जातीय सद्भाव र एकताको प्रतीक रोपाइँजात्राः लमजुङबासीको साझा संस्कृति

मिलन शर्मा दनाई

बेसीशहर, भदौ १० गते । श्रीकृष्ण जन्माष्टमीको अवसर पारी लमजुङ सदरमुकाम बेसीसहरमा सोमबार रोपाइँजात्रा निकालिएको छ । 

बेसीशहरमा रहेका नेवार समुदायले परम्परादेखि देखाउँदै आएको रोपाइँजात्रामा स्थानीय नेवार समुदायका केटाकेटीदेखि बुढापाकासम्मले विभिन्न भेषभूषामा सजिएर रोपाइँजात्रा मनाएका हुन् । 

बेसीशहरको भीमसेनस्थानबाट शुरु भएको रोपाइँजात्रा त्रिवेणी टोल, मनाङे चौतारा, फूलबारी चोक, प्रशासन चोक, शेराचोक, विदाइ चौतारा, नारायण स्थान चोक हुँदै पुनः भीमसेनस्थानमा पुगी टुंगिएको छ । जात्रामा नेवार समुदायका २५० भन्दा बढी सहभागी थिए । यसबाहेक जात्रा हेर्नेहरुको संख्या भने ठूलो थियो ।


कृष्ण जन्माष्टमीमा बेसीशहर बजारमा पञ्चेबाजा बजाएर, हलगोरु नारेर, रोपारे र बाउसेहरु जम्मा भएर धूमधामले रोपाइँ गर्ने चलन परम्परादेखि चल्दै आएको हो । दिवंगतहरुको सम्झनामा र उनीहरुको विलापमा रोइरहेका आफन्तलाई हसाउँन र संसार यस्तै छ, सबैले मर्नुपर्छ, अरुको घरमा पनि मान्छे मरेका छन् भन्ने देखाउन गाईजात्राको शुरुवात गरिए जस्तो रोपाइँजात्राको बिषयमा त्यस्तो किंबदन्ती भने पाइँदैन । 

तर भगवान कृष्णको जन्म हुने भाद्र कृष्ण अष्टमीका दिन राती मारुनी नाच्ने नचाउने नेवारी परम्परा विकसित हुँदै रोपाइँजात्राको रुपमा परिणत भएको बताउँछन् बेसीशहर नेवा खलका सचिव बिमल श्रेष्ठ ।

श्रेष्ठका अनुसार रोपाइँजात्रा देशका अधिकांश नेवार वस्तीहरुमा लगाइन्छ । पौराणिक हिसाबले श्रीकृष्ण भगवानको जन्म भएका बेला मारुनी नचाउने परम्परा विकसित भएको मात्र हो । उनी भन्छन्–“कृष्ण जन्माष्टमीमा पहिले राती मारुनी नाच्ने चलन हुन्थ्यो । बजार वस्तीहरु बढेपछि ब्यापार ब्यवसायको पनि विकास हुँदै गयो । रातीको पर्व जात्रामा अन्य जातजातिको उपस्थिति पनि नहुने भएकाले ब्यापार ब्यवसायमा लागेका नेवार समुदायले दिउसो जात्रा लगाउँदा जात्रा हेर्नका लागि अरु समुदायका मानिसहरु आउने र ब्यापार ब्यवसाय पनि बढ्ने भएकाले रोपाइँजात्रा मनाउन थालिएको होला ।”

पहिले नेवार समुदायले मात्रै ब्यापार ब्यवासय गर्ने गर्थे । बर्षातका बेला ब्यापार घट्ने हुनाले ब्यवसाय प्रवद्र्धनका लागि नेवार समुदायले रोपाइँजात्रा शुरु गरेकोमा धेरैको सहमति छ ।

श्रीकृष्णको जन्म भएको दिनलाई अरु समुदायले पनि भब्य रुपले मनाउँछन् । सोही दिन आयोजना हुने रोपाइँ जात्रालाई पौराणिक र सांस्कृतिक संगमको रुपमा लिनुपर्ने सचिव श्रेष्ठ बताउँछन् ।

श्रेष्ठका अनुसार बेसीशहरको रोपाइँजात्रा रोापइँजात्रा निकाल्ने अघिल्लो दिन सबैलाई निम्तो गरिन्छ । नेवार समुदायका केटाकेटी, युवा, बृद्ध मिलेर रमाइलो र ठट्याउलो पाराले फलाक्दै बजारका चोक र  गल्लीहरुमा घुम्छन् र भोलिपल्टको जात्रा हेर्न निम्ता दिन्छन् । निम्ता भन्ने ब्यक्तिको फलाक्ने शैली, फलाक्दा प्रयोग हुने शब्द र भोलिपल्टको जात्रामा हुने रमाइलो सुनेर दर्शकहरु जात्रा हेर्न पुगिहाल्छन् । विगतमा बेसीशहरमा स्व. सुपकाजी पिया र चिजकुमार श्रेष्ठले रोपाइँजात्राको निम्तो बाड्दै फलाक्ने गरेकामा हिजो आज युवा पुस्ताले त्यो काम गर्छन् ।

