बेसीशहर, भदौ २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । केही बेर अघि उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा पेश गरेका हुन् ।
सोमबारबाट शुरु भएको जेनजी आन्दोलन आज थप आक्रामक भएपछि ओलीले राजीनामा दिएका हुन् ।
राष्ट्रपतिलाई दिएको आफ्नो राजीनामा पत्रमा उनले मुलुकमा उत्पन्न असामान्य परिस्थितलाई ध्यानमा राख्दै आफूले राजनीतिक निकास र समस्या समाधानको थप पहलका लागि राजीनामा दिएको उल्लेख गरेका छन् ।

आन्दोलनकारीहरुले आज मुलुककै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा प्रवेश गरी मूलगेटमा आगो लगाएका छन् । आन्दोलनकारीहरुले बानेश्वरस्थित संसद भवनमा पनि आगजनी गरेका छन् । उनीहरुले राष्ट्रपति रामचन्द्र पाैडेलकाे घर, प्रधानमन्त्री ओलीकाे नीजि निवास, कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठ स्थित निवास, देउवा पत्नी आरजु राणाको धनगढीस्थित घर, निवर्तमान गृहमन्त्री रमेश लेखक, कांग्रेस नेता गगन थापाको काठमाडौंका घरमा पनि आगो लगाएका छन् ।
आन्दोलनकारीहरुले नेपाली कांग्रेस र नेकपा एमालेको केन्द्रीय कार्यालयमा पनि तोडफोड गरी आगो लगाएका छन् । आन्दोलनकारीहरुले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रका नेताहरुको घर खोजी खोजी आगजनी गरेका छन् ।
सोमबारबाट शुरु भएको जेनजी आन्दोलन आज थप विस्तार र आक्रामक भएको छ । आजको आन्दोलनमा पनि ठाउँ ठाउँमा मुठभेडका घटना भए पनि छिटफुटबाहेक अप्रिय घटना घटेको खबर छैन ।
खबरकुञ्ज