बेसीशहर, असार ३० गते । मर्स्याङदी नदीको कटानले सडक भासिएपछि र मध्यमर्स्याङदी जलविद्युत परियोजनामा नदीको कटानका कारण पहिरोले वस्ती नै खतरामा पर्दासमेत समस्या समाधानमा नेपाल विद्युत प्राधिकरणले चासो नदिए पछि प्रभावित क्षेत्रका बासीन्दाले विरोधमा परियोजनाले सञ्चालन गर्न लागेको सोलार प्यानल परियोजना सञ्चालन हुन नदिने चेतावनी दिएका छन् ।

मध्यमर्स्याङदी नदीले कटान गर्दा उदीपुरबाट रिठठेबगर हुँदै लमजुङको बेसीशहर नगरपालिका वडा नं. ११ को बजारखुट्टा, बुढीकुवा, र बरबोट जोड्ने सडक भत्किएर सडकमा मस्र्याङदी बगेको छ । जसका कारण त्यस क्षेत्रका बासीन्दा यातायात सुविधाबाट बञ्चित भएपछि र २ घरसहित वस्ती नै जोखिममा पर्दासमेत परियोजनाले गम्भीरता नदेखाएको भन्दै उनीहरुले यस्तो चेतावनी दिएका हुन् ।

मर्स्याङदी नदीकोको कटानले सडक भासिएपछि अहिले त्यस क्षेत्रका बासीन्दालाई एम्बुलेन्सबाट बिरामी लैजान र खाद्यान्न लगायत सामान ढुवानी गर्न समेत समस्या परेको छ । नेपाल विद्युत प्राधिकरणले मध्यमर्स्याङदी जलविद्युत आयोजनाको जलासय भन्दा तल उदीपुरतर्फको भागमा तटबन्ध निर्माण गरेपछि मस्र्याङदीको बहाव पूर्वतर्फ जाँदा नदीसले सडक कटान गरेपछि त्यहाँका बासीन्दालाई समस्या परेको हो ।
स्थानीयका अनुसार रिठ्ठेबगरको पुलबाट करिब १ किलोमिटर माथि नेपाली सेनाको ब्यारेक अगाडि नदीले ढुंगा गिटी लगायत नदीजन्य पदार्थ थुपारेपछि नदीको बहाव सडकतर्फ गएको हो । बेसीशहर नगरपालिका र ११ नं. वडा कार्यालयले उक्त नदीजन्य पदार्थको ढिस्को हटाई पानीको बहावलाई यथास्थानमा पुर्याउन जिल्ला विपद ब्यवस्थापन समितिलाई पत्राचार गरेका थिए ।

विपद् ब्यवस्थापन समितिले समस्या समाधानका लागि मध्यमस्र्याङदी जलविद्युत परियोजनामा पत्राचार गरेकोमा केन्द्रले आफूखुशी एक समिति निर्माण गरी ढिस्को फाल्न नपर्ने र सडक नै सार्नुपर्ने प्रतिवेदन पेश गरेपछि स्थानीय बासीन्दा क्रुद्ध भएका छन् । सोही ढिस्कोका कारण सडकलाई नदीले कटान गरी यातयात नै बन्द भएको र चालु आर्थिक बर्षमा प्रदेश सरकारको सहयोगमा नदीमा बनाइएको तारजालीसहितको तटबन्धनमा समेत क्षति पुगी जोखिम बढाएको वडा अध्यक्ष जोशीले बताए ।
पत्रकार सम्मेलनमा स्थानीय रुद्रनिधि तिवारी र सुनिल तिवारीले आफूहरुको घर पहिरोको जोखिममा परेकाले घरबास स्थानान्तरण गरिदिन अनुरोध गरेका छन् । स्थानीय सुनिल तिवारीले भने– “मेरो त गोठ र शौचालय पहिरोले बगाइसकेको छ । हामी घरमा बस्न सकेका छैनौं । छोराछोरीलाई पनि छिमेकीको घरमा राख्न बाध्य भएका छौं । यस्तो समस्या कतिदिन झेलिरहनु पर्ने हो ?”

यस बिषयमा बेसीशहरको वडा नंं ११ को कार्यालय समेत गम्भीर बनेको छ । वडा कार्यालयले समस्याका बारेमा नेपाल विद्युत प्राधिकरण, जिल्ला प्रशासन कार्यालय लगायतका नियकामा अनुरोध गर्दा समेत समस्या झन झन बढेको भन्दै पत्रकार सम्मेलन गरी समस्या अवगत गराएको छ । वडा कार्यालयले आईतबार गरेको पत्रकार सम्मेलनमा वडा अध्यक्ष शिवप्रसाद जोशीले सडकको समस्या र जलविद्युत परियोजनाका कारण वस्ती नै पहिरोको जोखिममा परेको बिषयमा प्राधिकरणले कुनै काम नगरेको गुनासो गरे ।
समस्याको समाधानका लागि प्राधिकरणले हल्का ढंगले लिएको भन्दै स्थानीय बासीको समस्या समाधान नगरिए स्थानीय आन्दोलनमा उत्रने चेतावनी उनले दिए ।
नेपाल विद्युत प्राधिकरणले मध्यमर्स्याङदीकाे ड्याम साइटमा ४ मेगावाटको सोलार प्यानल निर्माण गर्न लागेको छ । उक्त परियोजना निर्माण गर्नका लागि पनि प्राधिकरणलाई पक्की सड़क आवश्यक पर्ने भएकोले सो निर्माण नगरेसम्म परियोजना सञ्चालन गर्न नदिने उनीहरुले चेतावनी दिएका छन् ।
उनीहरुले सर्वसाधारणका लागि बन्द गरिएको जलविद्युत आयोजनामा रहेको दुईवटा मोटरेवल पुलसध्ये कम्तीमा एउटा पुलबाट आवत जावतको ब्यवस्था मिलाउन वा रिठ्ठेबगर हुँदै बुढीकुवा सम्म पक्की सडक निर्माण गरिदिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरूङ र बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याललाई समेत प्रेस विज्ञप्ती बुझाएका छन् ।
खबरकुञ्ज