भोलिपल्ट विधिपूर्वक भीमसेन मन्दिरमा पूजा अर्चना गरी शुरु गरिन्छ । समुदायका ज्येष्ठ सदस्यले भीमसेन मन्दिरमा पूजा गरेपछि सबैले टीका प्रसाद ग्रहण गर्छन् । शुरुमा देउता बोलाउन देउता आउने ताल बजाइन्छ, जसलाई नागा ताल भनिन्छ । यो तालमा मारुनीहरु मादलको तालमा घुमी घुमी नाच्छन् ।

त्यसपछि रोपाइँ ताल बजाइन्छ । नरसिंहा, सहनाई, ढलकी, दमाह र झ्यालीसहितको पञ्चेबाजा बजाएर रोपाइँताल शुरु गरिन्छ । यो तालमा महिला पुरुषहरु हातमा बीउ लिएर रोपाइँ गरेको अभिनय गर्दै नाच्छन् । 

रोपाइँजात्राको समापन पनि विधिपूर्वक गरिन्छ । शुरुवात गर्दाजस्तै विसर्जन गर्दा पनि तालमा बजाउनुपर्छ । ढलकी र झ्याली बजाएर बीउको भकारी थापि विधिपूर्वक रोपाइँजात्रा समापन गरिने सचिव श्रेष्ठले बताए ।

रोपाइँजात्रामा पहिले पहिले महिलाको भेषमा सजिएर पुरुषहरुले रोपाइँ गरेको अभिनय गर्थे । बेसीशहरको रोपाइँजात्रामा रोपाइँ गर्न निस्कन युवाहरु महिलाको श्रृंगार गर्थे । युवाहरु साडी, ब्लाउजमा सजिएर, ओठमा लिपिष्टिक लगाएर, नाक, कान र गलामा गरगहना लगाएर धपक्क बलेकी नवयौवनाको रोपारे बनेर बजारमा निस्कँदा कसैले पुरुष हो भन्दैनथे । हिजो आज पनि यो चलन हटेको त छैन, तर रोपाइँमा महिलाहरु पनि सहभागी हुन्छन् ।

रोपाइँजात्रामा केही बालबालिका र युवाहरुलाई हली र गोरुको भेषमा सजिन्छन् । गोरु बनेका युवाहरुको काँधमा जुवा बाँधेर सोही डोरीको समाउने ठाउँनिर टीनको बट्टा बाँधेर खेत जोतेको अभिनय गरिन्छ । 

रोपाइँजात्रामा रोपारेहरु खेत रोपेको र बाउसेहरु खन्दै बाउसे गरेको अनि हिलो खेलेको अभियन पनि गर्छन् । कोही डोकोमा बीउ बोकेर रोपारेहरुलाई दिँदै गरेका हुन्छन् । कोही पानी बाँडेको अभिनय गर्छन् भने कोहीले हाँडीमा भुंग्रो हाली धुवा पुत्याउँदै हरेलो गरेको दृष्य देख्न पाइन्छ । अझ कोही भने घोडाको आकृतिको वस्तु कम्मरमा बाँधेर भीडलाई पन्छाउँदै गरेको दृष्य निकै रमाइलो हुन्छ ।

रोपाइँजात्रा लमजुङको भोटेओडार, सुन्दरबजार, गाउँशहर, उदिपुर, चिती, लगायत नेवारी वस्ती भएका क्षेत्रमा देखाउने गरिन्छ । विभिन्न गुठीमा आबद्ध रहेका नेवार समुदायहरु मिलेर यो जात्रा निकाल्छन् ।

रोपाइँजात्रामा जातीय सद्भाव र एकता पनि देख्न पाइन्छ । नेवार समुदायसंगै मगर, ब्राह्मण क्षेत्री, गुरुङ, तामाङ समुदाय पनि सामेल हुने गरेकामा  हिजोआज यो सहभागिता घटेको छ । यद्यपी रोपाइँजात्रा लमजुङमा साझा संस्कृति बनेको छ ।

नेवारी समुदायले गठेमंगलका दिन भूत भगाएर जात्रा निकाल्ने परम्परा छ । त्यसपछि नागपञ्चमीदेखि जनैपूर्णिमामा लाखे नचाइन्छ । गाईजात्रामा दिवंगत आत्माको शान्तिका लागि गाई निकालिन्छ भने तीजमा लाखे लगाएर जात्रा समापन गर्ने परम्परा छ । दुई दशक अघिसम्म बेसीशहरमा बाघजात्रा समेत निकाल्ने गरिएकोमा हिजो आज बाघजात्रा एकादेशको कथा बनेको छ ।

प्रतिक्रिया