेसीशहरबाट पनि थुप्रै सामाजिक ब्यक्तित्व, राजनीतिक दलका कार्यकर्ता र स्थानीयबासी पुगेका थिए । स्व. ढुंगानाको पार्थिब शरीरमा नेपाली कांग्रेस लमजुङका नेताहरुले पार्टीको झण्डा ओढाएर अन्तिम विदाइ गरेका थिए । यसबाहेक उनलाई नेपाल प्रहरीको एक टुकडीले अन्तिम सलामी समेत दिएका थियो  ।

स्व. ढुंगानाका एक श्रीमती, दुई छोरा, एक छोरी र दुई बुहारी छन् । 

सुन्दबजार क्षेत्रमा अब्बल समाजसेवी, हक्की स्वभाव र सहयोगी भावनाका ब्यक्तित्व बनाएका ढुंगाना विभिन्न सामाजिक संघ संस्थामा क्रियाशील थिए । उनी पूर्व प्रहरी समेत हुन् । नेपाल प्रहरीकाे प्रहरी सहायक निरीक्षक पदबाट निवृत्त भई समाजसेवाका साथै ब्यापारमा लागेका ढुंगानाले भोटेओडारको फूलबारीमा चलचित्र घर निर्माण गरेका थिए ।

भोटेओडारको भक्ति आदर्श क्याम्पससहित विभिन्न विद्यालयहरुमा सर्वोत्कृष्ट चन्दादाताको रुपमा रहेका ढुंगाना सुन्दरबजारमा उदाहरणीय ब्यक्तित्वको रुपमा परिचित छन् ।

प्रतिक्रिया